संस्कृति,
आज आफैँ बोलिरहेछ
मानवीय तिरस्कारभित्र छटपटिरहेछ
जातिजनजातिभित्र फगत, संस्कृति
बन्द किताबभित्र अक्षर बनेर
पल्टाइको पर्खाइमा कुरी बसिरहेछ
कहिले नसकिने यात्राको गन्तब्य बनी
संस्कृति,
मठ, मन्दिर, दरवार, स्तूपा, छोर्तेन, गुम्बा
मूर्ति, शालिक, मुद्रा, अभिलेख ठ्यासफुको
स्वरुपमा
खुला पाठशाला बनी
जमिनमाथिको उपस्थितिमा
बूढो हड्डीको तन्नेरी ताल झिक्दै
पस्कँदैछ नेपालको गौरवपूर्ण इतिहास
संस्कृति,
पुर्खाको नासो वर्तमानको अभिमान
तर, बाँचिरहेछ पुरात्तात्विक अवशेष बनी
प्राकृतिक संरक्षणमा जमिनको भित्री तहमा
कसैको दया जागेमा अनुसन्धानको भोग मेटाउन
जमिनमाथि ठडिन्छ र आफ्ना सम्पूर्ण
अतितका पत्रपत्र खोलिदिन्छ
आफू नाङ्गिई सभ्यता र संस्कृतिको
प्राचीनतम् परिचय तँछाडमछाड गर्दै
एकपछि अर्को
संस्कृतिका परिचय पस्कन्छन् तर दुर्भाग्य
मानवमाथिका सङ्कीर्ण मनस्थिति
विस्तारै विनासको मुखमा पुगी
संस्कृति चिनाउने धरोहर
विस्तारै लुप्त हुँदै नासिन्छन्
हराउँछ संस्कृति, हराउँछ सभ्यता इतिहास सबै शून्य
बन्छौँ निरीह गरिव
माग्ने छौँ सापटी
आयातित हुनेछ सभ्यता र संस्कृति ।
मधुपर्क २०६८ कार्तिक
