Skip to content

देवकोटाप्रति अनावश्यक चासो (महाकविको कर्मघर)


घर अगाडिपछाडि ४-४ आना जत्ति चउर, तीन आना जत्तिमा माटोले लगाइको इँटको गारोमा ठडिएको ४ तले घर कर्कट पाताको छानामुनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कर्मघर ओतिएको । त्यसको झ्यालढोकाहरू देख्दा हाम्रो गाँउको गढीगाउँका बस्नेत मुखियाहरूको घरको झल्को दिने । अनेक चासो उर्लिरहेको मनसँगै त्यो घरमा म पहिलो दफा भित्रिँदै थिएँ ।

त्यहाँ भएका लुम्रेझुम्रे मान्छेहरूलाई देवकोटाको सन्तान ठान्दै म खिन्न हुँदै थिएँ । तिनीहरू डेरावालाहरू भएको कुरा पछि थाहा भयो । देवकोटाको निजी कोठा, त्यहाँ भएको खाट, टेबल, कुर्सी, दराज, पुस्तकको चाङ, निजी सामान र लुगाफाटा हेर्ने कुतूहलसँगै काठको भर्याङ उक्लँदै थिएँ । दोस्रो तलामा पनि डेरावालाहरू । त्यसै तलामा ‘देवकोटाप्रतिष्ठान’ को कार्यलयको दैलोमा ताल्चा गोठालो बसेको । तेस्रो तला पनि डेरावासीले भरिएको । सिरान तला हलजस्तो ह्वङह्वङ्ती । दोलखा, चरीकोट बस्ने ज्यामी कृष्ण दाहालसँगको चिनजानपछि बसेरै कुरा गर्न सुरिएँ ।

”हाम्रो देशको महाकवि (ठूलो मान्छे) को घर हेर्न भनेर आ’को नि ।”

“अँ ! अघि पनि थुप्रै मान्छे आ’का थिए । ठूलो केम्राले कोठा, भर्याङ सबै खिचेर लगे, ” कृष्णले जनायो ।

“सम्पत्ति नभएर सार्है दुःख पा’को कुरा मैले सुनेको, पढेको थिएँ । घर त ठीकै रै’छ ।”

“ए ! त्यसो पो । यत्रो ४ तले घर, ४-५ रोपनी जमिन (४-५ करोडको घर-जग्गा) भएको मान्छेले पनि दुःख पाएको सुन्दा त अचम्मैको कुरा सुन्नु पर्यो, ” उसले जिब्रो निकाल्दै बोल्यो ।

“भित्र भएको यो जग्गा । आनाको ४-५ लाख त जाँदो हो ।”

“आम्मै ! त्यतिमा पाए त पहाडको जग्गा बेचेर जसले पनि किन्थे । कम्तीमा यो जग्गालाई आनाको १५ लाख पर्छ ।”

“हुन त हो । १०-१२ फुटे बाटोले छुएको रै’छ ।” उत्तरपट्टिको झ्यालबाट देखिरहेको अढाई तले बङ्गला देखाउँदै मैले सोधेँ, “यो कस्को ?”

डा. पद्म देवकोटा

“देवकोटाकै छोरो डाक्टरको चैँ घर । कान्छाको ढलान गर्दै गरेको अलि उता छ। बाटो परतिरको घर चैँ छोरीको । ज्वाईँ कुजे थियो । खसिहाले । छोरो छैन । त्यो पनि छोराहरूले नै पाउने भए ।”

“अँ ! छोरीको घर त मामुलीको नै हो । काठमाण्डूमा यत्तिको घर धनीको भन्न सुहाउँदैन । तर छोरोको घर त गतिलै देखिन्छ । तै पनि त्यत्रो ‘महाकवि’ बाबुको थोत्रो घर सुकुमवासीलाई भाडा लाएर खानु पर्ने ? मेरो पनि अहिलेको घरलाई मेरो सेखपछि आफू नबसी भाडा पनि नलाउनु म भन्छु । तर छोरी, नातिनातिनीले यस्तै लोभ गर्ने होला नि । यो घरको हालत देखेर मलाई खुब सुर्ता लाग्यो । भाडा कत्ति छ यसको ?” मैले चासो लिएँ ।

“१२ सय तिर्नु पर्छ । सालन्ने बढ्छ ।”

“महिनै पिच्छे छेराउला नि भाडा त ?”

“अँ ! त्यसै हो तर २ महिना भो मैले तिर्न नसकेको । ४ तलामाथि पानी ओसार्दा चैँ एक परान जान्छ ।”

“भुइँचालो आयो भने त काँचो गारा ग्वरल्याम्मै ढल्छ नि ।”

“ढलोस् । मरियो भने गरिब नाथेको दुःखै लुक्छ ।”

“यत्रो चार तलामाथि पानी ओसार्नु पर्ने । भाडा पनि महँगै रै’छ । किन यहाँ बसिराखेको ?”

“जहाँ गए पनि यस्तै हो भाडा । यहाँ दाउराले भात पकाई खानु पाइन्छ । दाउरा किन्नु परेको छैन । खोजखाजले चलिराखेको छ । कोठा ठूलो छ । तर उडुसको चैँ खुब बिगबिगी छ । गर्मीमा त गहत पोखिएजस्तो छापो भएर पो निस्कन्छ त ।”

उडुस सल्किने डरले मलाई सतायो । खाटबाट उठेर खडा भएँ । दर्कने झरी पछारिएर जस्तापाताको छाना बज्न थाल्यो । दिउसोको साढे २ मात्र बजेको भए पनि झरीबादलमा अँध्यारो घोप्टिएकोले घरको तस्विर खिच्ने मेरो सोच तुहिरहेको ।

भुइँतलामा तामाङहरू बसेको । भाडा १४ सय रे । अँध्यारो र चिसो छिँडीमा गुम्सिएको जिन्दगीहरू । हुन त अहिलेको मेरो घरको कोठासँग ती कोठाहरूलाई दाँजेर मिल्दैन । कर लागेपछि र बानी भएपछि मान्छेले धेरै कष्ट पचाउन सकी परान खुस्की जाँदैन ।

कृष्णले देवकोटाको छोरा डा. पद्म सरल भएको बताएकोले भेटेर जाने मन बनाएँ । मलाई कृष्णले डोर्याउँदै थियो । डा. पद्म देवकोटा (लक्ष्मीप्रसादको माइला छोरा) को घर कम्तीमा तीन आना जग्गामा उभिएको बङ्गलासिस्टमको अढाई तले, स्लोपमा बुट्टा नकाटेको घरले बाबुको घरभन्दा भव्यता प्रदर्शन गरिरहेको । बूढी र रोगी हाँसको पोथीजस्तो थोत्रो (कवाडीवालाले उठाउने बेला भएको) स्कुटर पेटीनेर झोक्रिरहेको । गार्डेनिङ्गको बन्दोबस्त विना नै फैलिएको ६ आना जति को घरपरिसर ।

कृष्णले बेलस्विच थिच्यो । उमेर ढल्किएकी महिला जाली खापा उघार्दै निस्किन् । मेरो काम कृष्णले बतायो । ५५ नाघेको लोग्ने मान्छे निस्के पछि मैले बोलेँ, “हजुर नै हो पद्म कि पदम देवकोटा ?” जहाँसम्म मैले ‘डाक्टर’ सम्बोधन गरिनँ । किन कि विद्यावारिधि गर्ने ‘डाक्टर’ साबको घुइँचो बढेकोले त्यो उपाधिप्रति मलाई बेसी श्रद्धा लाग्दैन ।

उनले स्वीकारे, “हो ।”

मैले दुई हत्केला जोडेँ । आफ्नो उदेश्य कहेँ । उनले देवकोटाको घर एउटा मान्छेसँग गएर हेर्न र त्यसपछि केही बेर कुरा गर्ने कार्यक्रम बताए । मैले उक्त घर हेरिसकेको जनाउँदा उनले आफ्नो घरभित्र पस्ने अनुरोध गरे ।

सामान्य सोफासेट, पर्दाले सजाइएको सामान्य आकारको सिटिङ्गरुममा हामी पस्यौँ । उनले मेरो परिचय मागे । मैले छोटकरीमा भन्नाको साटो विस्तृत वा असान्दर्भिक कुरा तन्क्याइरहेको थिएँ । त्यो मेरो ठूलो कमजोरी सुध्रिने सम्भावना न्यून थियो । नेपालमा जागिर खाएको, साउदीमा नोकरी गर्न जाँदा गोबर सोहोरेको, नेपाल फर्केर राजनीति, व्यापार र गायन चाखेर असफल भई पोहर पुसबाट साहित्यमा लागेको, संस्मरण लेख्न थाल्नको र उहिले कविता लेख्दालेख्दै थन्किएको कारणहरू छेउकुना लोते पाराले मैले उनीजस्तो हतारिएको त्यस्तो दिग्गज व्यक्तित्वलाई गनगनाइरहँदा उनलाई कत्ति झर्को र पट्यार लाग्दै थियो होला उख् !

मैले कहेँ, “६-७ कक्षा पढ्दा मैले लेखेको कविताको छेउमा साइँला दाजुले ‘उदेश्य के लिनु उडिछुनु चन्द्र एक’ । हुने बिरुवाको चिल्लो पात । महाकवि देवकोटाको स्थानमा पुग्ने कोसिस गर’ भन्ने लेखी मलाई हौसलाले उचाले ।”

मैले सोचेको भन्दा बिजोक अवस्थामा देवकोटाको कर्मघर पाएर हस्रङ्ग परेको बताएपछि उनले स्पष्ट पारे, “देवकोटा प्रतिष्ठान जाने बाटोको नाममा बाटो पिच गराएर आफ्नो स्वार्थ पुरा गर्ने तत्व मात्र चम्किन्छन् न कि प्रतिष्ठानको संरक्षणको लागि । गुठीको जग्गा पर्यो । ट्रस्ट बनाउने कानुन नेपालसरकारको जटिल रै’छ ।”

‘गरिमा’ मा छापिएको कविता पढ्नको लागि पल्ट्याउँदै उनीतर्फ बढाएँ । स्रष्टाले नै वाचन गरे राम्रो लाग्ने उनले जनाए । झिजो लाग्दो ढर्रासँग मैले वाचन गर्ने तयारी गरेँ-

बौलाउन नडराउनु पर्ने मैले
(एकोहोरिनु नै बौलाउनु )
महाकविजस्तो महान् बन्नु असम्भव म बौलाउन डराएमा ।
देवकोटाजस्तो … . ..

अनिधो, धक र चिनो नलाएकोले मैले थालेको नयाँ ढाँचामा वाचन गर्न सकिनँ । मैले शङ्का व्यक्त गरेँ, “देवकोेटाको बारेमा सुनेको कुराहरूको आधारमा मैले कवितामा उपमा राखेँ । तर उहाँले आफ्नो पागल कवितामा मैले सुनेको माथि उल्लिखीत प्रसङ्गहरू (जुन प्रसङ्गहरूले उहाँलाई पागल बताइएका थिए) कुनै उल्लेख गर्नु भा’को रहेनछ । मैले त अफवाह पो सुने छु कि जस्तो मलाई लाग्यो ।”

उनले तर्क राखे, “लेजेन्ड्री फिगर भए पछि नभएको कुराहरू पनि किस्साको रुपमा थपिँदै जान्छन् ।”

“हुन त हो । मैले सुन्दा भिन्न सुनेको हुन सक्छु । त्यसपछि मैले कसैलाई भन्दा स्वतः भिन्न हुन्छ ।”

“यो कवितामा दिइएको उपमाहरूले कतै देवकोटाको अपमान त भा’को छैन ?” मैले उनको राय बुझ्ने खोजेँ ।

“अँह । त्यस्तो मैले पाइनँ ।”

तर त्यहाँ देवकोटालाई ओल्च्याएको भावमा पनि बुझ्न सक्ने ठाउँ पनि छ । देवकोटाजस्तो हुर्दुङ्गे नभए पनि कमाइ गर्न भुल्ने गरी एकोहोरिएर सिर्जनामा नघोटिइन्जेल सफलता प्राप्त हुँदैन भन्ने कुराले अर्को मतलबमा देवकोटाको पक्कै अपमान भएको छैन ।

उनले सहमति गरे, “तपाईँले धेर कुरा भोग्नु भएछ ।”

“विविध कुरा भोग्दा लेखकलाई त लेख्ने खुराक मिल्छ रे । त्यत्ति चैँ मलाई फाइदा भयो होला ।” मैले आफ्नो महत्व बढाउन खोजेँ ।

मैले आफ्नो चाहना बताएँ, “म जाबोले त मैले बनाएको घरमा मेरो नामको प्रतिष्ठान सञ्चालन गर्ने र त्यसलाई म्युजियम बनाउने भन्ने चाहना लिन्छु भने त्यत्रो महाकविको घर भाडामा लाएर अपमान गर्नु भएन । हुन त तपाईँहरूको आन्तरिक मामलामा बोल्दा मेरो अर्घेलो हुन्छ । मेरो सेखपछि घर अगाडिको चोसो जग्गामा मलाई राख्नु भन्ने मेरो चाहनालाई एक जना भाइले तर्क दियो, “तिम्रो सन्तानले पछि चिहान मासेर घरजग्गा बेचिखानु पनि सक्छ ।”

त्यस घरलाई भाडा लगाएकोमा मैले असन्तोक पोखे, “हुन त तपाईँहरूको निजी मामला हो तर महाकविको कर्मघरलाई भाडा नलाउँदा नै उहाँप्रति सम्मान हुनेछ ।”

उनले प्रतिवाद गरे, “त्यसो होइन । मान्छे नराख्ने हो भने झन् त्यसको बेहाल हुन्थ्यो ।”

मैले देवकोटाको कर्मघरको संरक्षणबारे जोड दिइरहँदा र उनको बढी प्रशंसा गरिरहँदा मेरो विशेष स्वार्थ गाँसिएको शङ्का गरेझैँ उनले बोले । मैले सफाइ लिने जमर्को गरेँ, “मैले देवकोटालाई भर्याङ बनाएर चढ्नु छैन । उहाँ मेरो रोयल मोडेल हो । उहाँ मेरो रोयल मोडेल हो,” देवकोटाजस्तो हुर्दुङ्गे हुनाको लागि रोयल मोडेल नभएर एकोहोरिन र समर्पित हुनुको लागि मात्रै दोहोर्याईतेहेर्याई मैले त्यस्तो दाबी गर्दै थिएँ ।

उनले धेरै चोटि घडी हेरेको ख्याल गर्दा पनि मेरो गिदी तातिएर म कुरा रोक्न असमर्थ थिएँ ।

“कसो अरे ? गुठीको जग्गा, ट्रस्ट के भन्दै हुनु हुन्थ्यो नि ? त्यो घरको उचित संरक्षण चैँ हुनु पर्यो ।”

विश्वको दोस्रो सबभन्दा गरिब देशको महाकविको घर बेलायत र रुसजस्तो सम्पन्न देशहरूको साहित्यकारहरू शेक्सपियर र टल्सटायको घरको जस्तो संरक्षण खोज्नु एक दृष्टिले मेरो बेकुफी पनि हो ।

उनले उठेर छुट्टिन खोज्दै भने, “कुनै दिन तपाईँसँग फेरि बसेर विस्तृत बात मारुँला । हुन त म अति व्यस्त हुन्छु । त्यहाँ अर्को ठाउँ पुग्नु आधा घण्टा ढिलो भइसक्यो ।”

“मदन भण्डारी मरेपछि उनको भाइ प्रेम भण्डारीको बोली सुनेर पनि उनको अनुरागीहरूले सन्तोष लिन खोज्थे रे । त्यस्तै तपाईँको स्वर सुनेर महाकविसँग वात मारेझैँ लागिरहेछ । तपाईँ महाकवि देवकोटाको छोरा होइन त ?” खुस्केट पाराले सोधेँ ।

“हुँ ।”

“दुई भाइ उपचार गर्न नसकेर बितेको ! हजुर माइला हो ?”

“हो ।”

“कान्छा ?”

“न्युजिलैन्ड ।”

“उतै भासिएको होला हैन ? खोक्रो राष्ट्रवाद घोकेर धान्दैन त ।”

बाँडिने समयमा ‘हजुरहजुर’ सम्बोधनसँगै हात जोड्दै म बोल्दै थिएँ । किनकि मैले उनको अनावश्यक रुपमा समय लिएँ भन्ने ठानी पछुतोले मलाई डसिरहेको थियो ।

२०६४ साल कातिक
नोबेम्बर २००७

2 thoughts on “देवकोटाप्रति अनावश्यक चासो (महाकविको कर्मघर)”

  1. ठिस बुढा

    महाको कर्मघर
    नमस्कार !

    नेपालको एउटा ठुलो मान्छेको घरको कथाको भिडियो हेर्न पाउँदा खुशि भएं ।

    गजब !
    पढेको होईन, बरु हेरेको र सुनेको महसुस भयो – 3D फिल्म जस्तै ।

    निर्भीक राई र KBS दुवैलाई मुरि मुरि धन्यवाद ।

  2. I became very sad after
    I became very sad after reading this artical . Mahakavi Laxmi Prasad ko Apman ho . Rasta le kehi garna sake ko 6aina . satta & bhatta bhaya pug6a . yatra sahityakar & sahitik santha le barsik rup ma kebal aupa charikta matra apnau6an…

Leave a Reply to ठिस बुढा Cancel reply

Your email address will not be published. Required fields are marked *