Skip to content


किन देख्यौ आमा
तिमीले त्यस्तो सपना ?
ऐठनजस्तो सपना ।

भन्थ्यौ ः
* त्यो आएपछि तिमी यसरी
*मेरो काखमा आएर घोप्टिने छैनौ ।

भन्थ्यौ ः
* त्यो हुरी भएर आउने छ
* तिमी पात भएर पच्छ्याउने छौ ।

भन्थ्यौ ः
* त्यो हिउँ र आगोभन्दा पनि बढ्ता
* छोइने भएर आउने छ ।

सुनेर तिम्रा सपनाका कुराहरू
मनमा आशा पलाएको थियो
रहर रमाएको थियो
उसको लामो प्रतीक्षा थियो ।

धेरै कालपछि
मानिसहरूले भन्न थाले
ऊ त्यो आउन लागेजस्तो छ
जंगलमा आँधी पसेजस्तो छ
गाउँमा सन्नाटा छाएजस्तो छ
सहरमा हुलमाल मच्चिएलाजस्तो छ
हो ऊ आउन लागेजस्तो छ ।

हामी कत्ति रमिते भएर उसको
आगमन पर्खेर बस्यौँ ।
कति भाइहरू उसलाई लिन
परैसम्म गएका उतै हराए
* आगो जस्तो छोइनेलाई
छुन गएका उतै डढेर खरानी भए
* हिउँ जस्तोलाई
छुन गएका उतै कठांग्रिएर मरे ।

आमा !
ऊ त जंगलमा तिम्रै सपनाजस्तो थियो भन्थे
सहरमा आइपुग्दा
ऊ त कसैले नचिन्ने भएर आएको थियो ।
उसका हातमा हतियार पनि थिएन अधर्मसँग लड्ने
उसका कम्मरमा बाँसुरी पनि थिएन प्रेमसँग गाउने ।

ऊ त
इतिहासका अनगिन्ती सम्झौताहरूमा
जलेको कालो ठुटो थियो ।
ऊ केवल ठूलो ठूलो स्वरमा बोल्थ्यो
तर त्यो आवाज तिम्रो हृदयको थिएन ।

उसले त बेकारमा तिमीलाई रुँघिबसेका
हामीमाथि पो प्रहार गर्यो
मात्र हामीलाई झिल्स्यायो
मात्र हामीलाई डढायो ।

किन देख्यौ आमा !
तिमीले त्यस्तो सपना ?
ऐठनजस्तो सपना !

(* गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताका शब्द)
नेपाल साप्ताहिक अंक ४६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *