Skip to content


प्रस्थान विन्दुबाट तिम्रो नाममा
सत्यभामा
तिम्रो बिदाइमा
तिम्रै नामले अन्तिम सम्बोधन
गरिरहेछु ।
सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन
यी पाखापखेरा
यो बनेली गोरेटो
यो जुनेली आँगन
यी आफन्तका अस्मेल भीड
अरू त के मेरो मायाले पनि त रोक्न सकेन ।
हाम्रो अन्तिम भेटको सम्झना आउँछ तिमीलाई ?
नाङ्गा हिमालका टाकुरीमा एक्कैचोटि आँखा अडिएको सम्झ त
पहेँलपुर तोरीबारीको बीचबाट गुज्रेको बिरानो बाटोको मौन यात्रा सम्झ त
जोरीपारीका छड्के नजर र असरल्ल बाँकी कामका फेहरिस्त पनि सम्झ न एकपल्ट
आह ! भैगो सम्झेदेखि कुरा धेरै छन् ।
सत्यभामा,
तिम्रो बाध्यतालाई मैले रोक्न सकिनँ
अजङ्गका सपना बोकेर उडेका छोराछोरीलाई सघाउन जाँदैछौ
आँखाभरि विवशताका आँसु छचल्काउँदै विपनाका बचेराहरू हुर्काउन जाँदैछौ
जिन्दगीको नौलो इन्द्रेणीलाई गम्लङ्ग अँगालोमा बेर्न जाँदैछौ
उबडखाबड भविष्यका फराकिला फाँट अझ सम्याउन जाँदैछौ
सकिनँ, सत्यभामा सकिनँ तिमीलाई रोक्नै सकिनँ ।
डबडबाएका आँखा ओभाएकै छैनन्, मैले देखेकै हुँ
तमाम कुराले नियास्रो मानिसक्यौ, मैले बुझेकै हुँ
सबैथोक फिका र मलिन भएको अनुभूतिको सित्कार मैले सुनेकै हुँ
सम्हाल सत्यभामा, सम्हाल आफूलाई सम्हाल ।
यो भूगोलमा हाम्रो दूरी जत्ति नै टाढियोस्- हाम्रो मन झन् नजिकिन्छ
नियतिले तिमीलाई जुनै पातालमा लुकाओस् न तिमी झन् मेरो दृश्यगोचरमा हुनेछौ ।
यो दुनियाँबाट जतिसुकै बेखबर बन- हरेकक्षण तिमी खबर बनी रहन्छ्यौ ।
अब त झ्यालबाट खुल्ला क्षितिज हेर्नै सक्दिनँ, सत्यभामा
जहाँबाट मेरो टाउको अड्याउने काँध बिलाएको छ
मेरो सुख/दुःख बिसाउने मन हराएको छ
यतिखेर मेरो सबथोक गुमेको छ
तिमीले विस्तारै थाहा पाउँछ्यौ
म बाँच्नुको नाममा क्रमशः मरिरहेछु ।
शुभयात्रा, सत्यभामा शुभयात्रा
तिमीलाई सफलताको
सबैभन्दा चोखो शुभकामना !

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *