Skip to content


सुपारीझैँ टुक्रा पारेर जीवनलाई
बेचिरहेछन् नाङ्लेपसलेहरू
यही फुटपाथमा
गाइनेहरू गाइरहेछन्
शताब्दीको अन्तिम गीत
यही फुटपाथमा
यही फुटपाथमा उभिएर
कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी
कहिले आउँछ त्यो ?
सायद बित्छ कि यो युग नै ?
यही फुटपाथमा भेटिन्छन्
नयाँ आइन्स्टाइन, भूपी र देवकोटाहरू
घाम यहीँ छ
यहीँ छ पानी
आँसु र हाँसोको मिश्रण
फुटपाथ-
पृथ्वीको एउटा आँगन
हाम्रो संसार
जन्मस्थान जस्तो
यही फुटपाथलाई चटक्क बिर्सिएर
कहाँ अन्तध्र्यान भए तिनीहरू ?
सडकैभरि
छरिदिएछन् अस्रल्लै तिनीहरूले
जतनसाथ हामीले पठाएका
सपनाका दानाहरू
छरिएका सपनाहरू टिप्न
घोप्टो परिरहेकी छिन्
एउटी सहिदपत्नी
र उनको आङमाथि चढिरहेछ
एउटा उच्छृङ्खल घाम
यही फुटपाथमा उभिएर
गफिन्थे कुनै समय तिनीहरू
मकै भटमास टोक्थे
र छोडाउँथे बदाम
भेटिरहन्थ्यौँ बारम्बार
हात मिलाउँथ्यौँ
र हाँस्थ्यौँ मुसुक्क दुःखसुखमा
बाँडेर खान्थ्यौ रोटीको टुक्रा
कहाँ पुगेछन् तिनीहरू अहिले ?
के तिनीहरूलाई निल्यो अदृश्य बर्मुडाक्षेत्रले ?
या पसे तिनीहरू ब्ल्याक होलभित्र ?
हामी –
लगातार उस्तै
अझै पनि उभिएका छौँ फुटपाथमा
ठेलमठेल ।

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *