मिति २०६८ साल आश्विन २७ गते अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको तेस्रो अधिवेशन सम्पन्न भएलगत्तै, नेपाली साहित्यिक जगतको अग्रणी साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जन्मजयन्ती, गत बर्ष झैँ नवोदित साहित्यिक मोबाइल पुस्तकालयसँग सहकार्य गरी संयुक्तरुपमा आगामी ११ नोभेम्वर शुक्रबारका दिन मनाउने निर्णय गरेको छ।
नेपालबाट ख्यातीप्राप्त साहित्यकारहरूलाई निमन्त्रणा गरेर लक्ष्मी जयन्ती मनाउने अभ्यासलाई यी दुई संस्थाले यस वर्ष पनि निरन्तरता दिन लागेको हो । यसपाली कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईलाई आमन्त्रित गरिएको छ। निमन्त्रणालाई स्वीकारेर समालोचक प्रा. डा. गोविन्दराज भट्टराई दोहा कतार आउनुहुने खबर आयोजक समितिका संयोजक दीपक भेटवालले बताउनु भएको छ। कार्यक्रम आगामी नोभेम्वर ११ शुक्रबारका दिन दोहास्थित ढाका रेष्टुरेन्टको हलमा हुने भएको छ। कार्यक्रमको तयारी लगभग अन्तिम अवस्थामा पुगिसकेको छ।
स्मरण रहोस गत वर्ष पनि यी दुई संस्थाले संयुक्त रुपमा समिति गठन गरेर लक्ष्मी-जयन्ती विशेष कार्यक्रममा नेपालको बरिष्ठ साहित्यिकार तथा समालोचक अभि सुवेदीको प्रमुख आतिथ्यतामा भव्यताका साथ सफलतापुर्वक सम्पन्न गरेको थियो। विगतका वर्षहरूमा झै यसपटक पनि कार्यक्रम सफल रहने कुरामा समितिका पदाधिकारीहरू विश्वस्त छन् ।
राजेश रुम्बा लामा “अतृप्त”
केन्द्रीय सदस्य अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर
(लक्ष्मी जयन्ती विशेष कार्यक्रम प्रचार प्रसार समिति सदस्य)
