म हिँडेको बाटो
म हिँडेको बाटो छोटो होस्
म कुदेको लक्ष्य नजिकै होस्
किनभने मेरी कान्छी यति बेला
म हिँडेको बाटोमा
म कतै देखुन्छु कि भनी हेर्दै होली
मेरी कान्छी यति बेला
मैले सोचेको लक्ष्यमा
म पुगेँ कि भनी
अनुमान लगाउदै होली।
तर किन त्यस्तो हुन्थ्यो र !
म त धेरै लामो बाटो पो हिँड्न पुगे
खोलाको डिलैमा उभिएर
मेरी कान्छीले कति नापी होली मेरो पद चाप
तर किन स हज हुन्थ्यो र !
बारीको छेउनेर उभिएर कति बिताई होली समय
मेरी कान्छीले सम्झदै मेरो बाङ्गो टिङ्गो लक्ष्य।
मेरो नमिलेको जिउडालमा
मेरो नकोरेको कपालमा
खै के जादु थियो र त्यस्तो?
तर यसैमा मेरी कान्छीले
एउटा मायाको फुलबारी भेटी
कालो, डरलाग्दो, मैलो मान्छेसित
मेरी कान्छीले हाँसी हाँसी माया टाँसी
र मुग्लान म लाग्दा
मेरी कान्छी धेरै कहालिई ।
अब म उडेको बादल माथि माथि जानुको सट्टा
तल तल झरोस्
म उडेको कुहिरो आकाशमा
मडारिरहनुको सट्टा बरु
तल भुईँसम्म आओस
र मेरी कान्छीले मेरो झुप्रो घरबाट
सजिलै देखोस् मेरो ख्याउटे अनुहार।
म हिँडेको बाटो
वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई
