तेरो पवित्र प्रेमसँग खेलवाड् गरी
तेरो आशा र विश्वासलाई निमोठेर
तँलाई मुर्दा बनाई पीडाको चितामा होमी जानेको निम्ति
कहिलेसम्म ?
उसको भ्रमात्मक प्रेमको घुम्टो ओढी उसलाई सम्झेर रुन्छस् ?
अनि,
कहिलेसम्म ?
आफैलाई दोषी मानी आत्मापीडक बन्दै
बिरह र बेदनाको कालकोठरीमा आफ्नो भविष्यको गला रेट्दै
आफैलाई सजाय दिन्छस् ?
ए ! मन्, तँ मूर्ख नबन् …
यो समय धोकेबाजलाई याद गर्दै रुनलाई होइन,
यो समय त आफूलाई सम्हालेर अगि बढ्नको निम्ति हो,
त्रुटीहरूलाई औल्याउदै केही सिकी
यो समय अन्मोल जिन्दगीको अस्तित्व खोजि गर्नलाई हो !
सहास र लगनशीलताको मसीले
निराशाका शुन्यामय पानाहरूमा सुनौलो कर्मरेखा कोर्नलाई हो,
वर्तमानलाई स्वीकार्दै सुमार्ग चुनी
खुशी र सन्तुष्टिको नपखालिने रंग भर्नलाई हो !
