अन्ततोगत्वा लरायन पनि राजनीतिमा आउने नै भयो, नआई धरै पाएन । समाज, आफन्त, इष्टमित्र, साथीभाइ, यारदोस्त, छोराछोरी, स्वास्नीससुराली, मातामावली सबैले एकोहोरो भन्याभन्यै गरे, “हजुर पनि राजनीतिमा आउनुपर्‍यो । कलुवाको शानसौकत हेर्नूस् त !” कलुवाको मोजमस्ती सबैले देखेकै थिए । दिल्ली र हङ्कङ् त उसका लागि अचेल पानीपँधेरो बनेको थियो । हाच्छ्युँ आए दिल्ली, रुघा लागे हङ्कङ् । आमाबुबाले पनि भन्नुभयो, “कस्ताकस्ता नपत्याउँदाले त राजनीति हाँक्या छन् भने तँ त ! किन खुट्टा कमाउँछस् ?”

उसले खुट्टा कमाएको त थिएन । उसलाई के मात्रै लागेको थियो भने राजनीतिमा ऊजस्ताको उपस्थिति हाँसको बथानमा बकुल्लोजस्तो हुन्छ । कलुवा गयो भन्दैमा उसले पनि त्यही बाटोमा हिँड्नुपर्छ भन्ने थिएन । राजनीतिका आफ्ना सीमा र मर्यादा छन्, आदर्श छन् र ती सब कुरो तर धान्न सक्ने उसको हैसियत पुग्दैन । उसका लागि त ऊ जहाँ जे गरिर’छ, त्यही ठीक छ । कमाइ त राम्रै हुन्थ्यो तर इज्जत थिएन । बस्, त्यति हो ।

तर, धान्न सक्दिन भन्दाभन्दै पनि नआई धरै पाएन उसले । नेताजीले भन्नुभयो, “तिम्रो कमान तिमी आफैँ सम्हाल । यसपालि तिमीलाई टिकटका लागि कोसिस गर्छु । तिमीले पार्टीको धेरै सेवा गर्‍यौ । आजको पाँचौँ दिनका दिन आमसभा छ । त्यही आमसभामा तिमीलाई पार्टीमा प्रवेश गराउँछु । त्यो आमसभाको कार्यक्रम जसरी पनि सफल पार्नुपर्छ । यो जिम्मा तिम्रो । पोस्टरपर्चा, प्रचारप्रसार, माइकिङ्, आवतजावतका लागि बसट्रकको व्यवस्था, र्‍यालीका लागि मोटरसाइकल र जिपको बन्दोबस्त, कार्यकर्ताका लागि बसोबास र खानापिना, केन्द्रबाट आउने र बाहिरी जिल्लाबाट आउनेलाई बाटोखर्च यी सबको ठेगान जिल्ला सचिवसँग गरहिाल ।” “हजुर, अहिले त हात खालि छ ।” “म अरू केही जान्दिनँ । अवसर सधँै आइरहँदैन । विचार गर ।”

उसले धेरै विचार गर्‍यो, देख्नभन्नका लागि आमसभा हो तर नेताजीको आमसभा निकै महँगो हुन्छ । एउटा आमसभाका लागि कम्तीमा १० हजार हात्ती चाहिन्छ । उसले दोस्तयारसँग पनि सल्लाह गर्‍यो, टक्लु, बब्लु, नक्सा, चस्मा, दोरपदी सबैजसोले त्यतै लाग्ने सल्लाह दिए । किन हो कुन्नि, दोरपदी त निकै उत्साहित देखिएकी थिई । टक्लु पनि उत्साहित नै देखियो । भन्यो, “यार ! तिमी राजनीतिमा उत्रियौ भने हामीलाई पनि सजिलो हुन्छ । नेताजीबाट पिण्ड छुटिहाल्छ, हफ्ताको झन्झटै खलाँस । केही झमेला पर्‍यो भने डाइरेक्ट तिमीसँग कन्ट्याक्ट गर्छौं ।”

“हँ भाइ, हँ,” बब्लु, नक्सा र चस्माले पनि उत्साहित हुँदै भनेथे । चस्माले त अझ टिप्स पनि थप्यो, “राजनीति त तिमी यहाँ पनि गरिरहेकै छौ । मिहिनेत मजुरी हाम्रो, बन्दरबाट तिम्रो । नेताजी पनि त त्यही न गर्छन् ।”

र, लरायन त्यही आमसभामा प्रकट भएर पार्टीमा प्रवेश गर्‍यो । केन्द्रबाट आएका नेताजीले उसलाई पार्टीमा स्वागत गर्दै टीकामाला लगाइदिए । थरीथरीका मालाहरूले उसको अनुहार यसरी छोपिदियो कि सभामा आएका मान्छेहरूले उसको अनुहार पनि राम्ररी हेर्न पाएनन् । उसलाई पनि एउटा बेग्लै किसिमको रोमाञ्चक अनुभूति भइरहेको थियो । अहिलेसम्म दुनियाँको नजरमा नपरेको र अन्धकारमा पौडी खेलिरहेको लरायन आजदेखि पार्टीको मान्छे भयो, त्यो पनि लरतरो होइन, ठूलो पार्टीको वरिष्ठ मान्छे ! राजधानीबाट हेलिकप्टर चढेर आएका नेताजीले उसलाई २५ रुपियाँको सदस्यता रसिद प्रदान गरेर पार्टीको वरिष्ठ सदस्य बनाइदिनु भएको थियो । र, लरायनले अँध्यारो भूमिगत संसारबाट चमकदमकपूर्ण दुनियाँमा प्रवेश पाएको थियो । पहिले तुरुन्तै त पत्रकारहरूको क्यामराको झल्याकझिलिकले हो कि केले हो, उसको आँखा तिर्मिरतिर्मिर भयो तर मञ्चमा बस्दाबस्दै अभ्यस्त भयो र उज्यालो देख्न थाल्यो । त्यही सभामा नेताजीले भन्नुभयो, “यसपालिको चुनावमा यो क्षेत्रको नेता यही हो । यो जिल्लै यसैको जिम्मामा दिएँ मैले । पार्टीले यहाँ प्रगति गरेको मैले छिट्टै नै सुन्न पाउनुपर्छ ।”

अहिलेसम्म उसको नागरिकता थिएन । एक-दुईचोटि नागरिकता बनाउने विचार नगरेको होइन तर नेताजीले ‘तिमीलाई अहिले किन चाहियो ?’ भनी जहिले पनि पन्छाइदिनुहुन्थ्यो । यसपालि उहाँले नै बनाउन लगाइदिनु भयो । नागरिकता हातमा परेपछि उसलाई थाहा भयो, ऊ त लरायन होइन, राजनारायण अधिकारी पो रहेछ । यो गुह्यबोधसँगै उसले आफूभित्र नवीनतम ऊर्जा सञ्चार भएझैँ मान्यो । हिजोसम्म ऊ लरायन थियो । अब आजदेखि राजनारायण अधिकारी भयो । पहिले ऊ सत्ताका लागि वान्टेड थियो, सत्ता उसका लागि वर्गशत्रु थियो । अहिले सत्ता उसका लागि आकर्षणको विषय बनेको छ, ऊ सत्ताको वर्गमित्र बन्दै गयो ।

चुनावको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको थियो । मतका लागि आग्रहअनुरोध, ललाइफकाई, धम्कीघुर्की, गुन्डागर्दी र त्रासविस्तार, मत खरदिका लागि मरमोलाई, झगडाफसाद, अपहरण र बेपत्ताआदि यावत् तरकिाहरू ऊ अपनाइरहेकै थियो । चुनावका क्रममा मानिसहरूले उसउपर थरीथरीका बात लगाएको उसले प्रत्यक्षपरोक्ष सुनेको पनि थियो । कसैले ज्यानमारा भने, कसैले डाँका भने । कसैले बलात्कारी र दुराचारी पनि भने । लुटाहा र जंगली भन्न पनि बाँकी राखेनन् । अनपढ, गँवार पनि भने, तस्कर भन्न पनि बाँकी राखेनन् । तर, पार्टीलाई चन्दा दिएको देखेनन्, मन्दिर र धर्मशाला बनाएको सम्झेनन् । शोषक पनि भने, सामन्त पनि भने तर पार्टीमा नेताहरूलाई भनसुन गरेर मान्छेहरूलाई जागिर लगाइदिएको गुन सम्झेनन् । पुलिस प्रशासनलाई हप्ता दिएको देखेनन्, पुलिसप्रशासनले सास्ती दिएको सम्झेनन् । कसैले विदेशी दलाल पनि भने तर राष्ट्रसेवा गरेको देखेनन् । धतुरोको बोटमा कतै गुलाफ फुल्छ भनी झन् खिसीट्युरी गरे । सबै आरोपको एउटै जवाफ हुन्थ्यो ऊसँग, “मेरो उम्मेदवारी कमजोरलाई शक्तिवान् बनाउनका लागि हो ।” तर पनि बात लगाउन छोडेनन्, मानिसहरूले । यी सब आरोप सुन्दासुन्दा उसका कान पाकिसकेका थिए, जित्ने आशा उसले मारिसकेको थियो । व्यर्थै राजनीतिमा आएँ भन्दै लघुताबोध गरिरहेको थियो तर पनि प्रतिवाद गर्न पछि पर्दैनथ्यो । भन्थ्यो, दूधले नुहाएको चोखो को छ ? गाछीवालाहरूले पिलेन अपहरण गरेकै हो, ढुकुटी लुटेकै हो, सर्खारलाई घरघिरि बम हानेकै हो । धरमपरसाद ढकाललाई कसले मार्‍यो ? देश बनाउनेले ? नक्खुमा सुरुङ खनेर भाग्नेहरू अपराधी होइनन्, महाकाली सन्धि राष्ट्रप्रेम हो ? हजारौँका जग्गाजमिन हड्पेर बस्नेहरू राष्ट्रवादी हुन् ? लुटेको सम्पत्ति माटोमा गाडेर लुकाएर राखेका छन्, किन गरबि जनतालाई बाँड्दैनन् त क्रान्तिकारीहरू ? क्रान्तिकारी साथीहरू सस्तो गाडी नचढेर किन प्राडोमा सैर गर्छन् त ?… यस्तैयस्तै प्रतिवादहरूको पहाड थियो ऊसँग पनि ।

देख्दादेख्दै राजनारायण अधिकारीले अत्यधिक बहुमतले चुनाव जित्यो । पार्टीले यतिञ्जेलसम्म जित्न नसकेको क्षेत्रको चुनाव उसले जित्यो । आफ्नो क्षेत्र मात्रै होइन, जिल्लाको छमध्ये पाँच क्षेत्रमा उसले पार्टीलाई जिताइदियो । र, उसले जिल्लाजितकै उपाधि पायो । नेताजी पनि गदगद हुनुभयो । खासमा नेताजीले नजितिने क्षेत्र ठानेरै उसलाई त्यहाँको टिकट दिनुभएको थियो । तर, ‘अगुल्टोले हानेको कुकुर टाँडमा’ भनेझैँ उसले नै चुनाव जितिदियो । यसरी जितिएला भन्ने उसले चिताएकै थिएन । भूमिगतबाट बहिर्गत हुन पाउनु, सत्तासँग तेलकासा खेल्ने पार्टीको वरिष्ठ सदस्य हुन पाउनु नै उसका लागि ठूलो कुरो थियो । सांसदको चुनावमा विजयी भएको भन्ने निर्वाचन आयोगले दिएको प्रमाणपत्रमा सिसाजडित सुनौलो फ्रेम लगाएर कोठामा झुन्ड्याएपछि ऊ एकपटक फेरि भावविह्वल भयो । उसको अन्तरमनले भन्यो, “लरायन, अब तँ सांसद भइस्, राजनीतिक नेता भइस् । अब त देश, समाज र जनताप्रति तेरो केही जिम्मेवारी हुन्छ नि !” “हँ ! त्यो त हुन्छ होला । नेताजीले के भन्नुहुन्छ ?” उसले फ्रेमको सिसामा देखिएको नारायणलाई भन्यो ।

“नेताजीले जे भने पनि तँसँग पनि दुई थान आँखा, दुई थान कान, एक थान नाक, एक थान जिब्रो, २० वर्गफुटको एक थान छाला र सबभन्दा महत्त्वपूर्ण त एक थान दिमाग छ । यी सब चीज त बन्धकी राख्या छैनस् नि कतै । त्यसैले आफू पनि सोच्नेविचार्ने र बोल्ने गर्,” सिसामा टल्केको राजनारायणले भन्यो । त्यसैबेला श्रीमती सुलेखा छिरी कोठामा, विजयी सांसदको आरती उतार्न । हातमा पूजाको थाली थियो । थालीमा पूजासामान र मिठाई थियो । सुलेखा गोरी छे तर छे अँध्यारी । दोरपदी काली छे तर छे हँसमुख र उज्याली, छिनैमा सारा थकान रफुचक्कर पारििदन्छे । तर, आज सुलेखा पनि पूणिर्माको चन्द्रमाझैँ उज्याली देखिएकी थिई । पाँच दिनदेखि सदरमुकामको होटलमा द्रौपदीको बासी र रेडिमेड अनुहारबाट वाक्कदिक्क भएको ऊ सुलेखालाई यो रूपमा देखेर प्रसन्न भयो र भन्यो, “सुलेखा, अब तिमी सांसदनी भयौ ।” बत्तीसै दन्त देखाउँदै सुलेखा आरती उतारिरही र मुख मीठो पारििदई । उसलाई सँगै लगेर ससुरासासू र मान्यजनहरूलाई मिठाई बाँड्न लगाई । बडो संस्कारी छे सुलेखा । यो कर्मबोधले ऊ पुनः प्रसन्न र पुलकित भयो ।

राजधानी पुगेपछि केही समय त डेराडन्डाको समस्या समाधानमा लागिहाल्यो । पहिले आवतजावत गर्ने गरेको अड्डाहरूमा पनि खुसीयालीको कलाकन्द र बलशाही मिठाई बाँड्यो । ‘कुनै काम पर्‍यो भने भन्नू’ भन्दै आश्वासन पनि दियो । सब गद्गद् भए । तिनीहरूले नै सुविधासम्पन्न घरमा घरडेरा पनि खोजिदिए ।

संसद् सचिवालयको काम पनि भ्यायो उसले । त्यही सिलसिलामा विभिन्न जिल्लाका सांसदहरूसँग उसको भेट भयो । चिनजान भयो । सम्पर्क बढ्यो । यस क्रममा चियापानीको होटल रेस्टुराँदेखि डान्सबारसम्मको यात्रा तय गर्‍यो उसले । डान्सबारमा बसेकै बेलामा एक दिन उसले सांसद साथीलाई सोध्यो, “नेताजी ! तपाईं किन सांसद हुनुभयो ?”

“तपाईं किन हुनुभा नि ? भन्नूस् न पैला !” अर्कोले प्रतिप्रश्न गरििदयो । “के सोध्या होला यो मान्छेले ? राजनीतिमा किन लाग्या ? यही सांसद र मन्त्री हुनका लागि होइन ?” सामुन्नेको सिटमा बसेको सांसदले भन्यो । “पहिले के के खाने हो भनौँ न, माननीयज्यू !” मेनु हेर्दै गरेको सांसदले आग्रह गर्‍यो । ऊ खानेकुराको नाम टिपाउँदै थियो, ड्रम स्टिक, चिकनचिल्ली, साँधेको पिनट्स, फ्रेन्च फ्राई अनि एन्टिक्विटी । सेकुवाचाहिँ ल्याइहाल छिट्टै ।”

“सांसद त भइयो भाइ तर यो त बडो अपजसी पद रै’छ । पहिलापहिलाका सांसदहरूले दुर्गन्धै पारिसक्या रै’छन् । कोही सुत्केरीको औषधी खाने भनी छेड हान्छन् त कोही राजस्व मारेर प्राडो चढ्ने भन्छन् । कोही बैठकै नबसी भत्ता खाने भन्छन् त कोही एयरपोर्ट नभएको ठाउँको प्लेन चढ्ने भन्छन् । कोही किर्ते सहायकहरू खडा गरेर तलबभत्ता हसुर्ने भन्छन् । कोही रातो पासपोर्ट बेच्ने भन्छन् । भन्न पनि के के सकेका त !” अर्कोले गुनासो पोख्यो ।

‘नखाएर के गर्ने त ? जिल्लाभरकिा मान्छे पाल्नुपर्‍यो । हूलका हूल आउँछन् मान्छे पनि । कसैलाई जागिर चाहियो, कसैलाई सरुवा । कसैलाई ठेक्का, कसैलाई छात्रवृत्ति त कसैको मेडिकलमा नाम निकाल्नुपर्‍यो । कोही विकासका लागि रकम निकासा गराइदे भन्छन् त कोही के ! कोठा सधँै धर्मशालाजस्तो बनेको छ । सांसदलाई मान्छेहरू कोठा दिन त गाह्रो मान्दा र’छन् ह्याँ ! दिए पनि सर्खारले दिएको डेराभाडाले समेत नपुग्ने गरेर भाडा कस्छन् । हामी नि कमन्डलु बोक्नका लागि त राजनीतिमा लागेका होइनौँ नि !’ भन्दै सेकुवा चपाउन थाल्यो । बेयराचाहिँ एन्टिक्विटी बाँड्दै थियो । अगाडि मञ्चमा गीत-बाजा र नाच चलिरहेको थियो । हलका टेबुलहरू लगभग भरभिराउ थिए ।

“होटलमा सपरविार आउनेहरूको संख्या पनि राम्रै हुँदोरहेछ,” अघि गुनासो गर्नेे सांसदले भन्यो । “चियर्स !” गर्दै उनीहरू आफ्नो सत्कर्ममा व्यस्त देखिए । व्यस्तताबीच अल्पभाषीले गम्भीर मुद्रामा भन्यो, “जनताले यसपालिको निर्वाचनमा स्पष्ट बहुमत त कुनै पार्टीलाई पनि दिएनन् । मिलीजुली हिँड र बाँडीचुँडी खाऊ भनी जनादेश पो दिए त ! सहकारी नीति अवलम्बन गराउने विचार रहेछ जनताको ।”

‘हामीजस्ता स्वतन्त्रहरूका लागि त बहुत उत्तम अवसर हो यो’ भन्दै उसले सिँगो पेग एकै घुट्कोमा रित्याइदियो । साथीहरू धुत भइरहेथे पिएर । ऊ धुत भएर पिउँदैन कहिल्यै पनि । त्यसैले नाचगानतिर केन्दि्रत पार्‍यो आफूलाई । नाच्नेको अनुहारमा कान्ति छैन । बरा मलिन अनुहार छ उसको । दोरपदीको जस्तो मोहक छैन । दोरपदी जे गर्छे, प्रेमले गर्छे । अचेल बब्लुहरूसँग होली । राजधानी आउन मन गरेकी छे । गीतमा झुम्न खोज्छ ऊ ।

साथीहरू तलबभत्ताका बारेमा छलफल गर्दै थिए । “हाम्रो त धेरै रकम पार्टीले नै खाइदिन्छ । कति पो बच्छ र ! तपाईंहरूको जस्तो हैन,” विश्वकर्माले गुनासो गर्दै भन्यो । उठ्ने बेलामा माननीयज्यूहरूको खुट्टा भुइँमा टेकिन मानिरहेको थिएन । “अधिकारीजी ! भोलि त्यतै सचिवालयतिर भेटौँ न ! केही सरसल्लाह गरौँ ।” छुट्टिने बेलामा अल्पभाषी सांसदले ऊसँग खुसुक्क भन्यो ।

सांसदहरूको समूहमा थरीथरीका सांसद थिए तर अल्पभाषी सांसद एकदम बेग्लै खालका थिए । कम त बोल्थे नै तर ठोस कुरो बोल्थे । भने, “तपाईं अराजनीतिक पृष्ठभूमिबाट आउनु भएको रहेछ । खर्च नि निकै गर्नु भएछ । पार्टीहरूमा दोहन प्रवृत्ति बढदो छ ।” उनले रामायण लेख्ने वाल्मीकिको कथा सुनाए, “मानिसहरू बडो श्रद्धाका साथ वाल्मीकिको नाम लिन्छन् । वाल्मीकि भन्नासाथ मान्छेका मनमा आदरभाव उत्पन्न हुन्छ । तर, तिनै वाल्मीकि पहिले रत्नाकर भनेर चिनिन्थे, डकैती गर्थे, लुटपाट गरेर मान्छेलाई दुःख दिन्थे । तिनको नाम सुन्नासाथ मान्छे थरर्र काँप्थे । भनेपछि मान्छे खराबबाट असल पनि त बन्न सक्दो रहेछ । यो समाजमा हामी सांसदहरूको छवि पनि खासै राम्रो छैन । यो कुरोले हामीलाई चिमोट्नुपर्छ । कि कसो ?”

“हो नि ! सबले यस्तो कुरो सोचिदिए कति राम्रो हुन्थ्यो हगि !” प्रकटमा उसले भन्यो तर मनमनै सशंकित भयो, “यसले मसँग किन यस्तो कुरो गरिरहेछ ? के मेरो पूर्वपृष्ठभूमि यसले थाहा पाइसक्यो त ?” “तर, दुःखको कुरो के छ भने यो व्यवस्थाले अहिले वाल्मीकिजस्ता मान्छेलाई धमाधम रत्नाकर बनाइरहेछ र समाजलाई पतनोन्मुख बाटोमा डोर्‍याइरहेछ । भन्छन् नि उल्टो गंगा…, बस् त्यस्तै सम्झनूस् । गोदावरीबाट निस्केको कर्मनासा खोलोजस्तो । हाम्रा लागि यो कुरो सोचनीय बन्नुपर्ने होइन र ?” “व्यवस्थाले मान्छेलाई रत्नाकर बनाएको हो कि मान्छेले व्यवस्थालाई रत्नाकर बनाएका हुन् ?”

‘वाह ! कति दमदार कुरो गर्नुभयो तपाईंले । यो कुरो हामीले गम्भीरताका साथ सोच्नुपर्छ अधिकारीजी !’ भन्दै उनी बिदा भएथे त्यस दिन । यो कुराकानीपछि उसले आफैँलाई सम्झ्यो, “ऊ पनि त लरायनबाट राजनारायण अधिकारी बनेको छ । राजनारायण अधिकारी निर्वाचन आयोगले दिएको प्रमाणपत्रको सिसाबाट घरघिरि उसको अन्तस्करणमा झुल्किरहन्छ, सचेतक बनेर, कहिले ह्वीप जारी गर्छ त कहिले आदर्श सूचनाहरू सम्प्रेषण गर्छ । घरघिरि सपनामा भन्छ, अब तँ हिजोको लरायन होइनस् । हिजो जे थिइस् थिइस्…, अब मौका मिलेको छ उज्यालो संसारमा आफूलाई चिनाउने । मान्छेले संसारबाट आफ्नो पार्थिव शरीरबाहेक जितेर केही लाँदैन आफूसँग, धनसम्पत्ति, जायजेथा सबथोक छाडेर जान्छ यही धर्तीमा, नाम पनि दुर्नाम पनि, यश पनि अपयश पनि । सुकर्मले नै मानिसलाई मृत्युपछि पनि मान्छेका मनमा जीवित राखिरहन्छ । सहिदहरूलाई हामी किन सम्झिरहन्छौँ भन् त ? डाँका र कुख्यात हत्यारा अंगुलीमाल आफ्ना सारा कुकर्मको बाटो परित्याग गरेर सत्मार्गमा लाग्यो । तैँले पनि मौका पाएको छस् । भलै त्यो मौका पाउन तैँले जेजस्तो बाटो तौरतरकिा अवलम्बन गरेको भए तापनि अब आफूलाई सत्मार्गमा लगा, सत्कर्ममा लगा ।”

उसले कलुवा अर्थात् कलाधरलाई पनि आफ्नो सपना सुनायो । कलुवा अर्कै पार्टीमा भए पनि साथी त उसकै थियो । चुनावमा उसले सघाएको पनि थियो । उसको कुरा सुनेर कलुवा अट्टहास गर्दै ठूलो खित्का छाड्दै हाँस्यो र भन्यो, “के भन्छन् नि… हजार मुसा खाएर ढाडे हिँड्यो तीर्थ ! किन तिम्रो मतिभ्रम भइरहेछ लरायन भाइ ?” कलुवाको थाप्लोमा पाँच जनाको हत्याको आरोप थियो । तीन वर्षदेखि ऊ भूमिगत थियो । भूमिगतै भएर उसले चुनाव जितेको थियो । भूमिगतै भएर शपथ लियो । संसद्भित्र बहिर्गत र बाहिर भूमिगत । मन्त्री पनि भयो । आफूउपरको मुद्दा खारेज गरायो । अचेल भूमिगत हुनुपर्दैन । तर, सुपारी लिन अहिले पनि छोडेको छैन उसले । अचेल सुपारी लिनु त्यस्तो जोखिम पनि छैन उसका लागि ।

“मतिभ्रम होइन मति सफा भइरहेको भन्न,” उसले दृढ हुँदै भन्यो । “नेताजीलाई पनि सुनायौ त ?” कलुवाले सोध्यो । अचानक नारायणको गोजीको मोबाइल बज्यो । उसले मोबाइल हेर्‍यो । नेताजीको सेक्रेटरीको रहेछ । अर्जेन्ट फोन पाएर ऊ नेताजीलाई भेट्न हिँडी पनि हाल्यो । नेताजीले भन्नुभयो, “नारायण ! तिमी दुई-चार दिन हङ्कङ्को सैर गरेर आऊ । सात दिनको ट्रिप हो । तीन-चार जना अरू साथी पनि हुन्छन् । पहिले गा’छौ कि छैनौ ? फिर्ती टिकट पनि बन्दोबस्त भइसक्या छ । अरू बस्न मन लाग्यो भने टिकट एक्सटेन्ड गराउनू ।”

“उसको कति ख्याल राख्नुहुन्छ नेताजी !” गद्गद् मनले स्वागत सम्झ्यो । साँझको डिनरमा ऊ साथीहरूको टोलीमा हङ्कङ्को होटलमा थियो । फर्कँदा उसले विमानस्थलमै थाहा पायो, नेताजीले त अस्तिको चुनावमा बहुमत पाएको पार्टीको सरकार बन्न नदिनका लागि कलुवाको पार्टीको सुपारी लिनुभएको रहेछ । अल्पभाषी सांसदले फोन गरेको थियो । नेताजीले सोध्नुभयो, “कस्तो रह्यो ट्रिप ?” उत्साहित हुँदै उसले भन्यो, “हाम्रो काम अब हजुरले नै गर्न थालेपछि कमसेकम हामीले त छुट्टी पाउने नै भयौँ । मलाई यही कुराको खुसी छ ।”

नेपाल साप्ताहिक अंक ४६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *