Skip to content


हत्या र हिंसाले आक्रान्त भई
सिङ्गो देश रोएका बेला
शान्तिका प्रतीक परेवालाई
बाजको हावाले छोएका बेला
निर्धक्क लामो सास फेरी
आमा मलाई हाँस नभन !
लालीगुराँसका फूलहरूमा
बम र बारुद खसेका बेला
हिउँ पग्लेका खोलाहरूमा
रगतको भेल पसेका बेला
मुटुमाथि ढुङ्गा राखी
आमा मलाई हाँस नभन !
थुप्रै बलात्कृत मनबाट
पीडाहरू जन्मिदिँदा
कलेटी परेका ओठहरूले
सुटुक्क आँसु पिएका बेला
नाटकीय हाँसो पैँचो दिई
आमा मलाई हाँस नभन
सहारा खोसिएका बाबु अनि
काख रित्तिएका आमासँग
सिउँदो पुछिएका चेलीहरू
डाको छाडेर रोएका बेला
धोतीको सप्कोले मुख छोपी
आमा मलाई हाँस नभन !
मेरो देश घाइते भएको यो क्षण
निको नहुने गरी लागेका चोटहरू
हाँस्न सक्दैनन् मेरा ओठहरू
त्यसैले,
आमा मलाई हाँस नभन !

नेपाल साप्ताहिक
अंक १६८

1 thought on “आमा मलाई हाँस नभन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *