Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, अक्टोबर) तथा १०२ औँ लक्ष्मी जयन्ती

  • by
20111103_AcharyaPrabha_News_01


आचार्य प्रभा/ डेन्भर (कोलोराडो)
अक्टोबर २९, २०११

हरेक बर्ष झैं यो बर्षको देवकोटा जयन्ती पनि अनेसास कोलोराडो च्यापटरले बडो भब्यताको साथ यही शनिबार अक्टोबर २९ का दिन मनायो । तारा अधिकारीको उद्घोषण तथा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वबाट संचालित उक्त कार्यक्रमको प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो । आसन ग्रहण गर्नुहुनेहरूमा बरिष्ठ साहित्यकारहरू कवि श्रीशैलेन्द्र साकार, गजलकार मनु ब्राजाकी, बरिष्ठ लोक गायक तथा संगीतकार, लेखक हिरण्य भोजपुरे, डा.बिजय राज शर्मा (पूर्व सल्लाहाकर अनेसास कोलोराडो च्यापटर) रक्की माउण्टैन फ्रेण्ड्स अफ नेपालका सचिव प्रेमकुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

कार्यक्रमको दोश्रो चरणमा स्व. देवकोटाको तस्बिरमा माल्यार्पणको कार्यक्रम थियो । आचार्य प्रभाको स्वागत मन्तब्यपश्चात नेपालको राष्ट्रिय धूनको साथमा शैलेन्द्र साकार र मनु ब्राजाकीको बाहुलीबाट देवकोटाको तस्बिरबाट ब्यानर उत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा गायक मनोज तुलाधारले देवकोटाद्वारा सिर्जित “कुन मन्दिरमा जान्छौ यात्री” बोलको गीत गाएर सबै आगन्तुकहरूलाई मुग्ध बनाउँनु भएको थियो । त्यस्तै डा. बिजय राज शर्माले महाकवि देवकोटा बारे प्रकाश पार्नु भएको थियो । यसरी देवकोटाको अविस्मरणीय दिनको अवसर पारेर अनेसास कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाले देवकोटाको आफ्नै आवाज र देवकोटाबारे पुराना केही झलकहरू पनि साहित्यप्रेमीहरू माझ प्रस्तुत गर्नु भएर सबैलाई अझ देवकोटाप्रति श्रद्धाभाव जगाईदिनु भएको थियो ।

कार्यक्रमको मध्यान्तरतिर बरिष्ठ साहित्यकार श्रीशैलेन्द्र साकारको ब्यक्तित्व तथा कृतित्वको चर्चा तारा अधिकारीले गर्नु हुँदै वहाँलाई गजलकार मनु ब्राजाकीको बाहुलीबाट सम्मान पनि गरिएको थियो । सोही अवसरमा साहित्यकार शैलेन्द्र साकारले आफूलाई कोलोराडो च्याप्टरले यसरी सम्मान गरेकोमा आफू प्रवासमै भए पनि गर्व भएको र यो च्याप्टरप्रति आफू कृतज्ञ भएको बताउनु भयो ।

सम्मानकै क्रममा बरिष्ठ गायक तथा लेखक हिरण्य भोजपुरेको पनि ब्यक्तित्व र कृतित्वको संक्षिप्त परिचय सहित साहित्यकर मनु ब्राजाकीद्वारा नै सम्मान गरिएको थियो भने सोही क्रममा गायक हिरण्य भोजपुरे ज्युले पनि आफूलाई यसरी एउटा देशकै हस्ती र लेखकको रुपमा कोलोराडो च्याप्टरले सम्मान गरेकोमा आफू प्रफुल्लित बन्दै यो च्याप्टरप्रति अनुग्रिहित बनेको बताउँदै आफूले गाएको पुरानो गीतको दुई लाईन “ट्याक्सी गुडाउँदै, बाईरोडको बाटोमा धुलो उडाउँदै” गाएर सम्पूर्ण उपस्थित महानुभावहरूलाई अतितमा डुबाईदिनु भएको थियो । यसरी बिभिन्न कार्यक्रमहरूको संगमबाट तयार गरिएको उक्त जयन्तीमा प्रत्येक महिना हुँदै आईरहेको साहित्य संगमको कवि गोष्ठीलाई आयोजना गरेर सहयोग गर्नु हुने आयोजकहरूलाई पनि अध्यक्ष पदम विश्वकर्माबाट प्रमाण पत्र बितरण भएको थियो । अनेसासका नव आजीवन सदस्यहरूलाई पनि डा.बिजयराज शर्माद्वारा खादा ओडाई सम्मान र प्रमाण पत्र बितरण भएको थियो ।

कार्यक्रमकै शिलशिलामा पुरानी गायिका तथा कवयित्री उर्मिला श्रेष्ठले पनि देवकोटा बारे मन्तब्य दिनुभएको थियो । कार्यक्रममा निम्न कवि कवयित्रीहरूले आ-आफ्ना रचना पाठ गर्नु भएको थियो- मनु ब्राजाकी, शैलेन्द्र साकार, हिरण्य भोजपुरे, कपिल सुबेदी, बासु देव खनाल, भुपेन्द्र महत, डा बिजय राज शर्मा, बिजय देव अधीकारी, प्रमिला शर्मा, आचार्य प्रभा, रामचन्द्र सापकोटा, निर्मला शर्मा, सम्मुनत लामिछाने, सम्झना आचार्य, राजु सिटौला । तारा अधिकारीले देवकोटाकै सृजना बाचन गर्नु भएको थियो ।

सदा झैं यस कार्यक्रममा तस्बिरहरू लिईदिएर क्यामेरा म्यान शैलेस पोख्रेलले यो च्याप्टरलाई ऋणी बनाउँनु भएको थियो । राजेन्द्र सिग्देलले पनि प्राविधिक कुरामा सहयोग गर्नु भएको थियो । त्यस्तै गरेर श्रीमती कमला विश्वकर्माज्यु, सम्झना आचार्य, शिरिष भोजपुरे, साश्वत पौडेल, सुदिप प्याकुरेलले पनि कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रीपदम विश्वकर्माले सम्पूर्ण आगन्तुक बर्ग र सहयोगी महानुभावहरूप्रति आभार ब्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा स्न्याक्स र पानीको ब्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *