Skip to content


हिँड्दाहिँड्दै थाकेर ऊ थचक्क एउटा बाटुलो ढुङ्गामा बसी र लामो सुस्केरा हाली । घामले हो या हिँडाइको तापले हो, उसलाई निकै गर्मी महसुस भयो । निधारभरि चिटचिट पसिना आइरहेको थियो । उसले सलको एक छेउले त्यो पसिना पुछी । त्यसैबेला खेतका पहेँला धानका बालाहरूलाई चुम्दै आएको शारदीय चिसो बतासले उसको गालामा पनि स्पर्श गर्‍यो । उसलाई निकै शीतल अनुभव भयो ।

ढुङ्गामा बसीबसी उसले एकपटक शान्त आकाशमाथि नियाली । त्यो एकदम नीलो थियो । नीलो आकाशमा सेता बादलका टुक्राहरू कपासझैँ यताउता उडिरहेका थिए । तिनलाई नियाल्दै ऊ सोच्न थाली, यिनै बादलका टुक्राहरूजस्तै स्वतन्त्र उडिहिँड्न पाए जिन्दगी कति सुखद हुन्थ्यो । उड्दैउड्दै हरिया र अग्लाअग्ला डाँडापाखाहरूलाई चुम्दै रमाउन पाइन्थ्यो । अग्लाअग्ला हिमचुलीहरूको चेपमा लुकामारी खेल्न पाइन्थ्यो । आहा ! जिन्दगी साँच्चै नै कति सुन्दर हुने थियो ।

त्यसैबेला उसका आँखा आपसमा लड्दैपड्दै उडिरहेका दुइटा चङ्गामा पर्न गए । ती चङ्गाहरू स्वतन्त्र उडिरहेका थिएनन्, कसैले उडाइरहेका थिए । कसैको हातको इसारामा ती उडिरहेका थिए । यतिखेर ती दुई चङ्गा आपसमा लडिरहेका थिए जीवनका लागि । त्यस लडाइँमा अवश्य कसैको हार हुनेछ । एउटा काटिनेछ र कतै गएर खस्नेछ अथवा कतै अग्लो रूखमा गएर अल्भिmनेछ । त्यसपछि उसको जीवन सधैँका लागि त्यही रूखमा झुन्डिएर रहनेछ र एउटा महत्ताहीन जीवनझैँ समाप्त हुनेछ ।

ती दुइटा चङ्गाको लडाइँ हेरेर ऊ एकपटक झसङ्ग भई र डराई पनि । ऊ डराई, त्यो काटिने चङ्गाको भविष्य सम्झेर उसलाई डर लाग्यो । त्यो काटिने चङ्गाको अनिश्चित गन्तव्य र अनिश्चित भविष्य सम्झेर उसलाई कहाली लाग्यो । जुन कहाली अहिले ऊ स्वयम्ले भोगिरहेकी छ, एकछिनपछि त्यो काटिने चङ्गाले पनि भोग्नुपर्नेछ । उसले मनमनै सोची, त्यो काटिने चङ्गाको नियति पनि उसकै जस्तो त हो नि ! जतिसुकै माथिमाथि उडे पनि, जतिसुकै आकाशलाई चुमे पनि आखिर भुइँमा खस्नु नै त्यसको नियति हो ।

उसले पनि जीवनमा कति मीठामीठा सपनाहरू देखेकी थिई । कति रङ्गीन कल्पनाहरू गरेकी थिई । जिन्दगी हाँसीखुसी बिताउँला, रमाइरमाई बिताउँला भन्ने सोचेकी थिई उसले । तर, उसका सारा सपना र कल्पनाहरू भताभुङ्ग भए । पापी आँधीबेहरीले उसका सबै सपना र कल्पनाहरूलाई उडाएर लग्यो । अहिले उसको जिन्दगी उजाड भएको छ, उराठ भएको छ । अहिले उसको यात्रामा हात दिने न कोही सहयात्री छ, न त जिन्दगी बिसाउने कुनै सुरक्षित चौतारी नै छ ।

उसको शान्त घरमा एक दिन एक्कासि पापी आँधीबेहरी पस्यो । त्यो आँधीबेहरीले उसको सासू र ससुराको जीवन समाप्त पार्‍यो । उसलाई पनि त्यस आँधीले बिटुलो बनायो र उसलाई घाइते र अर्धमूच्छिर्त अवस्थामा एक्लै छाडेर उसको प्यारो लोग्नेलाई आफूसँगै लिएर गयो अनकन्टार जङ्गलतिर, जहाँ मान्छे बस्दैनन् । त्यहाँ पशुहरू बस्छन् र पशुजस्तै मान्छेहरू बस्छन् ।

आँधीबेहरी थामिइसकेपछि ऊ मूच्र्छाबाट ब्यूँझिई । उठेर चारैतिर हेर्दा उसको घर जलेर खरानी भइसकेको थियो । घर भन्नु अब खरानीको एक थुप्रो मात्र बाँकी थियो । त्यस खरानीलाई उसले अञ्जुलीभरि लिएर छातीमा टाँसी, मेरो घर भनेर । नजिकै दुइटा लास लडिरहेका थिए, उसका सासू र ससुराका । ती डाँडामाथिका जून भइसकेका बूढाबूढीको के दोष थियो र तिनलाई त्यसरी मार्नुपरेको ? पापी असत्तीहरू …। उसले रुँदैरुँदै सरापी तिनीहरूलाई, जसले उसको घरलाई बर्बाद पारेर गएका थिए ।

उसले उठेर चारैतिर हेरी । शून्यता मात्र थियो, सन्नाटा मात्र थियो । कसैको उपस्थितिको आभास भएन उसलाई । आँधीबेहरीपछिको शान्त वातावरणझैँ उसको वरिपरिको वातावरण त्यस्तै शान्त थियो । मानौँ, त्यस आँधीबेहरीको डरले रूखबिरुवाहरू पनि चलमलाउन नै डराइरहेझैँ थिए । त्यहाँ ऊ एक्ली थिई । रात सुनसान थियो । गाउँ रातको सन्नाटा र निस्तब्धतामा चुर्लुम्म डुबेको थियो, मानौँ त्यहाँ केही भएकै थिएन र कसैलाई केही थाहै छैन ।

अब उसले आफूलाई नितान्त एक्लो पाई । कोही साथ छैन । कसैको सहारा छैन । एक्लो । नितान्त एक्लो । त्यसपछि उसलाई रुन मन लाग्यो । ऊ धुरधुरु रुनथाली । ऊ भक्कानिएर रुनथाली । अब उससँग रुनलाई आँसुबाहेक अरूथोक केही पनि बाँकी थिएन । घर खरानी भइसकेको थियो । सासूससुराले अत्यन्तै दुखद मृत्युवरण गरेका थिए । उसको लोग्नेको पनि अपहरण भइसकेको थियो । उसको लोग्नेलाई लिएर त्यो पापी आँधीबेहरी जङ्गलतिर कता बेपत्ता भइसकेको थियो । अब उसलाई आशा पनि छैन, उसको लोग्ने सद्दे र्फकन्छ भनेर ।

झिसमिसे उज्यालोमा उसले आफ्नो शरीर नियालेर हेरी । रातको अँध्यारोमा आएको त्यो पापी आँधीबेहरीको लछारपछारमा परेर उसको शरीरभरि घाउ नै घाउ लागेको थियो । ऊ रगतपच्छे भएकी थिई । अनि, उसले भर्खरै अपहरणमा परेको लोग्नेको सम्झनामा आफ्नै शरीरबाट बगिरहेको रगत सिउँदोमा लगाई र एकपटक फेरि भक्कानिएर घुँक्कघुँक्क रोई ।

बिहान भएपछि गाउँका मानिसहरू त्यहाँ जम्मा हुनथाले । त्यतिखेरसम्ममा गाउँलेहरूले थाहा पाए, गाउँबाट एउटा घर घटिसकेको र एउटा परिवार घटिसकेको थियो । जनगणनाको तथ्याङ्कमा एउटा घर सङ्ख्या र एउटा परिवार सङ्ख्या घटिसकेको थियो । उसको पीडाजस्तै गाउँलेको अनुहार पनि त्यस्तै आहत देखिन्थ्यो । यस्तो लाग्थ्यो सबैको उस्तै कथा थियो, सबैको उस्तै व्यथा थियो । तर, आफ्नो कथा र व्यथालाई खुलारूपमा व्यक्त गर्ने सामथ्र्य कसैमा थिएन । खालि सबैले ऊप्रति सहानुभूति व्यक्त गरे र गए । टाढाको साइनो पर्ने एक जना वृद्धले उसलाई सहारा दिने घोषणा गर्‍यो र ऊ त्यसैको पछि लागेर गई । अब भने त्यस ठाउँबाट एउटा घर र एउटा परिवार पूर्णरूपमा नै घटेको देखियो । यस देशको मानचित्रबाट एउटा घर हरायो ।

लोग्नेको सम्झना र कल्पनामा तड्पिँदै उसका दिनहरू बित्नथाले । आज आउँछ कि भोलि आउँछ भनेर दिन गन्दागन्दै महिनौँ बितिसक्यो तर पनि उसको लोग्ने फर्केर आएन । बाघको पञ्जामा परेको मृग कसरी जिउँदै फर्केर आउन सक्छ र ! आखिर त्यस्तै भयो, जुन कुराको भय उसको मनमा सुरुदेखि नै थियो । उसको लोग्ने त जिउँदै फर्केर आएन तर उसको मृत्युको खबर भने कताकताबाट ऊसम्म आइपुग्यो । एक कान दुई कान गर्दै सेना र छापामारबीचको भिडन्तमा उसको लोग्नेको मृत्यु भएको खबर गाउँभरि फैलियो । ऊ फेरि एकपटक पीडा र वेदनाले आहत भई । लोग्नेलाई सम्झेर फेरि एकपटक ऊ भक्कानिएर रोई । उसको सिङ्गै जिन्दगी बाँकी थियो । त्यसैले ऊ आफ्नो सिङ्गो तर असुरक्षित जिन्दगीलाई सम्झेर फेरि एकपटक रोई । यसरी ऊ अलिकति लोग्नेका लागि रोई भने अलिकति आफ्नै लागि पनि रोई ।

देशको एउटा अनकन्टार जङ्गलमा दुई पक्षबीच भिडन्त भयो । त्यस भिडन्तमा उसको लोग्नेको मृत्यु भयो । तर, त्यो मृत्यु न एउटा सिपाहीको थियो न त एउटा छापामारको थियो । त्यो मृत्यु एउटा सर्वसाधारण जनताको थियो, एउटा आमनागरिकको थियो र उसको निदोर्ेष लोग्नेको थियो । त्यसैले त्यो मृत्यु न सरकारका लागि विजयको समाचार बन्न सक्यो, न त विद्रोहीका लागि दुखद समाचार बन्न सक्यो । देशका लागि ऐन अरू कसैका लागि त्यो एउटा मृत्युको समाचार मात्र थियो तर उसका लागि सबैभन्दा ठूलो बर्बादीको खबर थियो । देशका लागि कुनै हानिको भएको थिएन, मात्र जनसङ्ख्यामा कोठाबाट एउटा सङ्ख्या घटेको हिसाब भयो । समय पनि यस्तो संवेदनाहीन भइसक्यो कि अब यस्तो समाचारले कसैलाई छुँदैनथ्यो । जस्तो कि मृत्युको यस समाचारले पनि कसैलाई छोएन सिवाय उसलाई ।

यदि उसको लोग्ने छापामार हुँदो हो त त्यसले लालसलाम र पार्टीको झन्डाको सम्मान पाउने थियो र उसले पनि दुई-चार शब्द सहानुभूति पाउने थिई । प्रेस वक्तव्यको प्रचार पाउने थियो । यदि उसको लोग्ने सिपाही हुँदो हो त राष्ट्रिय सम्मानमा सलामी पाउँदो हो र स्वर्गीय लोग्नेको नाउँमा दुई-चार हजार क्षतिप्ूर्ति पनि पाउने थिई उसले । तर, उसको लोग्ने सर्वसाधारण नागरिक भएकाले यस्तो केही भएन । जे भयो सो भयो र सकियो सबै कुरा । जे जति बेहोर्नु र सहनुपर्‍यो, त्यो उसैले बेहोर्नुपर्‍योे र उसैले सहनुपर्‍यो ।

उसले सहेरै बसेकी थिई । सब कुरा बेहोरेकै थिई । तर, एउटा कुराले भने उसलाई हरपल पछयाइ नै रह्यो कि सिङ्गै जिन्दगी बाँकी छ, यसलाई कसरी बिताउने ? अझ कहिलेकाहीँ छातीभित्र उठेर आउने त्यो मत्याउने र कुतकुत्याउने भावनाको तरङ्गलाई कसरी र कतिन्जेल दबाइराख्ने ? यो पिरलो उसको मनमा रहिरह्यो र यस पिरलोले ऊ निरन्तर पिरोलिरही ।

एक दिन बिहानै ऊ अनिश्चित भविष्यको यात्रामा निस्किई र हिँड्दाहिँड्दै ऊ यहाँसम्म आइपुगी । आकाशमाथि ती दुइटा चङ्गा अझै पनि आपसमा लड्दै नै थिए । थाहा छैन, कसको भाग्य कति बलियो छ र को काटिने हो ।

चङ्गा काटिने कुराले ऊ आफैँ झसङ्ग भई । ऊ पनि त काटिएको चङ्गाजस्तै त भएकी थिई नि ! त्यो काटिने चङ्गाजस्तै ऊ कहाँ पुग्ने हो, कहाँ खस्ने हो अथवा कहाँ बस्ने हो, केही थाहा छैन । केही ठेगान छैन ।

चेट्… चेट्… भन्दै मानिसहरू कराएको सुनेर उसले माथि आकाशतिर हेरी । अघिसम्म लड्दै गरेका दुइटा चङ्गामध्ये एउटा चङ्गा काटिइसकेको थियो । काट्ने चङ्गा अझै माथि आकाशिएको थियो भने काटिएको चङ्गा हावासँगै बतासिएर उड्दैउड्दै गइरहेको थियो । उसलाई लाग्यो ऊ आफैँ उड्दै गइरहेकी छ । उसलाई लागिरहेको छ, ऊ हावासँगै उड्दैउड्दै गइरहेकी छ । हावाको वेगसँगै बतासिएर कहिले माथि उड्दै र कहिले तल झर्दै ऊ परपर पुगिरहेकी छ । यतिखेर उसको मुटुको धड्कन बेसरी बढेको छ र ऊ स्वाँस्वाँ गर्न लागेकी छ । उसलाई आफ्नो मुटु खप्नै नसक्ने गरी भारी भएजस्तो लाग्नथाल्छ र ऊ छटपटाउन थाल्छे ।

चङ्गा आकाशिँदै जाँदा उसलाई कहाली लाग्नथाल्यो, धेरै माथि पुगेजस्तो लाग्नथाल्यो । चङ्गा तल खस्दा उसलाई झन् बढी कहाली लाग्थ्यो, मुटु नै खसेजस्तो भयो । अनि, उसको मुटुको स्पन्दन अझ बढी तीव्र हुनथाल्यो र उसलाई उकुसमुकुस हुनथाल्यो । त्यहीबेला हावाको गति कम भएर चङ्गा तेज गतिमा तल खस्नथाल्छ । त्यतिखेर उसलाई बेस्सरी कहाली लाग्छ र डरले आत्तिएर आँखा चिम्लँदै ऊ कराउँछे, “आकाश… ।” सायद उसको लोग्नेको नाम आकाश थियो । उसले सहाराका लागि लोग्नेलाई पुकारेकी थिई । भिडन्तमा परेर मरिसकेको उसको लोग्ने त सहाराका लागि उसलाई अँगालो हाल्न आइपुगेन तर त्यो काटिएको चङ्गा भने ढलपलाउँदै भुइँमा फ्यात्त खस्यो । त्यो खसेको चङ्गा टिप्नलाई चङ्गासँगै उसले आफ्नो लोग्नेलाई उभिइरहेको देखी । ऊ फेरि एकपटक खुसीले चिच्याई, “आकाश… ।”

त्यति नै खेर उसलाई पछिल्तिरबाट कसैले झक्झ्क्यायो । ऊ झसङ्ग भएर तन्द्राबाट ब्युँझिई । एउटा उसैको उमेरको युवक खसेको चङ्गा टिपेर ऊतिर नै आइरहेको थियो । खसेको चङ्गा त भेटियो तर उसको लोग्ने । फेरि ऊ अँध्यारो भविष्यको अनिश्चित गर्तमा रुमल्लिएर छटपटाउन थाली ।

नेपाल साप्ताहिक
अंक १६८

1 thought on “चङ्गा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *