Skip to content

म देशबाहिर छु


फेसबुक सन्जालको दैनिकीमा
हमेसा मलाई सोधिने प्रश्न
एउटै किसिमका हुन्छन,
आजकाल कहाँ हो ?
सबैलाई फर्काउने जवाफ
मसँग नि एउटै हुन्छ,
हजुर ! म त देश बाहिर पो छु ।
बडो असहज
जवाफ दिदै हुन्छु म ।
शरमले सिर झुकेको आभस् हुन्छ ।
स्वाभिमान बन्दक राखेर
आफूले आँफैलाई ..
अपमान गर्दै छु झै लाग्छ ।
तर सत्य
म देश बाहिर छु-बिदेशमा ।

घरभन्दा धेरै टाढाबाट,
परिवार भन्दा धेरै टाढाबाट
जन्मभुमी भन्दा धेरै टाढाबाट
कहिलेकाहीँ कुराकानी हुँदा..
बुढी आमा !
कस्तो छस छोरा ? भन्नु हुन्छ ।
मलाई ठिकै छ आमा भन्छु ।
सानी छोरी !
कहिले आउनु हुन्छ पापा ? भन्छे ।
म छिट्टै आउछु छोरी भन्छु ।
सानो छोरा !
छिट्टो आउनु है पापा भन्छ ।
म आउन लागे छोरा भन्छु ।
मेरी उनी !
आफ्नो ख्याल गर्नुस् है भन्छिन ।
म हुन्छ भन्छु ।
सबैको कुरा सुने पछी…
कटक्क खाएको मनलाई
सम्हाल्ने कोशीस गर्छु ।
तर,
भक्कानो फुटेर आउछ,
र,
बेस्कन एकान्तमा
डाको छाड्न मन लाग्छ ।
के गर्ने ?
आफन्त भन्दा धेरै टाढा टाढा
म देश बाहिर छु -बिदेशमा ।

बाबा गुमाए,
मामा गुमाए,
फुपु गुमाए,
फुपाजू गुमाए,
काका गुमाए,
साह्रै धेरै मान्यजन
र आफन्त गुमाए ।
बाँकी सम्झनाहरू भन्दा
अरु केही छैन मसँग उहाहरूको ।
यस्तै यस्तै बेहिसाब
कती हो कती
अनमोल चिज
र,
पलहरू गुमाउदै छु म
किन कि,
म देश बाहिर छु -बिदेशमा ।

माटो मिल्दैन,
बाटो मिल्दैन,
भाषा मिल्दैन,
ढाचा मिल्दैन,
लगाइ मिल्दैन,
खवाइ मिल्दैन,
रङ मिल्दैन,
मन मिल्दैन,
धर्म मिल्दैन,
कर्म मिल्दैन,
रीति मिल्दैन,
थिति मिल्दैन
साचै बिचित्रको
केही नमिल्ने अनौठो देशबाट
रोधी सम्झन्छु म,
दोहोरी सम्झन्छु म,
या:लाङ सम्झन्छु म,
हाक्पारे र ख्याली सम्झन्छु म,
साकेला र ल्योसार सम्झन्छु म,
कक्फेक्वा र सिसेक्वा सम्झन्छु म,
बिडम्वना !
मैले सम्झने मात्र हो ।
हेर्न र खेल्न पाउदिन म ।
किन कि
म देश बाहिर छु -बिदेशमा ।

१२ मे २०१२

केही भाषिक अर्थहरू:-
या:लाङ-धान नाच(लिम्बु जातिले नाच्ने)
हाक्पारे र ख्याली:-लिम्बु जातिमा गाउने एक किसिमको ऐतिहासिक दोहोरी गीत ।
साकेला:-चन्डी नाच
कक्फेक्वा र सिसेक्वा:-माघे सक्रान्ती र सावने सक्रान्ती (किरात धर्मावलम्बिले मनाउने चाड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *