यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि
बिसे नगर्ची बहुलाएछन्
उनले महाराजको सेवा गर्न भुलेछन्
दरौदी उल्टो बगेको देखेछन् ।
त्यो बेलाका एउटा महाराजलाई
“राज्य कस्ले बनायो
राजाले कि प्रजाले?” सोधेछन् ।
युद्धमा शहीद तिम्रा सन्तान मात्र भए कि
मेरा सन्तान पनि मारिए भन्दै
हिसाब खोजेछन् ।
तर महाराजहरू
मलाई अढाई सय वर्ष कुर्न परेन
म त पन्ध्र वर्षमै बहुलाउने भए
सुल्टो बगेको महाकालीको
शिर नै कता हो देख्दिन
कर्नाली र गण्डकीबाट
अपार बिजुली निकाल्ने पानीमा
आफ्नै अधिकार देख्दिन
सुनकोशीको बालुवामा सुन देख्दिन
दैलेखको खानीमा पानी देख्छु तेल देख्दिन
आफ्नै दाजुभाइ सिमानामा लुटिदा
पराईको सिपाहीबाट दशगजामा कुटिदा
तमरा भाषणमा गर्जेर भन्ने गरेको
स्वाभिमान नै देख्दिन
तिमीले भन्ने गरेका महान उपलब्धिहरुमा
यी आमा कहिल्यै हाँसेको देखिन
राजन ! हम पनि बौलाया हुन कि ?
अब मलाई पनि सोध्न मन छ
राज्य हजुरहरुको कि मेरो पनि
सोध्न मन छ
बाँच्ने अधिकार हजुरका सन्तानको मात्रै कि
निमुखा रैतीहरुको पनि
जान्न मन छ
एक छाक तमलाई आवश्यक कि
मेरो भोको पेटलाई पनि
तिमी जहाज चार्टर गरी आकाशमा उड्दा
बाटोमा घस्रिने आज्ञा छ कि,
चिरा परेका मेरा खाली खुट्टालाई पनि ।
जसले हाम्रो सिमाना मिचेको मिच्यै छ
बेला बखतमा नाकाबन्दी लाएर थिचेको छ
ठुलदाइ हु भन्दै हेपेको हेप्यै छ
जङ्गी पिल्लर पनि आफूखुसी सारेकै छ
उसैको देशमा सीमा रक्षक हाम्रा युवा छन्
उसका दुश्मनसँग लडेर ज्यानै अर्पेका छन्
अनि उपमा पाएकाछौ वीर बहादुरको
तर पनि कतै बहादुरी देख्दिन ।
र त
ती बीरताको कदर गर्न पनि जान्दिन
रगत त आखिर आफ्नै दाजुभाइको बगेको हो
त्यो बिरतामा म गर्व नै गर्दिन
राजन ! हम पनि साच्चै बहुलाया हुन कि ?
साच्चै बहुलाया हुन कि ?
भत्काइएको जाबो मन्दिर न मस्जिद न हो
लडाइएको हिन्दू र मुस्लिम न हो
चिरा पार्ने कोसिस गरेको तराई पहाड बीच न हो ।
यसरी भाइभाइ लडाएर
आफै मध्यस्थता गर्न आउने
महान शान्तिदूतहरुलाई
बालुवामा घोटेर रेखा मेटिन लागेका
यी हातले सेवा सत्कार गर्न अटेर गर्ने
साच्चै राजन ! साच्चै हम पनि बहुलाया हुन कि ?
