क्यान्भासभित्र मेरो देश


चरीको व्यथाको तानसँगै
उषाको लालीमा
समय शित भएर तप्केपछि
स्वर्णिम बिहानी घामका पर्दाहरू उघारेर
सगरमाथाको टुप्पोबाट
कलाकारको
कलारुपी क्यान्भास
म र मेरो देश
सगरमाथाको देश
बुद्ध अनि सीताको देश
हृदयको ढोकाबाट
एकतकले
क्यान्भासमा
नियल्दछु,
हेर्दाहेर्दै त्यसका सब रंग
बिलिन भई
केवल रक्ताम्य
रंगिन देखिन्छ,
आलो रक्तमा
लत्पतिएको
नचिनिएको
एक रंगिन तस्बिर
जहाँ प्रत्येक मानिसहरू
सल्बलाई रहेकाछन,
छितर बितर
फुलेका लालीगुरासहरू
आज आफ्ना रंग
गुमाइरहेका छन्,
क्यान्भासका
प्रत्येक मनुषका
छातीमा पहिरो
अनि,
आशामा डढेलो लाग्छ,
तैपनि आफन्त मारी
पुरुषार्थ देखाउने
वीर भनाउदाहरू
कानमा तेलहाली
कुम्भकर्ण सरि निदाइ रहेका छन्
खै कसरी बुजाऊ
बुज्नेलाई
कोहि त उठ २
कोहि त सुन् २
मेरो देश आज
लम्पसार निदाइरहेको बेला
मलामीहरू खोजिरहेका छन्
आलो रक्तको डुबानबाट
अस्तित्व बचाउन
मञ्जु श्री को खोजीमा छन्
कृपया अब त यो नरसंहार रोक
यसले मेरो गला रेट्छ
अनि परिवारका पेटहरू
भोकाएका हुन्छन
केवल रंगिन क्यान्भासले
अर्को क्यान्भास लेख्न
मेरो देशको क्यान्भास भर्न
प्रकृति तर्फ नियाले
तर
अफसोच
सगरमाथाको शीर
आज झुकेकोछ
कहिले नउठ्ने गरी
फेरी मनलाई शान्त पार्न
डांफेको नॢत्यको रौनक
कोहिलिको सुमधुर संगीत
तर मेरो दुर्भाग्य
गोलिले डांफेको पाइला खुस्किन्छ
बम अनि बारुदको गन्धले
कोहिलिको गला सुकेकोछ
यस अन्यायेलाई खप्न नसकी
न्यायको आशामा
स्वयम्भूको अगाडि
झोली फैलाउछु
तर,
स्वयम्भूको बुद्धका आँखाले
रगतका बलिन्द्र धारा बहाउँदै
मलाई एकोहोरो टोलांउछ
सोचें,
खैं
के उतार्ने
मेरो देशको क्यान्भासमा
ती,
तुँवालो भित्रका सपनाहरू
त्सैले,
हे कलियुगका
बुद्धका नास्तिकहरू
कति बगाउछौ आमाका ती
आश्रु धारा
बालक टुहुरा
बिधुवा दिदी बहिनीको
चोलो फाटेको बेला
भो युद्ध अब रोकिदेऊ
शान्तिको बिगुल फुकिदेऊ
किनकि,
यसले आजकल
मेरो क्यान्भासमा
कुनै प्रतिबिम्ब बन्दैन
कुनै चित्र उतारिदैन
केवल रक्ताम्य रंगिन भैदिन्छ २

यो कविता मैले द्धन्द कालमा लेखेको हो …………

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *