Skip to content

साहित्यिक पत्रकारिताको जिउँदो पुस्तकालय

  • by


नेपाली भाषामा निस्किएका प्रायः सबै पत्रपत्रिकाहरू उहाँको पुस्तकालयमा सुरक्षित छन् । शोधपत्र तयार पार्नेहरू, कार्यपत्र लेख्नेहरू, साहित्यिक पत्रकारिताको इतिहास जान्न चाहनेहरू, सबैलाई उहाँको सहयोग अपरिहार्यजस्तै हुन्छ । कसको पहिलो रचना कुन पत्रिकामा छापिएको थियो, कुन पत्रिकाका कति अङ्क प्रकाशित भएका थिए, कुन पत्रिका कसले चलाएको थियो र उसको शेषपछि कसले चलायो उहाँलाई कण्ठस्थ नै छ । आमपत्रकारिताको जननी नै भने पनि हुने साहित्यिक पत्रकारिताको यति लामो इतिहासको सङ्कलक एवं संरक्षक हुनुहुन्छ उहाँ ।

वि.सं. १९९८ असोज १ गते काठमाडौँको ठमेलमा पिता केदारनाथ रेग्मी र माता प्रेमकुमारीतर्फबाट जन्मिनुभएका उहाँको पत्रपत्रिकाहरू सङ्कलनको वि.सं. २०२२ सालदेखिको शोखले निरन्तरता पाइरहेकै छ । आफ्नो स्कुले जीवन सम्झिँदै उहाँ भन्नुहुन्छ- स्कुल पढ्दा पाठ्यपुस्तकसम्म पनि किन्न सकिँदैनथ्यो । पुस्तकालयको कार्ड बनाएर किताबहरू पढ्थेँ । साथीहरू पनि कार्ड त बनाउँथे तर प्रयोग त्यति गर्दैनथे । उनीहरूका कार्डबाट पनि म नै पढ्थेँ । म्याट्रिकपछि दुई वर्षजति त्यत्तिकै बस्दा वि.सं. २०१६/१७ सालमा त्यतिबेलाका प्रकाशित सबै पत्रपत्रिकाहरू पढेँ । यही पढ्ने लतकै कारण वि.सं. २०२२ सालदेखि निरन्तर सङ्कलन गरिरहेकै छु ।

दुब्लो-पातलो शरीर भए पनि जाँगरिलो स्वभावका शिव रेग्मीलाई यिनै पत्रपत्रिकाले साहित्यिक अन्वेषकका रूपमा चिनाएका छन् । साथ, सहयोग कसैको छैन, एक्लै दराज र र्‍याकहरूमा यताउता गरिरहनुहुन्छ । आफूसँग यत्ति नै पत्रपत्रिका र पुस्तकहरू छन् भन्ने डाटा निकाल्नसम्म उहाँले सक्नुभएको छैन । यो चाहियो र ऊ चाहियो भनेर पुग्नेहरू, फोन गरेर सोधिखोजी गर्नेहरू, सबैलाई बिनाझर्को सहयोग गरिदिनु हुन्छ । यिनै पुराना पत्रपत्रिकाको धूलो टकटक्याउँदै खोजखबरी गरेका कुराहरू प्रकाशनमा ल्याउँदै गर्दा उहाँ रिठ्ठो नबिराई भन्नसक्ने हुनुभएको छ- फलानो साहित्यकारको पहिलो रचना प्रकाशित पत्रिका, प्रथम सिर्जना, कुन पत्रिका कहिलेबाट प्रकाशित, कुन पत्रिका कति अङ्क निस्किएर बन्द भएथ्यो, लगायतका कुराहरू ।

“एक दशक नाघ्यो-विद्यावारिधिको अध्ययन-अनुसन्धान गर्नेक्रममा कतिपय पुराना कुराको तथ्याङ्कको, इतिहासको खाँचो पर्‍यो । चारतिर कुदिरहेँ, पार लागेन । सबैले सल्लाह दिए, शिव रेग्मीकोमा जानू । नभन्दै म शिव रेग्मीकैमा पुगेँ । उहाँले मेरो तिर्खा मेटिदिनुभयो । उहाँ नेपाली साहित्यिक पत्रपत्रिकाको एउटा जीवन्त सङ्ग्रहालय हुनुहँदोरहेछ । सङ्ग्रहालय निर्माण गर्ने अरू पनि धेरै साहित्यकार हुनुहुन्छ तर शिव रेग्मीजस्तो यो सङ्कलक र त्यस विषयक ज्ञानलाई अध्ययन र विश्लेषण गरेर निरन्तररूपले प्रकाशनमा ल्याइरहने, नेपाली वाङ्मयलाई निरन्तर सम्बलित गरिरहने अर्को व्यक्ति मैले भेटिँन । आज पनि फलाना पत्रिकाको फलानो अङ्क चाहियो भनेपछि हामी शिव रेग्मीकैमा धाउँछौँ । उहाँले तात्कालिक समयमा भएका त्रुटिहरूलाई देखाएर एकातिर लेखकहरूलाई सचेत बनाउनुभएको छ भने अर्कातिर विलुप्त प्रायः ऐतिहासिक सामग्रीहरूलाई जोगाउने काम पनि गर्नुभएको छ ।”

साहित्यिक अन्वेषक शिव रेग्मीका बारेमा प्रा. डा. गोविन्दराज भट्टराईले उल्लेख गर्नुभएको उपर्युक्त वाक्यांश वि.सं. २०६३ मा प्रकाशित ‘अतीतका पाना’ नामक साहित्यिक पत्रपत्रिकाहरूको अनुसन्धानमूलक कृतिमा प्रकाशित छ । उहाँमाथिको यो टिप्पणी प्रशस्तिगान नभएर यथार्थ हो । उहाँले वि.सं. २००४ मा प्रकाशित ‘युगवाणि’ पत्रिकाका प्रतिहरू शुभचिन्तक प्रेमबहादुर कंसाकारबाट लिनुभएको छ । त्यस पत्रिकामा महाकवि लक्ष्मीप्रसाद देवकोटाका आठ वटा कथा प्रकाशित छन् । भन्दै उहाँ भन्नुहुन्छ- डिल्लीबहादुर नेपालीको सम्पादनमा निस्किएको ‘परोपकार’मा पनि देवकोटाका केही कथाहरू प्रकाशित छन् धेरैजसो त जम्मा पारिसकेको छु तर एउटा कथा ‘डायमन कुकुर’ युगावाणिको अङ्क आफूसँग नभएकोले सङ्कलित कथाहरूको सङग्रह निकाल्नलाई अड्किएको छ । एकजना विद्वानले उक्त छुट अङ्क आफूसँग भएको र दिने पनि वाचा गरी मकहाँ भएका सामग्रीहरू कैयौँ दिन आएर दिनदिनभर टिपेर, फोटोकपि गरेर लगे । काम सकेपछि त उनी आउनै छोडे र सम्झाउँदा नानाथरी कुरा गरेर नदिने भने । यस्ता असहयोगीहरूदेखि चित्त दुख्छ ।

उहाँले ‘शारदा’का सम्पादकीयहरू सङ्कलन गरेर सिङ्गो कृति नै प्रकाशित गर्नुभएको छ । अब बनारसबाट प्रकाशित काशिबहादुर श्रेष्ठ र उनका सुपुत्र दुर्गाप्रसाद श्रेष्ठको सम्पादनको ‘उदय’ को काम गरिरहेको छु भन्दै उहाँ भन्नुहुन्छ- मलाई पारशमणि प्रधान र रूपनारायणको सम्पादनको पत्रिका ‘भारती’ का सम्पादकीयको सङ्ग्रह निकाल्ने मन छ तर यसका लागि सम्बन्धितहरूको स्वीकृति आवश्यक छ । सकेँछु भने निकाल्छु । गोरखापत्र र मधुपर्कमा प्रकाशित साहित्यिक सिर्जनाहरूको पनि धेरै वटा सङ्ग्रहहरू आइसकेका छन् । मैले पनि केही सम्पादन गर्ने अवसर पाएको थिएँ । यति लामो इतिहास बोकेको पत्रिकाको पाँच सयौँ अङ्क निस्किएको पनि धेरै भयो । अब ‘मधुपर्कका सम्पादकीय’ को सङ्ग्रह निकाल्ने पहल गरौँ । यसले नेपाली साहित्यको इतिहास र मोडलाई प्रष्ट्याउँछ ।

अन्वेषक रेग्मीले भन्नुभएको अवश्य पनि राम्रो कुरा हो । मधुपर्क वि.सं. २०२५ जेठदेखि निरन्तर प्रकाशित हुँदै आएको छ र यसका ५०९ अङ्क प्रकाशित भइसकेका छन् । विडम्बना नै भन्नुपर्छ गोरखापत्र संस्थानमा नै आफ्नो प्रकाशनका पूरै अङ्कहरू सुरक्षित रहन सकेका छैनन् । उहाँको कुरामा मैले कुनै प्रतिक्रिया व्यक्त गर्नै सकिनँ । सायद उहाँले कुरा बुझ्नुभयो र भन्नुभयो- मधुपर्कका सबै अङ्क संस्थानमा छैनन् भन्ने मलाई थाहा छ तर धन्धा मान्नु पर्दैन, मसँग सबै अङ्क सुरक्षित छन् । ‘ए, हो’ भन्नुभन्दा ज्यादा थप म के नै भन्न सक्थेँ र । प्रारम्भका ६ अङ्क नेपाल प्रज्ञाप्रतिष्ठानबाट फोटोकपि गरेर मैले नै ल्याएको थिएँ । त्यसपछिका पनि धेरै अङ्कहरू नभएकै हुन् ।

शिव रेग्मी साहित्य सिर्जनामा लागेर पनि साहित्यकारका रूपमा दरिन सक्नु भएन । आफ्नो लेखनयात्राका सम्बन्धमा उहाँ बताउनुहुन्छ- मैले कविताबाट साहित्यलेखनमा प्रवेश गरेथेँ । कथा पनि तीनचार वटा लेखेँ र प्रकाशित पनि भए । कल्पनाको भावुकतामा बहेर लेख्नु पर्ने भएकाले यसबाट आफैँलाई पनि सन्तुष्टि मिलेन र समालोचनातिर लागेँ । समालोचनामा पनि लेखकले आफ्नै वयान र प्रशस्ति खोज्नेरहेछन् । एक जनाले त ‘तिमीले मेरो लेखनका बारेमा नराम्रो लेखेछौ, पखौला’ नै भनेर दागा धरे । त्यसपछि मरेकाहरूको बारेमा मात्रै लेख्न-खोज्न थालेँ । दिवङ्गतहरूका बारेमा लेख्दा बेग्लै अनुभव हुन्छ । पुराना कुरा, विवादित विषयहरूमा खोजी गरेर प्रमाणसहित लेख्नसक्दा आनन्द आउँछ । अहिले धेरैले मोतीलक्ष्मीलाई प्रथम नारीकथाकार भनेर लेखेका छन् तर तुषारमल्लिका पहिलो नारीकथाकार हुन् । यसको प्रमाण मैले भेटिसकेको छु । देवकुमारी थापाको पहिलो प्रकाशित कथा कहीँ पतङ्ग छ, कहीँ ट्रपेडो छ । उनी आफैँ पनि द्विविधामा पर्दै ट्रपेडोलाई पहिलो भनिथिन् तर त्यसभन्दा पहिले अर्कै कथा प्रकाशित भएको पत्रिका भेटिसकेको छु । यी कुरा लेख्नेक्रममा छु । मैले स्वतन्त्र सिर्जना छोडेँ । मेरो लेखन भनेकै खोजमेल हो, सम्पादन हो ।

पहिले काठमाडौँको नैकापमा घर थियो उहाँको बुबाको । उहाँको बुबा राजा त्रिभुवनकहाँ पूजारीको काम गर्नुहुन्थ्यो । त्यही भएर आउजाउलाई सजिलोका लागि ठमेलमा डेरा लिइएको थियो । डेराभाडा महिनाको ५ मोहोर अर्थात् वर्षको ३० रुपियाँ थियो । वि.सं. १९९३ देखि २०२१ सम्मै यही भाडामा उहाँहरू बस्नुभयो र २०२१ सालमा नरदेवीमा घर बनाएर सर्नुभयो । पुरेतको छोरोले आफूखुसी अन्तरजातीय विवाह गरेपछि घरमा मिल्ने कुरै भएन । त्यसैले २०३१ सालमा उहाँले बत्तीसपुतलीमा आफैँले जग्गा किनेर घर बनाउनु भयो । पढाइमा एमए/बीएल गर्नुभएका शिव रेग्मीले ३६ वर्ष जागिरे जीवन बिताउनु भएको छ । ६३ वर्षको उमेरमा ३६ मा २ वर्ष थपेर ३८ वर्षे सेवा अवधि गणना गर्दै उहाँ निवृत्त हुनुभयो । उहाँ आफ्नो कर्ममा सन्तुष्ट हुनुहुन्छ । भन्नुहुन्छ-आफ्नो स्वच्छ मनले गरेको काममा नै मान्छेलाई सन्तुष्टि मिल्ने हो । कसैको कुनै आश छैन र केही चाहिएको छैन ।

उहाँलाई यतिबेला आफूले दुःखले बनाएको घरमा बस्न पनि परिस्थितिले दिएन । एकमात्र सन्तान छोरीको घर भीमसेनगोला सर्नुभएको छ उहाँ । ज्यादै दुःखको कुरा उहाँकी धर्मपत्नीलाई बेसुद्धीमा हराउने रोग लागेको छ । विशेषगरी महिलालाई भेट्ने यो रोगले हुन त अरू पनि केही साहित्यकारका श्रीमतीहरूलाई पनि भेटेको छ । यस्तो अप्ठ्यारो रोग नलागोस् भनेर कामना गर्ने मात्रै त हो नि । रोगले धनी, गरिब, सुखी, दुःखी नभन्ने रहेछ । एक तल्ला पूरै भरिएका पत्रपत्रिकाहरू पोको पारेर छोरीको घरमा भुइँतल्लामा राख्नुभएको छ । उहाँले अझै मिलाइसक्नुभएको छैन सरेको दुई वर्ष हुनलाग्दा पनि ।

“आफूलाई हिँडडूल गर्न मन लाग्छ । श्रीमतीलाई एकजना साथी नभई छोड्नै मिल्दैन । अप्ठ्यारो त के हुनु, आफ्नो घर भाडामा दिएर छोरीको घरमा सरेको छु । फुर्सदमा यताउता मिलाउँछु, समय कटनी पनि भइरहेछ । मलाई त अर्को काम पनि पो थपिएको छ- बत्तीसपुतली छँदा धेरैलाई थाहा थियो र सरासर आउँथे । यहाँ नयाँ ठाउँ भयो, फोन गरेर आउनेहरूलाई बाटो-ठेगाना बताउँदाबताउँदा हैरान र कतिलाई त चोकसम्मै लिन पनि जानुपर्छ ।” उहाँमा अरूलाई सहयोग गर्न पाउँदा आफ्नो दुःखको पर्वाह नहुने बताउनुहुन्छ ।

उहाँले पत्रपत्रिकामा छरपष्ट रहेका भूपी शेरचनका कविताहरूलाई सङ्कलन गरेर २०५७ सालमा र शङ्कर लामिछानेका निबन्धहरू २०५९ सालमा साझा प्रकाशनबाट प्रकाशित गराउनुभयो । शङ्कर लामिछानेका सङ्ग्रहमा नपरेका निबन्धहरू अझै छन् र खोजिरहेको छु भन्नुहुन्छ । गोपालप्रसाद रिमालको कवितासङ्ग्रह साझा प्रकाशनबाट निकाल्दाताकको संस्मरण उहाँ सुनाउनुहुन्छ- तारानाथ शर्माको जोडबलले रिमालका कविताहरू जम्मा गरेर पाण्डुलिपि तयार पारी मदन पुरस्कार गुठीमा बुझाएर पुरस्कार पायो । त्यतिबेला साझा प्रकाशनको अध्यक्ष कमलमणि हुनुहुन्थ्यो । साझाबाटै ‘आमाको सपना’ प्रकाशित भयो । पहिलो प्रकाशनमा ‘शहीदहरू’ भन्ने कविता परेको छ तर दोस्रो संस्करणमा हटाइएको छ । उता ‘बहुला’ शीर्षकको कविता त पहिले नै हटाइएको थियो । पछि यी छुटेका रचनाहरूसहित अन्य असङ्गृहीत पनि जम्मा गरेर साझामा बुझाइदिएको पनि धेरै भयो, अझै प्रकाशित भएको छैन । मरेर गएका साहित्यिक धरोहरहरूको सिर्जनामाथि पनि किन यसरी खेलवाड हुन्छ ? म अचम्ममा परेको छु ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका वि.सं. १९९९ सालदेखि वि.सं. २०५८ सालसम्म पत्रपत्रिकामा प्रकाशित फुटकर निबन्ध-प्रबन्धहरूलाई सङ्कलन गरेर उहाँले नै ‘महाकवि देवकोटा शताब्दी महोत्सव’ मार्फत् प्रकाशनमा ल्याउनुभयो । उहाँले मोतीराम भट्ट र संसर्गी कवि (२०६०), भाषा पद्यसङ्ग्रह (२०६२), नेपालमा आमसञ्चारको विकास (२०५८) लगायत धेरै सङ्कलन एवं सम्पादनका कृतिहरू सार्वजनिक गर्नुभएको छ । यसै कार्यको सह्राहना गदर्ैै प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रकारिता पुरस्कारसमेत प्रदान गरेको छ । उहाँका वासस्थानका भित्ताहरूमा थुपै्र सम्मान-प्रशंसा-प्रमाणपत्रहरू झुण्डिएका छन्, खोपामा अड्याइएका छन् । मैले यी सबै हेर्दैगर्दा उहाँले भन्नुभयो- आखिर यही त रहेछ नि, अरू के छ र आत्मसन्तुष्टि । यी त सबै क्षणिक खुसी हुन् । मलाई त आफूले लेखेका कुरामा पाठक प्रतिक्रिया पाउँदा रमाइलो र सुखद अनुभव हुन्छ ।

उहाँलाई कतिपयले सुरूसुरूमा फस्ल्याङफुस्लुङ पारेर पत्रपत्रिकाहरू लगेर आफ्नो काम फत्ते गर्ने अनि सम्पर्कमै नआउनेहरूले हैरान पारेपछि केही वर्षयतादेखि त्यसरी दिन छोड्नुभएको बताउनुहुन्छ । भन्नुहुन्छ- भरसक सहयोग माग्नेहरूलाई निराश पार्दिन । भन्न त भन्छु- यथाशक्य अन्यत्र खोज्नुस् पाएसम्म । कतै पाउनुभएन भने आउनु । किताब माग्ने पनि हुन्छन् तर दिन छोडेँ । आफैँ फोटोकपि गरेर पनि दिन्छु । दस-बीस रुपियाँसम्म लिन्न, पत्रिका-किताब दिएर फिर्ता नआउनुभन्दा दस-बीस गएकै राम्रो । अझ आफूले नचिनेकालाई त नआओ नै भन्छु । मेरोमा आएर पढेर बस्ने व्यवस्थित ठाउँ छैन, सुरक्षा पनि छैन । पढेजस्तो गरेर दायाँबायाँ हुनासाथ पाना च्यातेर गोजीमा हाल्ने दुष्टहरू पनि हुँदारहेछन् ।

उमेरले नेटो काट्न लागिसक्यो, तिर्सना मरेको छैन । यो मर्नु पनि हुँदैन । जति सक्रिय रहिरहन सक्यो उत्ति नै मान्छे स्वस्थ रहन्छ तर एकदिन त जानु नै छ । यति महत्त्वपूर्ण सामग्रीहरू सङ्कलित छन् । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड’ भन्ने उखान पनि छ । उहाँको शेषपछि कतै यी सामग्रीहरू ‘खुर्पाको बीँड’ त हुने होइनन् ? उहाँको कुनै भरपर्दो सोचाई पो छ कि भनेर जान्न चाहेँ मैले- त्यस्तो कुनै सोचाई छैन । भन्नुहुन्छ कि हुँदैन हो कुन्नि एउटा उखान छ नि ‘आफू मरेपछि डुमै राजा’ भन्ने । त्यस्तै हुन पनि सक्छ । कोही भरपर्दो निस्किएर म सदुपयोग गर्छु, बेच्दिन, संरक्षण गर्छु भन्छ भने उसैलाई दिन पनि सक्छु । शरदचन्द्र भट्टराईकी श्रीमतीले राखिराखेकी छिन् । ईश्वर बरालका पनि त्यसै छन् । ईश्वरवल्लभका नरेन्द्रराज प्रसाईंले सम्हाले । सारै दुःख गरेर जोरजम्मा गरिएको हो । कुनै राम्रो संस्था वा सरकारका निकायले राख्न चाहे भने दिन पनि सक्छु । अन्यथा मेरो शेषपछि छोरीले जे चाहन्छे, त्यही गर्छे ।

उहाँ दर्बिलो योजना नबनाई र दसआठ वर्ष टिकाउँछु भन्ने नभई पत्रिका ननिकाल्न पनि सल्लाह दिनुहुन्छ । नेपाली साहित्यमा उहाँले नयाँपुस्तालाई पढ्न त्यति भ्याउनुभएको छैन । भन्नुहुन्छ- नयाँभन्दा पुरानामै घोत्लिन बानी परिसकेको छु । यसैमा आनन्द आउँछ र सन्तुष्टि मिल्दछ । यसैले भन्न मन लाग्छ- उहाँ आफैँमाजीउँदो पुस्तकालय हुनुहुन्छ ।

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *