नेताजीको आजभोलि देखिदैछ शान ठुलो
जति शान झारेपनि छैन किहं मान ठुलो ।
गाँस बास कपासको आशा गर्दै वित्यो जुनी
नेताजीलाई अँझै पनि बनारसी पान ठुलो ।
भ्रष्टाचार गरी गरी कमाएको धन सम्पत्ती
कालो धन सेतो पार्न गर्छन् उनी दान ठुलो ।
जनतालाई साँझ बिहान छाक टार्न गाहारो छ
उनलाई भने पाँचतारेमा परिकार खान ठुलो ।
सारङ्गीझैँ पेट लिई राष्ट्र उत्थान गर भन्छौँ
कहिले भन्ने नेताजीले भोको पेटका गान ठुलो ।
मुकुन्दप्रसाद भट्टराई
