खल्तीमा हात हुनेको भरै नमान्नू
पेटमा दाँत हुनेको भरै नमान्नू ।
टाढाका मान्छेहरू बिगार गर्दैनन्
यी आफ्नै साथ हुनेको भरै नमान्नू ।
सबैले शीतल दिन कहाँ सक्छन् र
सल्लाझैँ पात हुनेको भरै नमान्नू ।
जोड-जोडले बोल्नेहरू पिठो नै बेच्लान्
मधुरो बात हुनेको भरै नमान्नू ।
अनुहारमा घामको लेप लगाएर
पोल्टामा रात हुनेको भरै नमान्नू ।
काभ्रेपलाञ्चोक
मधुपर्क २०६८ कार्तिक
