नातिलाई स्नेहालु भावले हेरिरह्यो सभ्यराजले । निष्पिmक्री निदाइरहेको नातिको अवोध मुहारमा उसले आफ्नै छोरा अभयराजको प्रतिच्छायाँ देख्यो । छोराको स्मरण हुनासाथ सभ्यराजको छातीमा किन-किन गाँठो पर्यो र कसो-कसो घाँटीमा केही अप्ठ्यारो अनुभव भयो । छोरो प्राप्तिका बेलामा ऊ र उसकी धर्मपत्नी चन्द्रावती कम खुसी थिएनन् । तर, त्यो खुसी, ती सपना र ती दिनहरू जीवनको यस मोडमा आइपुग्दा यसरी फेरिएलान् भन्ने पूर्वानुमान सभ्यराजलाई पटक्कै थिएन ।
हुन त आज छुट्टीको दिन हो । त्यसैले त सप्ताहभरिको थकान मेटाउन छोरा र बुहारी डिनर गर्न कुनै होटल वा रेस्टुराँतिर लागेकाले नाति प्रणयराजको रेखदेखको जिम्मेवारी उसको काँधमा आइपरेको छ । छोरासँग गफिनु, नाति खेलाउनु र बुहारीले पकाएर दिएको तातो चिया जाडोमा सुरूप्सुरूप् पिउनु सभ्यराजका लागि सोख र रहरकै विषय हो । तर, जागिर छुटेको दुई वर्षमै उसले बुझिसकेको छ, जीवनमा खुला आँखाले देखेको सबै सपना, चाहना र रहरहरू पूरा हुँदैनन् । तिनै अधुरा सपना, चाहना र रहरहरूले समय-कुसमय मनको मूलद्वार ढक्ढकाएर छाती चर्काइरहँदोरहेछ ।
निद्रामै नाति चल्मलाएकाले सभ्यराजले नातिको पीठ विस्तारै थपथपायो । हजुरबाको हातबाट खाएर अघाएको नाति फेरि मस्त निद्रामा डुब्दानडुब्दै सभ्यराज पनि आफ्नो अतीतमा डुब्यो । श्रीमती, छोरो, जागिर र घामपानी ओतिने सानो घरमा सभ्यराज असन्तुष्ट कहिल्यै थिएन । कार्यालयबाट फिरेपछि चन्द्रावतीको उज्यालो मुस्कानसँगै उनले अदुवा हालेर बनाएको चिया पिएर दिनभरिको थकान बिर्सिन्थ्यो उसले । समाजमा, आफ्नै जीवनमा आफूलाई बाबुको दर्जा प्रदान गरिदिने छोराको तोतेबोलीमा ऊ लट्ठिन्थ्यो । तर, समय कति चाँडै बदलिएछ, मौसमभन्दा पनि धेरै चाँडै । निमेषअगाडिझैँ लाग्छ, छोराले उसको हात समातेर टुकुटुकु हिँडेको तर समयले समय नै नआई घात गर्दा चन्द्रावतीको महाप्रस्थान र छोराको विवाहले उसको जीवनमा नयाँ मोडहरू ल्याएको आभासलाई पनि उसले आफ्नो जीवनमा त्यति दह्रो गरी बिझ्न दिएको थिएन । छोराको मुहार हेरीहेरी उसले चन्द्रावतीको वियोग सहने प्रयत्न गर्यो । त्यहीबेला पितृभक्त छोरा अभयराजले भनेको थियो, “बुबा तपाईं धेरै चिन्ता नगर्नुस् । म छु नि !” छोराको भनाइ सुनेर सभ्यराजको छाती गर्वले चौडिएर खेतका गह्राजत्रा भएका थिए । जीवनको सम्पूर्ण सार, जीवनको सम्पूर्ण अर्थ र जीवनको मात्र एउटै उद्देश्य अब यही छोराकै मुस्कानमा उसको जीवन र ढुकढुकी अडिएको थियो ।
तर, जब उमेरको हदले गर्दा दुई वर्षअगाडि सभ्यराज सेवानिवृत भयो, त्यसबेला मात्र ऊ घर र सपनाको घेराबाट झल्याँस्स ब्यूँझदा बुहारी हसनाले छोरासँग भनिरहेकी थिई, “हेर अभय, हिजोसम्म पो बुबाको जागिर थियो र नोकर राखेका थियौँ । तर, अब तिम्रो र मेरो मात्र कमाइले नोकर राखेर घर चलाउन सम्भव छैन । त्यसैले काम गर्ने केटोलाई निकालिदिउँ ! आखिर त्यसले गर्ने पनि त्यही दूध, तरकारी ल्याउने न हो ! त्यति काम त काम नभएपछि अब बुबाले नै गरिहाल्नुहुन्छ नि !” बुहारीको प्रस्तावमा छोराको कुनै प्रतिक्रिया आएको सुनेन सभ्यराजले । त्यो रात ऊ पटक्कै सुत्न सकेन । आफूलाई काँडा बिझ्यो भने पीडाचाहिँ आफूले अनूभूति गर्ने आफ्नी सुशील जीवनसङ्गिनी सम्झेर उसको छाती गह्रौँ भइरह्यो, थाहै नपाई आँखा भिजिरहे । आफ्नी स्वर्गवासी जीवनसङ्गिनीको यतिविधि सम्झना उसलाई यसअघि कहिल्यै आएको थिएन ।
“दुलही रायोको साग पकाउँछ्यौ कि चम्सुर-पालुङ ?” भोलिपल्ट बिहान उठेर बुहारी भान्सामा पस्दानपस्दै उसले आफूले किनेर ल्याएको सागसब्जीको झोला बुहारीका अगाडि राखिदिँदै सोधेको थियो । उसको प्रश्न सुनेर बुहारीको ओठमा फक्रिएको विजयी मुस्कान उसले छड्के नजरले नै देखिसकेको थियो । तर, उसले हिजो सुनेको बुहारीको भनाइप्रति कुनै प्रतिक्रिया व्यक्त गरेन, बरु उसले आफ्नो छोराको मुहार झलझली सम्भिmयो, जसले आमा र बाबुको काखमा घुसि्रएर सधैँ भन्ने गर्दथ्यो, “बुबाआमा ! म ठूलो भएपछि हजुरहरूलाई म पाल्छु नि !” मीठो अतीतको मीठो स्मरण मात्रैले पनि अचेतनमै सभ्यराजका ओठ मुस्कुराए । छोराको तोतेबोली सुनेको अस्ति होइन, हिजैजस्तो लाग्यो उसलाई । मातृभक्त, पितृभक्त छोराको स्नेहालु मुहार सम्झेर सभ्यराजको छाती शीतल भयो, धपेडीमा स्वामीको रूखमुनि बसेको अनुभूति भयो ।
निवृतिभरणलगायतका रकम घरको तला थप्न भनेर उसले छोराको हातमा राखिदियो । रकम पाएपछि विद्यालयका शिक्षकहरू अर्थात् छोराबुहारी उज्यालिए । घरको तला थपियो । आम्दानी पनि बढ्यो । तर, बढेको आम्दानीका बारेमा उसले छोराबुहारीसँग कहिल्यै सोधेन । जागिर छुटेपछिका दिनहरूमा बरु तरकारी किन्ने, नातिलाई विद्यालय पुर्याउने, लिन जाने, टेलिफोन, पानी, बत्तीको महसुल बुझाउन जाने सबै जिम्मेवारी सभ्यराजकै काँधमा आइपरेको छ । उसलाई थाहा छ, चन्द्रावती जीवित छउञ्जेल यस्ता झिनामसिना समस्याहरूबाट उसलाई टाढै राख्थी । घरलाई स्याहार्ने मामलामा सभ्यराजले जागिरबाहेक अरू कुनै जिम्मेवारी लिनुपरेको थिएन । तर, आज ऊ आफ्नै घरको मालिकभन्दा पनि पाले, नोकर र कर्मचारी बढी भएको छ र यी तीनवटा जिम्मेवारीका बीचमा उसले मालिकको छवि कतै हराएको छ । उसको ‘बाबु’ रूपमाथि अपहेलनाको धूलो छरिएको अमिलो अनुभूतिले उसलाई चिमोट्न थालेको छ । आफ्नै घरमा आफ्नो अस्तित्व हराएको असहनीय चोटले पीडा दिन थालेपछि उसको भोक र निद्रा दुवै हराए । खाली पेट बिछ्यौनामा पल्टिएर उसले आफैसँग सोध्यो, “सभ्यराज ! तँ यस घरको मालिक होस् कि नोकर ? कतै तँ घरको रखवाली गर्न साङ्लोमा बाँधेर राखिएको आज्ञाकारी कुकुर त हैनस् ? त्यसो हैन र तँलाई मालिक भनँु भने यस घरमा तेरो हैसियत के छ ? छोराले ‘बाबु’ भनेर नबोलाएको वर्ष बितिसक्यो । यस घरको तँ नोकर नै होस् भनँु भने पनि तेरो तलब तोकिएको छैन । मालिक नभएर मानिस मात्र होस् भनुँ भने पनि छोरा र बुहारीबाट चाहेको माया र अपनत्व तँलाई प्राप्त छैन । कुकुर नै होस् भनँु भने तेरो घाँटीमा मालिकले लगाइदिएको पट्टा पनि छैन । ए सभ्यराज ! तैले तँलाई नै नढाँटी भन त तँ यो घरको के होस् ? को होस् ?”
“बुझ्यौ अभय, तिम्रो बुबालाई अलि सम्झाऊ । उहाँको नचाहिँदो लाडप्यारले अचेल प्रणय बिगि्रन लागिसक्यो है !” बुहारीको आक्षेपले दुःखी मन लिएर ऊ फूलबारीमा पस्यो कुटो लिएर । चन्द्रावती जीवितै छँदा यी फूलहरूमा बेग्लै चमक देख्दथ्यो ऊ ।
यिनै फूलहरूझैँ आफ्नो घर र परिवार मुस्कुराइरहून् भन्ने पनि चाहन्थ्यो ऊ । तर, अब उसलाई यी फूलहरूप्रति पनि कुनै रुचि छैन । त्यसमाथि छोराको उपेक्ष्ाा र बुहारीको लाञ्छनाले उसलाई सहनै नसकिने गरी पोल्न थालेको छ । ऊ अन्योलमा छ, “मैले त्यस्तो कुन अक्षम्य गल्ती गरेँ र छोरा मबाट यसरी विमुख हुन पुग्यो ?” छोराको माया बस्ने मनमा जीवनको उत्तरार्द्धमा आएर पटकपटक चोट लागेपछि यो घर नै छाडेर जाने विचार नगरेको पनि होइन उसले । तर, यस्तो बेला साउँको भन्दा ब्याजको माया उसका अगाडि अवरोध बनेर धेरैपटक तेर्सिएको छ ।
“हजुरबा हजुरबा ! मलाई छाडेर नजानुस् है ।” नातिको तोतेबोली नेल बनेर सभ्यराजका गोडामा बेरिन्छन् ।
छोरा आफूसँग रिसाएको हो कि बुहारीको आज्ञा पालन गरेको हो भनेर छुट्याउन गाह्रो परेको छ सभ्यराजलाई । तर, बुहारीको क्रियाकलापबाट अब ऊ दिक्क भइसकेको छ, छाती चिरिएको छ उसको, मथिङ्गल रन्थनिएको छ । आफ्नै औरस फलेको/फुलेको देख्दा रमाउने मनलाई उसले घोचीघोची घाइते बनाइसकेकी छ । अझ लोग्ने र स्वास्नीबीचका रागात्मक संवादसमेत जानाजान उसको कानसम्म पुर्याएर गरेको बेइज्जतीले भतभती पोल्न थालेको छ सभ्यराजलाई । त्यस्ता संवादहरूको स्मरण हुनासाथ छोराको मुहारमा हेर्दा पनि लज्जाबोध हुन्छ उसलाई । तर, बुहारीका प्रत्येक जायज-नाजायज क्रियाकलापमा मौन रहने छोराको कठालो समातेर ऊसँग सोध्न मन लागेको छ उसलाई, “छोरा ! म तेरो खुसी चाहन्छु, तँ सुखी भएको हेर्न चाहन्छु । तर, मेरो बाबु, मेरो राजा ! यस घरमा म धेरै भएको छु भने भन्दे छोरा । तेरो खुसीका लागि म आजै यो घर छाड्न तयार छु ।”
तर, छोराका अगाडि चन्द्रावतीको प्राणप्यारो छोरा, उसको आप\mनै मुटुको टुक्रा अभयराजलाई उसले यति कठोर वचन कहिल्यै प्रयोग गर्न सकेन । बुहारीको व्यवहार सम्झेर र छोराको मुहार हेरेरै ऊ मनमनै छटपटिरह्यो, सल्किरह्यो । नातिलाई विद्यालय पुर्याएर ऊ घर फर्केको मात्र के थियो, छोराले सुन्ने गरेर उसलाई सुनाई, “बुबा हामी पार्टीमा जान लाग्या । आज हामी उतै खान्छौँ । तपाइर्ंले पकाएर खानुहोला र बाबुलाई पनि खुवाउनुहोला । अनि, बाथरुममा भएका मेरा दुई-चारवटा फरिया मिचेर सुकाइदिनुहोला है ।”
बुहारीको वचनमाथि होइन, उसलाई आफ्नै कानमाथि विश्वास भएन । ऊ किंकर्तव्यविमूढ ढोकैमा उभिरह्यो । उफ ! यो धर्ती किन फाटेन ? उसले आफूले आफैँलाई धिक्कार्यो, थुक्क ! किन यस्तो चुत्थो वचन सुनेर पनि म प्याट्ट मुटु फुटेर मर्न सकिनँ ?
“के भो त, त्यति गर्दिए भैगो नि बुबा !” वर्षौंपछि आज उसले आफ्नो एक मात्र छोराको बोली सुनेको थियो । छोराको बोली सुनेपछि नचाहँदानचाहँदै पनि उसका आँखा भिजेर गला अवरुद्ध भयो ।
“स्याबास छोरा ! मलाई खुसी लाग्यो, तैले बाबु भन्न बिर्सिएको रहेनछस् । तर, मैले जीवनभरि साँचेको एउटै सपना तैँ थिइस्, मेरो छोरा ! तैँले नै आज मेरो सपनारूपी ऐना झर्यामझुरुम पारिस् । तैपनि तँ खुसी हुनु, सुखी रहनु मेरो छोरा ! मेरो हृदयको सम्पूर्ण आशीर्वाद, माया तँलाई नै हो । छोरा ! तेरो पनि एउटा छोरा छ । तँ त मेरो प्राण होस् । त्यसैले भन्छु, मेरो छोरा ! मेरो नियति तैँले जिन्दगीमा कहिल्यै कहिल्यै भोग्नु नपरोस् ।” यति भनेर ऊ एउटा सानो कुम्लो च्यापेर घरबाट निस्कियो, आफ्नो मन र जीवन त्यहीँ छाडेर । छोरालाई भन्नलाई र छोरासँग बोल्नका लागि ऊसँग धेरै कुरा बाँकी थिए तर सुन्ने कोही थिएन । त्यसैले भावनाहरू आँसु बनेर दुई आँखाबाट बगिरहेका थिए । धरधर…धरधर…धरधर… ।
नेपाल साप्ताहिक
अंक १७१
