भाषाको मानक तयार गर्नु भनेको संविधान बनाउनु जस्तै हो। यसले भाषाका भोक्ताहरूको भावना र स्रष्टाहरूको विपुल सम्भावनालाई आत्मसात् गर्न सक्नुपर्छ।
+++++++++++++++++++++++++++
“घाँसी कुवा बाठा मगरले बनाएका हुन्!”
केहीअघि नेपाली भाषामाथि पूर्वाञ्चलमा भएको छलफलमा आफ्नो पालो आउनासाथ गीतकार शिवशङ्कर थापा मगर टेबुल ठोक्दै यसरी कुर्लिएपछि मैले भानुभक्तका जनाति प्रा. व्रतराज आचार्यलाई खुसुक्क सोधें, “नयाँ कुरा आयो नि सर?”
“कुवा भएको जग्गा हाम्रा पुर्खाको हुनुभन्दा अघि पन्थ-अर्यालहरूको थियो रे! तिनैले बनाएको भन्ने छ”, प्रा. आचार्यले भने।
आदिकविले घाँसीले खनाए… मात्रै भनेर गए, नाम दिएनन्। नेपालको अधिकांश इतिहास यसरी नै विवादित छ। घाँसी कुवा कुनै बाठा मगरले, अर्यालले, आचार्यले वा अरू कसैले पनि खनाएका हुनसक्छन्। उतिबेला कुन बाहुनले कुवाका लागि कुटो-कोदालो चलायो होला र! भन्ने समाजशास्त्रीय तर्क पनि आउन सक्ला। तर अब त्यो कुवा न मगरको भयो न त बाहुनको नै रह्यो। त्यो त राष्ट्रको भइसक्यो। नेपाली भाषा पनि त्यस्तै हो। कसैले अब यसलाई न मेरो मात्र हो भन्न सक्छ न त मेरो होइन भन्न नै।
केही समययता नेपाली भाषाका प्रशासकहरूले चलाइरहेको जुहारी भने बडो उदेकलाग्दो छ। त्रिवि अन्तर्गत नेपाली भाषाका स्वनामधन्य भाषाशास्त्रीहरू र यही भाषाको भोगचलनबाट जीविकोपार्जन गरिरहेका चल्तीका लेखक-पत्रकारहरूबीच चलेको विवादमा पीडितचाहिँ हामी जस्ता भाषाका सामान्य विद्यार्थी र प्रुफरिडरहरू हुने निश्चित छ। यो विवादको प्रकृति आजसम्म भएका भाषा-भाषिका विवादहरूको प्रकृतिभन्दा उल्टो छ। भाषाशास्त्रीहरूको मोर्चामा लेखक-पत्रकारहरू उभिएका छन्। एकथरी लेखक-पत्रकार पुरानै हिज्जे, शब्द, चिह्न र त्यसका अर्थहरू बोकेर कुर्लिरहेका छन् भने अर्कोतिर कुनै प्रयोग उन्मुख तर अराजक नयाँ कवि झै भाषाशास्त्रीहरू शब्द भाँचेर, अक्षर फालेर, चिह्न उल्ट्याएर उग्र क्रान्तिकारी बनिरहेका छन्; आफ्नो चरित्र र योग्यता विपरीतको यस्तो हर्कतको परिणाम सुखद् हुने छैन भनेर जान्दाजान्दै पनि।
एक दिन नारद सत्यलोक पुगिगया… यो रामायणकालीन उत्कृष्ट नेपालीको पुगिगया आज प्रयोगहीन र अशुद्ध भएको छ। राणाकालमा चाकरीको अर्थ जागीर वा अवसर थियो, आज बद्मासी हुन पुग्यो। नेपाली समाजमा शब्दार्थको
यस्तो कायाकल्प कुनै भाषाशास्त्री वा लेखक-पत्रकारले रातारात गरेका हैनन्। अहिले उठेको ह्रस्व-दीर्घ, पदयोग-वियोग, तत्सम-
तद्भव-आगन्तुक, थोप्लो, तर्कुले-बर्दनेको विवाद सामान्य होइन। संसारभरि छरिएका करोडौं नेपाली जातिलाई संवाद गराइरहेको र सोझ्ै राष्ट्रियतासित जोडिएको राष्ट्रभाषामाथिको विवाद हो, यो। यस हिसाबले यो राजनीतिक मुद्दा पनि भयो। यतिबेला हाम्रा नेताहरू के सोचिरहेका होलान्? मलाई भने दार्जीलिङका प्रसिद्ध नेपाली साहित्यकार इन्द्रबहादुर राईसितको भेटको सम्झ्ना भइरहेछ। अंग्रेजीका प्रोफेसर भएर पनि नेपाली भाषाका योद्धा रहनसकेका राईले त्यसबेला कुरैकुरामा भनेका थिए, “ए श्रवण भाइ, यो नेपाली भाषा बाहुनको जस्तो मात्र भयो, यसलाई कसरी समग्र नेपाली जातिको बनाउने होला!”
सँगसँगै उनले यो भाषालाई सबै नेपालीको साझ्ा भाषा बनाउन यसका सेवकहरूले फराकिलो छाती पारेर मिहिनेत गर्नुपर्ने पनि बताएका थिए। जस्तो; जुम्लीले, तामाङले, थारूले या त महाकुलुङका राईहरूले नेपाली भाषालाई कसरी आफ्नो जीवनपद्धतिसित जोडेका छन्? त्यसको गम्भीर अध्ययनविना अथवा नेपालका सामाजिक भाषिकाहरूको मर्म नबुझ्िकन नेपाली भाषाको मानक तयार हुन सक्छ? इन्द्रबहादुर राईको भनाइभित्रको एउटा गुदी यो पनि हो। तर आज नेपाली भाषा साहित्यका मठाधीशहरू कुनै गम्भीर विमर्श वा बलियो सैद्धान्तिक आधारविना नै शब्द, अक्षर र संकेतहरूको हुर्मत लिने खेलमा लागेका छन्। नेताहरूले झै यिनले पनि भाषा-साहित्यभित्र वाणिज्यशास्त्र घुसाइरहेका त छैनन्?
भाषाको मानक तयार गर्नु भनेको संविधान बनाउनु जस्तै हो। यसले भाषाका भोक्ताहरूको भावना र स्रष्टाहरूको विपुल सम्भावनालाई आत्मसात् गर्न सक्नुपर्छ। संविधान जस्तै भाषा पनि अपरिवर्तनीय हुँदैन। तर, जनताका आकांक्षालाई बढी आत्मसात् गरेको संविधान धेरै टिकाउ भए जस्तै प्रयोगकर्ताको आवश्यकता समेटेको मानकले बढी हार्दिकता पाउँछ। आजका नेपाली प्रयोगकर्ताहरूले भाषाको राज्यमा आफ्नो परिचयसहितको उपस्थिति खोजेकै पनि छन्।
हिमाल खबरपत्रिका
वर्ष २२, अङ्क ०१
पूर्णाङ्क ३०८
