यो म नै हुँ त?
हो त
म छामछाम् छुमछुम गर्छु
सबै सबै अङ्गहरू सग्लै रहेछन्
म त क्षतविक्षत थिएँ
कसरी कसरी पुर्ण र सग्लो भएछु
हिजो सम्म म यहि क्षत् विक्षत् शरीरलाई
लाशहरूको थुप्रोमाथि चढाउँदै थिएँ
लाश पनि थरीथरीका
कुनैको हात थिएन
कुनैको आँखा
कुनैको मुटु थिएन
त कुनैको खुट्टा थिएन
लाशहरूको थुप्रो माथि
तानशाह हाँस्दै थियो
म तिर अदम्भको
अस्त्र फ्याँक्दै थियो
बोल्न डराउँथें
हेर्न डराउँथें
श्वासप्रश्वास सम्मको समस्या
हिड्नु, जंजीर तोड्नु त परका कुरा हुन्थें
एकाएक ति लाशहरू उठे
बोक्सीको आरोपमा आँखा झिकिएकीले
एक जोर आँखा
कलमको शसक्तिकरणबाट डराएर
तानशाहबाट मारिएको पत्रकारले
एक जोर हात
क्रान्तिको पथमा लम्किदाँ
खुट्टा भाँचिनेले
एक जोर खुट्टा
अनि मृत्युसँग नडराउने
सहीदले मुटु दिए
सबै सबै पाएँ मैले
अब म सग्लो भएको छु
विचारशिल मष्तिस्क छ
क्रान्तिकारी अनि निडर भएको छु
अब मैले हेर्नु छ
बोल्नु छ अन्याय बिरुद्द
त्यो तानशाह बिरुद्द एउटा
लडाईँ छेड्नु छ
ती लाशहरूको सम्मानर्थ
देशको परिवर्तनको लागि
यस्तो देश बनाउनु छ
जहाँ मानिसहरू स्वतन्त्र होस्
स्वतन्त्र आफ्नो विचार राख्न सकोस
हिड्न पाओस, बाँच्न पाओस
न्याय पाओस
हो यस्तै देश बनाउन म
आज सग्लिएको छु
आज सग्लिएको छु ।
राजेश रुम्बा लामा ‘अतृप्त’
