यता भाइको निधार खाली, उता दिदी रुँदी होलिन
मुटु दुख्दा आँशु झार्दै, मेरै तस्बिर छुँदी होलिन
गिज्याए झैँ लाग्दो होला, आँगनीको फूल देख्दा नि
कति छाती पोल्दो होला, माइत जाने हुल देख्दा नि
अरु खुशी मनाईरहदाँ , दिदी दुखी हुँदी होलिन
कस्तो भाग्य हाम्रो बाबु? भन्दै तस्बिर छुँदी होलिन
यस्तै रहेछ परदेशीलाई, अर्को साल आउँछु दिदी
सुक्न दिन्न फूलको माला, तिम्रै हातले लाउँछु दिदी
सधै वाचा मात्रै देख्दा, आँशुसँगै चुँदी होलिन
कति ढाँट्छौ बाबु? भन्दै मेरो तस्बिर छुँदी होलिन
यता भाइको निधार खाली, उता दिदी रुँदी होलिन
मुटु दुख्दा आँशु झार्दै, मेरै तस्बिर छुँदी होलिन
राजेश रुम्बा लामा “अतृप्त”
२७-१०-२०११