खोई ठूले
तिमीलाई मुखिया चुनेर के भयो ?
तिमी मुखियाको अध्यक्ष बनेर पनि के भयो ?
भन्थ्यौँ हामीलाई
आफू हिडेको बाटोमा लाग्यौ भने
भोक र रोगबाट मुक्ति पाउँछौ
तर तिम्रो साथमा लाग्दालाग्दै
ठूले, पछि त के भयो, के भयो ?
बाटै छेउमा
एउटा सानो फुकीढली झुपडी
उभ्याई बस्दा
पाखुरा सर्कदै आएर झुपडी भत्काइदिने
गाउँको तिघ्रे शेरसिंह अहिले
एउटा समितिमा बसेर काम गर्ने भएछ
गरिब सुकुम्बासीको
मुक्तिको कुरा गर्ने भएछ
पोहोरसाल भाते जाँड धोकेर
हर्केकी जहान तान्न जानाले
कारवाहीमा परेको गुइँठे पनि
यसपालि एउटै समितिमा बसेर
गरिब दुःखीको मुक्तिको कुरा गर्ने भएछ
खोई ? के भयो ठूले आज
योजना बनाउँदा बनाउँदै मुक्तिको
सङ्घर्ष गर्दागर्दै मुक्ति यात्रामा
बाघकै ओढारमा पो पुगिएछ त
ब्वाँसोसँगै उभिन पो पुगिएछ त
तर अहिले त
उ उता बाघ मुख मिठ्याइरहेछ
उ उता ब्वाँसो मुख मिठ्याइरहेछ
लौं ठूले अहिले यतिबेला त
तिम्रो पछि लाग्दालाग्दैं
भड्खारो मैँ पो परिएछ
भैगो ठूले, नबोलाऊ
अब मलाई, यो मुक्ति यात्रामा
तिम्रो मुक्ति यात्रा
तिमी नै जारी राख ।
तोरिखेत, चितवन
मधुपर्क २०६८ कार्तिक
