अक्षरहरूको शब्दास्त्र

  • by
20111206_RamBikramThapa_JagaiChha


पाथेका-२, खोटाङमा जन्मेर राजधानीलाई कर्मस्थल बनाएका युवा सर्जक हुन्-बम बानिया ‘प्रभात’ । उनन्चालीस गद्य कविता सङ्गृहीत, सद्य (२०६८) प्रकाशित बम बानियाको प्रथम पुस्तकाकार कृति ‘जागेै छन् शब्दहरू’ लाई असी पृष्ठमा रू १००।- मूल्य राखेर प्रकाशित गरेको छ- रावासावा प्राज्ञिक समाज नेपालले । समयसापेक्ष वर्तमान सन्दर्भको जीवन, जगत र राजनीतिलाई निर्भीक भएर उठान गरिएका यी कविताहरू विकृति र विसङ्गतिप्रति खवरदारी बोल्ने समयस्वरहरू हुन् । ‘घण्टाघर र प्रजातन्त्रको भित्तो’ बाट प्रारम्भ भएर ‘फेसबुक’ मा अन्त्य हुने समीक्ष्य कवितासङ्ग्रहका घण्टाघर र प्रजातन्त्रको भित्तो, सहर पस्छन् कविताहरू, ढाडी र भोकाहरू, म नयाँ घर निर्माणको अठोटमा छु, पानी खोटाङमा तिर्खा काठमाडौंमा, हतियार आफैँ असुरक्षित छ, घाम नाङ्गै छ , कोखामा दारा र मच्छडहरूको भेला शीर्षकीय कविताहरूलाई प्रत्याकर्षणका दृष्टिले राम्रा कविता मान्न सकिन्छ । अरु बाँकी कविताहरू पनि छिः भन्ने खालका छैनन् ।

नवोदित कवि बम बानिया ‘प्रभात’ का कवितामा स्वतन्त्रताको गीत, अग्रगामी सोच, जीवनप्रतिको आशावादिता विश्वव्यापी मानवतावाद, भ्रष्टाचार र विकृतिप्रति प्रहार एवम् व्यङ्ग्य, समतामूलक समाजको कामना, जन्मस्थल खोटाङको ताजा सम्झना, बेरोजगारी समस्या र आधुनिक प्रविधिको चमत्कार जस्ता विविध भावभूमिका सन्दर्भहरू पाइन्छन् । गणतन्त्रात्मक र अग्रगामी नयाँ नेपालको कामना गर्दै ‘म नयाँ घर निर्माणको अठोटमा छु’ कवितामा बानिया बोल्छन् ः

यो नयाँ घरमा
हजुरबाले बिर्खे दमैलाई रोक्ने छैनन्
काका, बाउले साहिली सर्किनी हेप्ने छैनन्
नयाँ घरमा चुलामुनि र माथिको सिमाना हुँदैन

अरुलाई छाया र भोक बाँड्दै घाममा बसेर आफू फल खाने नेताहरूको कुकृत्य छ । आफू शिरमा बसेर देशलाई भीरमा पार्ने र आफू दोसल्ला ओढेर मातृभूमिलाई कुहिरो ओढाउने कथित भलाद्मीहरूको चित्रण छ । काठमाडौँको काकाकुल आत्मा सपनामा खोटाङ पुग्छ र प्यास मेटुन्जेल पानी पिउँछ । सशस्त्रहरू नै निशस्त्रहरूभन्दा बढी असुरक्षित र खतरापूर्ण अवस्थामा रहेको कुरा कविताकै हरफहरूमा पाइन्छ । अरुको पीडानुभूति पनि कविलाई सुखानुभूति हुन्छ भन्ने कविहरूको अनुभूतिलाई बानियाले पनि अनुभूत गरेका छन् । धनी देशका हामी गरिब नागरिकहरूको गाढा भोगाइ र यथार्थ अनुभूतिलाई ‘बहुरङ्गी समय’ मा बम लेख्छन् ः

तलब थाप्ने बेला
कहिल्यै महिना मर्दैन
तर कति चाडो आयो
भाडा तिर्ने दिन ?

कति सुन्दर र आममान्छेको साझा कुरा । तर यहाँ कविताको भाषा (शिल्प) अलिक भएन कि ? छपाइ अशुद्धिकरण, अङ्ग्रेजी शब्दको प्रयोग, फितलो र दुब्लो अभिव्यक्तिलाई यो कवितासङ्ग्रहका कमजोर पक्ष मान्नु पर्छ । कविताका भावभूमि (विषयवस्तु) यथार्थ र सान्दर्भिक भएर पनि शिल्प पक्ष कमजोर भएकाले कविताका मर्मज्ञ र संवेदनशील पाठकहरूलाई कला पक्षको अभाव खट्किनु अस्वाभाविक होइन । कविता भनेको कलापूर्ण अभिव्यक्ति हो भन्ने कुरालाई हामी सर्जकहरूले आत्मसात् गर्नु पर्दछ । उपयुक्त विम्ब, प्रतीक र अलङ्कारयुक्त कविता नै वास्तवमा खाँटी कविता हुन्छ । ख्यालख्यालमा, हतारमा लेखेर हतारमा छाप्ने वस्तु हुदै होइन कविता । नेपाली कविताको क्षेत्रमा एउटा सान्दर्भिक उपस्थिति हो उदीयमान कवि बम बानिया ‘प्रभात’ को “जागै छन् शब्दहरू” । अक्षरहरूको यो शब्दास्त्रले सरोकार पक्षलाई झटारो हानेर काँडालाई भाँच्ने छ र पाकेको फल झार्ने छ भन्ने आशा गर्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *