Skip to content


धेरै काम हुँदाहुँदै पनि मैले आज बिदा लिएकी थिएँ । बिहानको खाना खाने काम सिध्याएर म केही लेख्छु भनेर ! तर लेख्नुभन्दा पनि पढ्नमा म व्यस्त भएँ कृष्ण धरावासीको ‘टुँडाल’ उपन्यास । म त यो नववर्ष अगाडि नै पढेर सिध्याउने धुनमा थिएँ तर अल्मलिएछ, कहाँ हो कहाँ ।

नयाँ वर्षको नयाँ पालुवा पलाएर आरुको बोट लटरम्म गुलाफी रङको फूल फुलाएर गमक्क गम्किएको थियो । थाहा भएन मलाई कहिले फुलेर आरुको बोट पनि थाकिसकेछ । फूलहरू फुलाएर अनि आरुका गुलाफी फूलका पत्रहरू एक एक गर्दै विस्तारै पालैसँग झर्नेक्रम गर्दै रहेछन् र आरुको रुखमा त चिचिला दाना पलाउँदै रहेछन् । मैले मेरो घर त कवाडी खानाजस्तै देख्थेँ ! जताततै बालुवा, बाटो, काठका थुप्राहरू र नचाहिने सामानहरू अस्तव्यस्त जताततै थुप्रिएका तर प्रकृतिले कहिले पनि कसैको बगैँचा कवाडी खाना बनाएको हुन्न, उसले सबैको बगैँचा कहिल्यै उजाड हुन दिँदैन । मेरो कवाडी खानाजस्तो आँगनलाई पनि उसले हरियाली दिन छोडेको थिएन । आरुको फूल फुलेपछि झरेको आरुको फूलहरूले त्यस्तै मिठो वासना फैलाएको थियो मेरो वरिपरि र झरेको त्यही गुलाफी आँगनमाथि फलाएको आरुका फलहरूको चिचिला आरुहरूमा तप्केका शितहरू र्झन लागेका आँसुझैँ टल्किएका थिए । बल्लबल्ल घाम लाग्न लागेको थियो । त्यो घामले धपक्क बलेको थियो । त्यो आरुको चिचिलाको टुप्पामा अड्किएको आँसु धपक्क बलेको ‘टलक्क’ । म त्यो हेर्दै रमाएँ ।

ओ हो ! बल्ल आज घाम उदाएछ । मैले सोच्दैथे टोकियोको आँधीले पृथ्वी नै साँच्चै चिस्याएछ र त वैशाखमा पनि हामीलाई चिस्याएको होइन ? वैशाख महिनामा त कस्तो गर्मी हुनुपर्ने हो तर आज पनि कस्तो चिसो छ । म आफ्नै कुरा आफैँसँग गर्दैछु । सोच्दासोच्दै म फेरि उपन्यास पढ्न व्यस्त भएँ त्यही ‘टुँडाल’ ! पढ्नु अगाडि मलाई जहिले पनि सोच्न बाध्य बनाउँछ । किताब भन्ने बित्तिकै मलाई यस्तो लाग्छ, किताब एउटा यस्तो जादु हो । एउटा जादुको ‘बट्टा’ । यो हेर्दा एउटा बन्द बट्टा हो त्यसमा यस्तो जादु हुन्छ । म देख्छु- एउटा बन्द किताब तर खोल्ने बित्तिकै यसबाट एउटा पात्र सुटुक्क निस्कन्छ, अनि अर्को, त्यसपछि अर्को हुँदाहुँदा त्यहाँबाट एउटा समाज बन्छ । त्यहाँ अनेकौँ पात्रहरू निस्कन्छन् र अर्कै संसार बन्दछ । म जहिले पनि किताब देख्छु अनेकौँ संसार बन्छ । मैले जहिले पनि किताब देख्छु म त्यो किताबमा धेरै कल्पनामा बनेको सिर्जना देख्छु । त्यसैले मैले कहिल्यै किताबलाई अपहेलना गरिनँ । जति सक्यो सम्हालेर राख्छु । मेरो मन जहिले पनि किताबलाई एनिमेसन गरिएको जादुको बट्टा नै सम्झन्छु । एकाएक पुस्तकका कत्ति कत्ति काल्पनिक संसार नै देख्थे । एउटा बन्द पुस्तकमा कत्ति कत्ति वास्तविक संसार नै लुकेको भान हुन्छ । कत्ति धेरै संसार नै लुकेको हुन्छ । सजीव सिर्जना हुन्छ सर्जकको ! यस्तै सोच्दै मेरो मन बहकियो ।

म पढिरहेको उपन्यास ‘टुँडाल’ मा त्यति डुबेँछु मलाई थाहै भएन मेरी छोरी घरैमा छिन् । कहिले माथि र कहिले तल गर्दै थिइन् । उनलाई मैले पढेर किताबमा ध्यान दिएको मन परेको थिएन । पहिले त उनी माथि गइन् आफ्नो फुपूसँग ‘क’ ‘ख’ ‘ग’ लेख्न उनलाई रमाइलो लाग्थ्यो । हुन त उनी चार वर्षकी मात्र छिन् तर प्रश्न भने ठूलीले जस्तो गर्थिन्- “मामु पढेर के हुन्छ ?” मैले भन्थँे- “बाबु पढेपछि ठूलो मान्छे हुन्छ, भारी बोक्न पर्दैन ।” यो प्रश्न भन्दा पनि पहिले बालुवा डोकोमा बोकेर माथि उक्लदै गरेकी महिलालाई देखेर प्रश्न गरेकी थिइन् -“मामु उसले किन बालुवा बोकेको ?” मैले सिधै जवाफ दिएँ-“बाबु नपढेर !” मैले उनलाई नजानिँदो किसिमले ‘पढ्नै पर्दोरहेछ’ भन्ने दवाब दिएको थिएँ, बाल मनोभावनामा । त्यसैले उनी रमाइरमाई सानो ब्याग बोकेर स्कुल दौडिन्थिन् ।

सधैँ ‘डे-केयर’ मा व्यस्त हुने सानु नयाँ वर्षको बिदामा उनलाई दिन बिताउन गाह्रो भएको थियो र त बेलाबेला मसँग बिताउन चाहन्थिन् तर म भने आफ्नै धुनमा थिएँ । जसरी भए पनि यो टुँडाल नयाँ वर्ष अगाडि नै सिध्याउँछु तर सकिनँ र म अड्किएँ । सानु फेरि तल आइन्, अब भने मकहाँ आउँदा नरमाइलो लाग्दो हो र त उनी मैले पढिरहेको किताबमा आफ्नो टाउको अड्याएर सुतेजस्तो गर्थिन् र भन्थिन्-“म पनि पढ्छु ।” र मैले पढिरहेको किताबमाथि हातका औँलाले देखाउँदै भन्थिन् ‘क’ ‘ख’ ‘ग’ जानेर होस् या नजानेर मैले पढिरहेको पन्नामा औँला तेस्र्याउँथिन् । मैले भन्ने गर्थे-“बाबु मलाई ‘डिस्टर्ब’ नगर ल” उनले बुझेजस्तो गर्दै भन्थिन्-“म पनि पढ्ने के ।” मैले उनलाई पेन्सिल र कापी दिएर पन्छाउँथे-“ल अब मामुलाई पढ्न देऊ ल ? तिमी क क गर !” तर उनी के मान्थिन् र झन्झन् मैले पढिरहेको किताब खोस्न खोज्थिन् र भन्थिन्-“म त यै क क गर्छ के !” मैले पढेको किताब च्यात्तिने गरी खोस्न खोज्थिन् । म रिसले चुर हुन्थेँ र छोरीलाई गाली गर्थेँ “कस्तो डिस्टर्ब गरेको ?” मेरो अलि ठूलो चर्को आवाजले उनी माथि जान्थिन्………टुकुटुकु !

छोरीलाई ध्यान दिन छोडेर फेरि म उपन्यासमै ध्यान दिन थालेँ त्यतिबेला । मैले आफैँलाई एकदम स्वार्थी भएको महसुस गरेँ ।

एकपल्ट होइन, दुईपल्ट पढेँ र फेरि दोहोर्‍याएर पढेँ पेज ‘१९८’ ।

“ऊ त्यो सत्या होली, त्यो उमा । ती दुई भाइ प्रेम र धनु होलान् । यतापट्टकिी म । रविन दाइ त्यो टहल्दै गरेको केटो हुनुपर्छ ।”

विस्तारै अघि बढ्दै गएँ । पशुपतिको पेटीमा बसेँ । टाउको उँभो फर्कियो । आँखा गएर ठोकिए टुँडालमा र त्यही अडिरहे । सोचेँ-

-के होलान् यी टुँडालहरू !

-कसले कप्यो होला यस्ता आकृतिहरू टुँडालमा !

-के अर्थ होला यी टुँडालहरूको !

अलमल्ल परिरहे ! छेउको खाली ठाउँमा शर्माजीको झझल्को आइरह्यो ।

कहिले बस्दै, कहिले सुत्दै, जीवनको विगतलाई सम्झँदा सम्भिँदै बिहान भइसकेछ । पूर्वी आकाश उज्यालो हुँदै आयो ।

म फेरि मेरो एकोहोरिएको मनलाई दोहोर्‍याएँ-मैले पट्टकै ठम्याउन सकिरहेकी थिइनँ म यही हरफहरूमा अल्झिरहेकी थिएँ-“किन यात्रा -सुस्मिता) घाम अस्ताउन लागेको बेला गएकी बिहानसम्म पशुपतिको पेटीमा बसेकी हुन् ? म यसैमा धेरै अल्झिरहेकी थिएँ । फेरि यात्रा घर फर्किएको उल्लेख पनि थिएन, के यात्रा पशुपतिको पेटीमै निदाइछिन् ? यस्तै कुरा खेल्दै थियो मेरो मनमा ।

सानु फेरि आइन् र भनिन् -“मामु नपढन, मलाई मन पर्दैन” म भने सानुको कुरामा वास्तै नगरी किताबमा नै तल्लीन थिएँ । किन सिक्वेन्स यस्तरी अल्मलिएको हो मेरो ध्यान मेरी छोरीभन्दा पनि किताबमा नै थियो । “प्लिज छोरी मलाई डिस्टर्ब नगर है । मलाई पढ्न देउ न ।”

छोरी केही बोलिनन्, उनले मैले दिएको कापीमा पेन्सिलले कोर्न थालिन्- ‘क’ ‘ख’ ‘ग’ अनि अझ बेस्सरी कोर्न थालिन् क्वार्र क्वार्र । पेन्सिलले कापी च्यात्न थालिन् झ्यार्र झ्यार्र । उनले आफ्नो आक्रोश कापीमा पोख्न थालिन् । च्यार्र च्यार्र…….मेरो ध्यान ‘टुँडाल’मै थियो । छोरी भने रिस पोख्दै थिइन् कापीमा । पेन्सिलले कापीमा यस्तरी कोप्थिन् च्यार्र च्यार्र कापी त च्यात्दै र फाल्न थालिन जताततै कागजका पानैपाना छरिसकेछ । कोठाभरि पानैपाना । उनी पानाहरू च्यातेर पनि चित्त नबुझेर मेरो ध्यान आफूतिर तान्न के के गर्न लागिछन् मलाई थाहै भएन । अनि आफ्नो एउटा पेटी भेट्टाइछन् र फनफनी घुमाउन थालिन् र त्यसैले आफूतिर आफ्नो ध्यान तान्न मलाई हान्न थालिन् । पहिले त मैले ध्यान दिइनँ- “बाबु यस्तो नगर है ।” अलि संयमित भइन् तर म फेरि किताबमा घोत्लिएपछि छोरीलाई के लाग्यो कुन्नि उनलाई ध्यानै नदिएको जस्तो लागेछ कि कुन्नि, उनले मलाई त्यही पेटीले हान्न थालिन् । पहिले त म उनी जिस्कन लागिन् भनेर ‘बाबु’ प्लिज नगर न ! भने तर उनी के मान्थिन् र ! पेटीको टाउकोले स्वाट्ट हानिन् मेरो किताबमा घोप्टिएको निधारमा ट्वाक्क लाग्यो । म रन्थनिएँ मेरो घोप्टिएको टाउको रन्थनियो देब्रे कञ्चटमा ठोक्किएको बेल्टको दुखाइले म सनक्क सन्किएँ र कराएँ “के गरेको” “पिटुँ” किन ?” म कराएँ र झनक्क भएँ । मेरो आँखा पुर्लुक्क पल्टिए छोरी माथि । छोरी मेरो आँखामा आँखा अड्याएर हेरिरहेकी थिइन् डराएर, उनी आत्तिएर गाला रातो, अनुहार सबै रातो बनाइन् अनि रुन थालिन् । उनको घुक्क घुक्क रुवाइ सुनेर मलाई मन थाम्नै गाह्रो भयो । मेरो पनि चित्त दुःखेझैँ भयो । मन अमिलो भयो । पाप नै गरेझै लाग्यो ।

उनी फेरि रुन थालिन् । ऊ……..ऊ………गर्दै । मैले किताब बन्द गरेँ र सोधेँ “बाबा, मामुलाई दुख्दैन ?” उनले भनिन् “हजुर नपढ्स्योस न मलाई मन पर्दैन ।” उनी फेरि रुन थालिन् हिक्क हिक्क……।

मैले उनलाई च्यापेँ मिठोसँग छातीमा । छातीमा टाँसे र यस्तरी च्यापे कि मुटुभरिको सबै माया एकैचोटि खन्याएझैँ भयो । उनको दुवै गालामा म्वाइ खाएँ । उनको कलिलो पाखुरामा हात फैलाएँ, हातका औँला औँलामा आफ्ना औँलाहरू घुसारेर । उनी आनन्दित भइन् । छातीमा टाँसेर च्यापिरहेँ । उनी लुरुक्क परिन् र फुस्स निदाइन् फ्वा…. फ्वा…. उनको लामो श्वास एकछिन सुनिरहेँ । आनन्दले उनी निदाएकी थिइन् लामो श्वास लिएर । उनको टाउकोमा हात लगाएँ र मायाले हेरिरहँे । म भने फेरि चिन्तनमा लागेँ के यो ‘बाल विद्रोह’ त होइन ? टुँडाल सिध्याउन अगाडि मैले सुरु गरेको झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ पढ्न सुरु गरेपछि उनको बाल विद्रोही भावनाको झल्यास्स सम्झना आयो । छोरी सुतुञ्जेल मैले ‘टुँडाल’ पढेर सिध्याइसकेकी थिए । मैले निर्णय गरेँ अब म छोरीको अगाडि कहिल्यै पढ्दिन । पढे पनि उनले थाहा नपाउने गरी पढ्नेछु । म कसैलाई पनि बेवास्ता गरेर नपढ्ने भएकी छु । पढ्दा आफू जति आफूमै हराउन सकिन्छ अरूमा हराउन सकिन्न भन्ने मलाई लागेको छ ।

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *