परार साल सँधेरीले साँध मिच्यो,
सँधेरी न हो मर्दा पर्दा काम लाग्छ,
त्यसलाई मैले विनासर्त सहिँदिएँ ।
पोहोर साल छिमेकीले करेसाबारी नष्ट पार्यो,
करेसाको भूत टाढाको देवता भन्छन्,
छिमेकी हो, कामै लाग्ला,
त्यसलाई मैले निसर्त सहिँदएँ ।
यसपाला त जन्मभूमि लुछ्न थाल्यो,
चाहे छिमेकी नै किन नहोस्,
झोलीको इष्ट नै पो परोस् कि,
हदको नि सीमा पो हुन्छ त,
सीमाविहिन सीमा लुछ्ने ?
त्यसै त्यसै मन फुलेर आउँछ,
खिया लागीसकेको सिरुपाती खुकुरी,
आफ्नै दापमा नअटेझैँ अटेस मटेस गर्छ,
चिटचिट पसिनाले आगो कहाँ निभ्थ्यो र ।।
