मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव र उसले समाजलाई दिएका योगदानका आधारमा उसको व्यक्तित्वको निर्माण भएको हुन्छ । व्यक्तिको व्यक्तित्वलाई मुख्यतया आन्तरिक व्यक्तित्व र बाह्य व्यक्तित्वमा वर्गीकरण गर्ने चलन पनि छ । प्रदीपले सङ्घर्षशील भई साहित्यिक क्षेत्रमा गरेका विधागत योगदान र उनको शारीरिक बनोटलाई समग्रमा यसरी चिनाउन सकिन्छ ।

१ शारीरिक व्यक्तित्व
बालककालदेखि नै प्रदीप स्वस्थ रहँदै आएकाले उनको शारीरिक व्यक्तित्व सबल र आकर्षक देखिन्छ । उनका मुखाकृतिको रुप तथा सौन्दर्य चिटिक्क परेको छ । पुरुषहरूको उचाइ अनुरुप उनको उचाइ रहेको छ । गोरो रङ बाटुलो अनुहार ठूलो निधारमा साना चिटिक्कका आँखा तिलचामले कपाल तथा मध्यम आकारको शरीर उनको रहेको छ । स्वरमा मिठास प्रभावकारी र दृढ बोली ओजपूर्ण अभिव्यक्ति सामथ्र्य आदिले उनको सबल शारीरिक व्यक्तित्वलाई चिनाउन निकै ठूलो भूमिका खेलेका छन् । अरुलाई सदा सहयोग गर्ने सहयोगी भावना कसैसँग नलत्रिने स्वाभिमानी प्रवृत्ति जस्तै अप्ठेरामा पनि नडग्ने निडर चरित्र आफूले धेरै पटक जाँचेर हेरेपछि सत्य ठानेको कुरामा हठ गर्ने दरोपन उनको व्यक्तित्वको परिचय हो । मानिसको व्यक्तित्व निर्माणमा आनुवंशिक तथा वातावरणीय पक्षको पनि भूमिका हुन्छ । अर्घाखाँचीको स्वच्छ हावापानीले प्रदीपको शरीर तथा मन दुवै स्वच्छ बनाएको र घरको शिक्षित परिवेशले व्यक्तित्वका अन्य पाटाहरूको निर्माणमा सहयोग पुर्याएको देखिन्छ ।
रामप्रसाद प्रदीपले आफ्नो ६४ वर्षे लामो जीवनयात्राका क्रममा साहित्य-सृजना पत्रकारिताजस्ता क्षेत्रहरूदेखि लिएर समाजसेवा र राजनैतिक क्षेत्रमा समेत सक्रिय भूमिका पूरा गरिआएको देखिन्छ । यिनै विभिन्न क्षेत्रको संलग्नता र सक्रियताबाट उनको व्यक्तित्वका अनेक पाटाहरू निर्माण भएका छन् । उनका व्यक्तित्वका भिन्न-भिन्न पाटाहरूका बारेमा क्रमशः तलका उपशीर्षकहरूमा विवेचना गरिन्छ ।
२ साहित्यकार व्यक्तित्व
प्रदीपले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । गीत कविता नाटक भजन आदिमा उनको बेग्लाबेग्लै परिचय रहेको छ । त्यसैले उनमा बहुमुखी व्यक्तित्व पाइन्छ । प्रदीपको साहित्यिक प्रतिभा औपचारिक रुपमा २०२४ सालमा बनारसबाट प्रकाशित हुने बिहानी पख पत्रिकाबाट सुरु भएको हो । उनको साहित्यिक व्यक्तित्व नाटक गीत कविता गजल आदि विधामा विशेष रुपमा उठेको पाइन्छ । यसका साथै उनका केही अन्तर्वार्ता र लेखहरू पनि प्रकाशित छन् । यही साहित्यिक व्यक्तित्वका कारण उनी विभिन्न साहित्यिक संघसंस्थामा आबद्ध छन् । उनले पछिल्लो समय प्रगतिशील लेखक संघ नेपालको केन्द्रीय उपाध्यक्ष भएर आफ्नो साहित्यिक व्यक्तित्वलाई क्रमशः माथि उठाइरहेको देखिन्छ ।
वि.सं.२०१८ सालदेखि साहित्य सृजनामा संलग्न रामप्रसाद प्रदीपका पाँचवटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । उनका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू यस प्रकार छन्
१ पचास रुपियाँको तमसूक नाटक सहलेखन २०२८
२ मुलुकभित्र नाटक २०३०
३ विस्फोटन गीतसङ्ग्रह २०३६
४ उपहार गीतसङ्ग्रह २०४६
५ राजधानी गाइड पर्यटन जानकारी २०५०
६ बेलाको बोली गीतगजलसङ्ग्रह २०६३
१ नाटककार व्यक्तित्व
रामप्रसाद प्रदीपको स्रष्टा व्यक्तित्वमा सबभन्दा प्रखर व्यक्तित्व नै नाटककार व्यक्तित्व हो । गुणका हिसाबले बढी महत्वपूर्ण हुन पुगेका दुईवटा नाटकसङ्ग्रहमा प्रदीपले आफ्नो प्रतिभाको उत्कृष्ट परिचय दिएका छन् ।
पचास रुपियाँको तमसुक नाटक २०२८ सहलेखन नेपाली प्रगतिशील नाटकको इतिहासमा चर्चित नाटकका रुपमा स्थापित भएको छ । प्रदीपको साहित्यिक यात्राको यो प्रथम सहलेखन नाटक पनि हो । यसले उनको राजनैतिक स्पष्टतालाई देखाउछ । यसै गरी उनको मुलुकभित्र नाटकले समसामयिक नेपाली समाजको सजीव चित्र उतारेको छ । प्रदीपले जीवन भोगाइका क्रममा देखेका अनुभव गरेका र सुनेका यथार्थ कुराहरूलाई नाटकमा चित्रण गरेका छन् । त्यसैले उनका नाटकहरू नेपाली समाजका प्रतिविम्ब हुन् । यिनका पात्रहरू नेपाली माटोमा उभिन्छन् लेकाली हावाको सास फेर्छन् तापनि नेपाली कुसंस्कार कुविचार शोषण दमन र थिचोमिचो एवं अशिक्षाले कक्क्रिएर पीडा भोग्न बाध्य बनाइएका छन् । यति भएर पनि उनीहरू परिवर्तनमा विश्वास राख्दछन् र सुनौलो बिहानीको आशामा पूर्व फर्किन्छन् ।
समाजका विभिन्न पाटाहरूको उल्लेख गर्दा प्रदीपले आफ्ना नाटकमा युगीन यथार्थको चित्रण गरेका छन् । प्रदीपका नाटकमा नेपाली समाजका विकृतिहरूलाई देखाएर समस्याको चित्रणमात्र गरिएको हुँदैन समस्याको मूल जरोलाई सूक्ष्म रुपले देखाई त्यसको निराकरण गर्ने बाटो पनि देखाइएको छ । पात्रको मानसिक धरातलमा रुमलिनुभन्दा उसले भोगेका यथार्थलाई देखाएर गतिशील समाजका पछौटे रुपको चित्रण उनी गर्दछन् । उनका नाटकका पात्रहरूले परिवर्तनप्रति विश्वास राख्दछन् र आशावादी हुन्छन् । त्यसैले गतिशील जीवन नै सार्थक जीवन हो भन्ने उनका नाटकको प्रमुख सन्देश हो ।
२ गीतकार व्यक्तित्व
रामप्रसाद प्रदीपको आफ्नै साहित्यिक योगदानका क्रममा पनि गीतकार व्यक्तित्व दोस्रो स्थानमा पर्दछ । उनी आफूलाई सर्वप्रथम नाटककार अनि मात्र गीतकार भन्न रुचाउँछन् । उनका विस्फोटन २०३६ उपहार २०४६ र बेलाको बोली २०६३ गीतहरूबाट उनले आफूलाई कुशल गीतकारका रुपमा उभ्याउन सफल भएका छन् ।
उनको विस्फोटन गीत सङ्ग्रहमा वि.सं. २०३६ सालभन्दा अगाडिका गीतहरू समेटिएका छन् । हाल यो कृति अप्राप्य अवस्थामा रहेको छ । निरङ्कुश पाचायती राजनैतिक परिवेशलाई दृष्टिगत गर्दै यसका विरुद्ध लाग्नका निम्ति जनतालाई आह्वान गर्ने काम यस गीति सङ्ग्रहमा भएको उनी बताउछन् । राजनैतिक परिवर्तनका दिशामा लाग्नका निम्ति जनतालाई जागृत गराउने काम उनका गीतले गरेका छन् । तत्कालीन समयमा रामप्रसादका गीतहरूले जनतालाई सचेत गराउँदै निरङ्कुशताका विरुद्ध लड्ने हुटहुटी प्रदान गर्दथे ।
यसरी जागरणका साथै तत्कालीन परिवेशबाट जनताको मुक्तिको अपेक्षासहित प्रदीपका गीतहरू राजनीतिक चेतनाले ओतप्रोत रहेका पाइन्छन् । उनका गीतहरूले परिवर्तनको स्वर सुसेल्छन् र परिवर्तनको चाहना राख्छन् शोषित पीडित जनताको आवाजलाई बुलन्द गर्छन् । उनी पाचायतकालीन निरङ्कुश राजतन्त्रको विरोध गर्दै लोकतान्त्रिक स्वच्छ र समृद्ध नेपालको परिकल्पना गर्दछन् । दुःखी गरिब जनताहरूसँग हातेमालो गर्दै परिवर्तनका लागि जागरण फैलाउने काम गर्दछन् । यिनै उनका गीतसङ्ग्रहमा सङ्कलित गीतका विशेषता हुन् ।
३ कवि व्यक्तित्व
प्रदीपकै शब्दमा उनले १२ वर्षको उमेरदेखि कविता कोर्न थालेको भए तापनि बनारसबाट प्रकाशित हुने बिहानी पख पत्रिकामा वि.सं. २०२४ सालमा प्रकाशित गुलाफको फूल कविता उनको प्रथम प्रकाशित कविता हो । पछि चेतनाको विकास र क्रियाशील बानीले गर्दा उनले केही फुटकर कविता लेख्दै आएको देखिन्छ । प्रदीपको पहिलो कविता प्रारम्भिक लेखनको परिचय हो । यसमा उनका आभ्यासिक अवस्थाका भावना चिन्तन र दृष्टि मुखरित भएका छन् । एउटा नवयुवकका मनमा आशा निराशाले पारेका प्रभाव प्रेम विरह र पीडाका छटपटीहरूलाई उनले यस कवितामा आकर्षक ढङ्गले पोखेका छन् । उनका अभ्यासिक कविताहरूमा उनको स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छ ।
मार्क्सवादी चिन्तन र धरातलमा लेखिएका उनका कविताहरूले जीवनवादी दृष्टिकोण अँगालेको पाइन्छ । प्रदीपको विचार खारिँदै गएपछि कविताहरू पनि परिष्कृत बन्दै आएका र उनको दृष्टिकोण स्पष्ट र सुदृढ रुपमा प्रगतिवादी बन्दै आएको देखिन्छ । आफ्ना कविताहरूमा उनी सबै प्रकारका शोषण अन्याय र उत्पीडनका विरुद्ध उभिएका छन् । उनमा कलात्मक अभिव्यक्तिको क्षमता पनि प्रशस्त पाइन्छ । त्यसैले प्रचलित बिम्ब र प्रतीकहरूको प्रयोग गर्दै सहज रुपमा आफ्ना भावहरू प्रकट गरेको पाइन्छ । विशेषतः उनले वर्तमान समाजमा समाजले भोग्नुपरेका पीडा व्यथा र उत्पीडनलाई कविताको विषयवस्तु बनाएका छन् । यही नै उनको कवि व्यक्तित्वको पहिचान हो ।
४ गजलकार व्यक्तित्व
बहुमुखी प्रतिभाका धनी रामप्रसाद प्रदीपले गजल लेखनमा पनि कलम चलाएको देख्न पाइन्छ । रामप्रसाद प्रदीपले बुँद रानाको प्रेरणाबाट गजल लेख्न सुरु गरेको बताउँछन् । गजल लेखनको तिथि मिति हेर्ने हो भने बेलाको बोली सङ्ग्रहमा सङ्गृहीत २०५३ फाल्गुन १५ गते लेखिएको गजल नै पहिलो गजल हो । उनको पुस्तकाकार कृतिका रुपमा छुट्टै गजल सङ्ग्रह भने प्रकाशित भएको पाइँदैन । जेहोस् उनको बेलाको बोली २०६३ गीत-गजलसङ्ग्रह मा २३ ओटा गजल प्रकाशित भएका छन् ।
उनले गीत र नाटकहरूमा जस्तै गरी गजलमा पनि जनताहरूप्रति बेइमानी गर्ने र आफ्नो धरातल बिसर्िनेहरूलाई खबरदारी गरेका छन् । प्रदीपले गजलको विषयवस्तुका रुपमा देखेका सुनेका र भोगेका कुरालाई मात्र विषयवस्तु बनाएका छैनन् बरु आफ्ना मनभरिका पीडा पनि पोखेका छन् । बाटो बिराएकाहरूलाई सही बाटोमा हिँडाउने प्रयास गरेका छन् । परिवर्तनको लागि आवाज बुलन्द गर्दै नयाँवर्षसगै परिवर्तनको चाहना राखेका छन् । यतिमात्र नभइ अग्रज भानुको स्मरण पनि गरेका छन् । मूलतः राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको चाहना उनका गजलमा मुखरित भएको पाइन्छ ।
५ सम्पादक तथा प्रकाशक व्यक्तित्व
रामप्रसाद प्रदीपले वि.सं. २०३१ सालदेखि खसोखास साप्ताहिक पत्रिकाको सम्पादक भई काम गरेको अनुभव बताउँछन् । साथै उनले सिद्धार्थ दैनिक मा वि.सं. २०४० सालदेखि २०४१ सम्म सम्पादकको भूमिका निभाएको अनुभव सँगालेका छन् । वि.सं. २०४२ सालबाट ँराप्ती समाचार साप्ताहिक र वि.सं. २०४२ देखि खलिहान त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशकको भूमिका पनि उनले निर्वाह गरेका छन् । वर्ष २ अङ्क १ पूर्णाङ्क ३ श्रावण-आश्विन २०४४ को खलिहान त्रैमासिक साहित्यिक पत्रिकामा प्रकाशित सम्पादकीयलाई हेर्ने हो भने उनले प्रगतिशील साहित्य सृजनाको लागि सम्पूर्ण सर्जकहरूलाई आग्रह गरेको पाइन्छ । यसरी के भन्न सकिन्छ भने प्रगतिशील साहित्य सृजनाका लागि प्रदीप स्रष्टाहरूका पथप्रदर्शक भएर पनि आफ्नो व्यक्तित्वलाई उठाएका छन् । विशेषतः उनका सम्पादकीयहरूमा उनले समसामयिक जीवन र जगत्का जल्दाबल्दा समस्याहरूको विश्लेषण गरेका छन् ।
३ राजनैतिक व्यक्तित्व
रामप्रसाद प्रदीपको नाटककार गीतकार सम्पादक तथा पत्रकार व्यक्तित्वको मुहान राजनीति नै हो । कुनै पनि व्यक्ति एउटा न एउटा विचारबाट निश्चित रुपमा प्रभावित हुन्छ र त्यही विचारले उसको जीवनलाई क्रियाशील पनि बनाउँछ । रामप्रसाद प्रदीप मार्क्सवादी सिद्धान्त र विचारबाट प्रभावित भई २०२३ सालदेखि पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न भएका थिए । उनी २०२७ सालदेखि यस पार्टीको रुपन्देही जिल्ला कमिटी सदस्यका रुपमा क्रियाशील भएको उनी बताउँछन् । २०३४ सालदेखि उनी ने।s।पा। मालेको सांस्कृतिक फाँटमा संलग्न भई काम गर्न थाले । २०२७ सालदेखिको पार्टीगत संलग्नताबाट उनको राजनैतिक व्यक्तित्वको निर्माण भएको छ र यसैबाट उनको नाटककार गीतकार गजलकार तथा सम्पादक व्यक्तित्व पनि प्रभावित र प्रेरित बन्न पुगेको देखिन्छ । उनको गीतकार एवं नाटककार व्यक्तित्वलाई निर्दिष्ट लक्ष्य दिनका लागि राजनैतिक व्यक्तित्वले यथेष्ट सघाउ पुर्याएको छ । यही राजनैतिक संलग्नताकै कारणबाट उनी हाल नेपाल कम्युनिस्ट पार्टी एमाले को केन्द्रीय सम्पर्क विभागको सदस्यका रुपमा सक्रिय रहँदै आएका छन् ।
४ निष्कर्ष
रामप्रसाद प्रदीपको शारीरिक बनोट आकर्षक रहेको छ । मिजासिलो स्वभावका प्रदीपले कठीन परिस्थितिमा पनि साहित्य सिर्जना गर्ने गरेको पाइन्छ । उनको भित्री स्वभावलाई चिनाउनुपर्दा गरिब दुःखीहरूप्रति समर्पित हुने व्यक्तिका रुपमा देखिन्छन् । नाटककार गीतकार गजलकार कवि सम्पादक एवं प्रकाशक राजनीतिकर्मी र जागिरे आदिका रुपमा उनले समाजलाई दिएको योगदान उलेख्यनीय रहेको छ । नेपाली भाषाप्रतिको मायाले उनको व्यक्तिगत जीवनभन्दा साहित्यिक र सामाजिक जीवन बढी ओजपूर्ण रहेको पाइन्छ । संघर्षपूर्ण जीवन विताउँदै आएका प्रदीपले सामाजिक यथार्थवादी प्रगतिवादी दर्शनको दोभानमाको सम्मिलनबाट जीवनलाई परिभाषित गर्दै सामाजिक व्यवस्थालाई प्रगतिशील दृष्टिले हेर्ने गरेका छन् ।
प्रदीपले कठीन दिनहरूमा पनि स्वार्थपूर्तिका लागि कहिल्यै नराम्रो बाटो रोजेको देिखँदैन बरु उनले कठिन परिस्थितिमा पनि राजनीतिबाट जनजागरण फिजाउने र साहित्यबाट समाजमा वर्गीय द्वन्द्व रहेको देखाउँदै शोषक चुसाहावर्ग प्रति घृणा र गरिब जनताहरूप्रति करुणा र उन्मूक्तिको स्वर सुसेल्दै आएका छन् । हाल उनले ६४ वर्षको उमेरसम्म नेपाली साहित्यमा २ वटा नाटक सङ्ग्रह ३ वटा गीत सङ्ग्रह र पर्यटन सम्बन्धी जानकारीमूलक पुस्तक राजधानी गाइड गरी आधा दर्जन पुस्तकाकार कृतिहरू नेपाली साहित्यलाई सुम्पिसकेका छन् । उनका यी कृतिहरूमध्ये विस्फोटन गीत सङ्ग्रह अप्राप्य रहे पनि उनका अरु सबै कृतिहरू प्राप्य छन् । कविता तथा गजल लेखनमा समेत कलम चलाएका प्रदीपले गजल सङ्ग्रह र कविता सङ्ग्रहको छुट्टै पुस्तकाकार कृति प्रकाशन गरेको देिखंदैन । पत्रकारितातर्फ पनि रुचि राख्ने गरेका प्रदीपका सम्पादकीय लेखहरू समेत प्रकाशन भएको पाइन्छ ।
व्यक्तित्व र कृतीत्वको अध्ययन त्रि.वि. शोध पत्र २०६८, साहित्यकार रामप्रसाद प्रदीपको जीवनी
