जातै पिच्छे टुक्रा टुक्रा बन्दै छ रे देश हाम्रो
मलाई बचाऊ हे सन्तति भन्दै छ रे देश हाम्रो
त्यत्रो भीषण युद्ध भयो आलै छन् यी घाउ पीडा
अझ्रै भन्छन् मुर्खहरू ठण्डै छ रे देश हाम्रो
छ सय एकको जम्वोले तीन बर्षदेखि नै
नयाँ नेपाल बनाउँन खन्दै छ रे देश हाम्रो
कुर्सी निम्ति लड्दा लड्दै बिते सारा म्यादहरू
संविधान बन्ने मिति गन्दै छ रे देश हाम्रो
स्याहार धेरै बाकी नै छ निको नभा’ बिरामीझै
अझै पनि ऐया ऐया भन्दै छ रे देश हाम्रो
