(श्रीमान् सम्पादकज्यू, यो शैक्षिक लेखमा अनुभूतिजन्य जीवनको तीतो सत्यलाई हुबहु लिपिबद्ध गरेको छु । आफूले भोगेको अँध्यारोको अनुभूतिबाट पाठ सिकेर यो लेख लेख्ने सामर्थ्य जुटाएको हुँ । विराटनगरकी छात्रा सुस्मिता आचार्यले पाएको शारीरिक र मानसिक यातना नै यस लेखको जन्म हुनु तत्कालीन कारण हो । यस समाजले जे गर्न खटायो, शिक्षिकाले त्यही गरिन् । विवेकको उपयोग हैन, आदेशको पालना गरिन् । त्यसैले त दार्शनिक ओशो भन्छन्– ‘समाज मालिक हो, शिक्षक गुलाम हुन् ।’ यो लेख पनि उनै दार्शनिकको शैक्षिक चिन्तनबाट धेरथोर प्रभावित छ । यसबाहेक अब्राहम लिङ्कनको प्रधानाध्यापकलाई पत्रबाट समेत केही हदमा प्रभावित हुनसक्छ । जसजसबाट प्रभाव ग्रहण गरेँ उनीहरूप्रति श्रद्धा………..! अन्तमा, छात्रा सुस्मिता आचार्यजस्ता विद्यार्थीहरूमा नवीन वैचारिक विद्रोही सोच जन्मने क्रम नरोकियोस्, यत्तिखेर भने उनको स्वास्थ्यलाभको कामना……!–नलाआ)
श्रीमान् शिक्षकज्यू,
त्यहाँ मेरी छोरी गरिमा पनि पढ्छे । ऊ नियमित स्कूल जान्छे । कक्षाकार्य बनाउँछे । गृहकार्य ल्याउँछे । फेरि त्यसै गर्छे जसो स्कूलमा गर्छे । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु गर्छे । ऊ सानै छे । उसको दिमाख खाली छ । ऊ जे सुन्छे, जे देख्छे, जे भोग्छे, त्यो दुरुस्त टिप्छे । एकएक विवरण सुरक्षित राख्छे । मौकामा प्रयोगमा ल्याउँछे ।
आज म चिन्तामा छु । छोरी मजस्तै बन्ली कि भन्ने त्रासमा छु । मैलेझैँ उसले पनि वर्तमान नभोगीकनै विताउनु पर्ला कि भन्ने भयमा फँसेको छु । त्यसैले त चिठी लेख्दै छु ।
महोदय, समाजले जे भन्छ, त्यही मात्र मेरी छोरीले पढ्नुछैन । समाज त भन्छ–‘पाठ्यक्रम दिएको छु, पाठ्यपुस्तक थम्याएको छु, शिक्षकलाई तालिम दिएको छु, शिक्षक त्यसै अनुरूप पढाउँदैछन्, पढाउने पनि छन् ।’ के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ ? असम्भव ।
भो, मेरी छोरीलाई अतीत नघोकाउनुस् । मेरी छोरीलाई वर्तमान पढाउनुस् । हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा मैले ‘आज’लाई नै भुलेँ र मेरो ‘भोलि’ अन्धकार हुनेभयो । ‘आज’लाई पढ्न पाएको भए म ‘भोलि’ आफैँ बनाउँथेँ । ‘हिजो’मा भुल्दा दुबै युग मेरा भताभुङ्ग र लथालिङ्ग भए । त्यसैले मेरी छोरीलाई वर्तमान पढाउनुस् । भविष्यको त्यसलाई चिन्ता हुनेछैन । वर्तमान पढेका मान्छेले अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । जसरी म ठगिएको छु, त्यसरी उसले ठगिन नपरोस् भन्ने कुरामा म चनाखो छु । उसलाई अन्धोश्रद्धाको भारी नबोकाउनुस् । मानसिक दरिद्रताका पाठहरू नघोकाउनुस् । अतीतलाई व्युँझाएर वर्तमान नर्कतुल्य नपार्दिनुस् ।
महोदय, मेरी छोरीलाई श्रद्धा गर्न नसिकाउनुस् । मेरी छोरीलाई सम्मान गर्न नलगाउनुस् । मेरी छोरीमाथि कुरा नथोपर्नुस् । मैले श्रद्धा गर्न सिकेँ । सम्मान गर्न सिकेँ । ममाथि कुरा थोपरिए । म अहिलेसम्म थिचिइरहेको छु, निस्सासिरहेको छु । न म श्रद्धेय बनेँ न सम्माननीय नै हुन सकेँ । म फगत अरूको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिन बनेँ । मैले मजस्तो छोरी बनाउनु छैन । मैले पनि छोरीजस्तो हुनुछैन । सक्नुहुन्छ भने मेरी छोरीलाई श्रद्धा गर्नुस्, सम्मान गर्नुस् । उसलाई विवेक प्रयोग गर्न दिनुस् । उसमा विचार पैदा हुन दिनुस् । विद्रोह गर्छे भने विद्रोह गर्न दिनुस् । विद्रोह दवाउन दवाबको प्रयोग गर्ने हिम्मत नगर्नुस् । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह ऊर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नुस् । विद्रोहका कारक तत्व पत्ता लगाउनुस् । रिठ्ठो नविराईकन दूधको दूध पानीको पानी पारी छुट्याउनुस् । समाधानका लागि समस्या छ भने पारदर्शी ढङ्गले ओछ्याइदिनुस् । ऊ आफैँ समाधान खोज्छे । हैन, समस्या छैन भने पारदर्शी ढङ्गले नै समाधान गर्नुस् ।
मेरी छोरीले प्रतिस्पर्धामा कसैलाई उछिन्नुपरेको छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै नदिनुस् । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मेरो मनमा वितृष्णा छ । प्रतिस्पर्धामा लागेर मैले आफूलाई हराएको र आफूलाई अलोकप्रिय बनाएको तीतो अनुभव आज पनि मसँग नै छ । मेरी छोरीले कक्षाका पैँतीस जनामध्ये प्रथम भई बाँकी चौँतीस जनालाई पछि बनाएर खुशी हुनुपरेको छैन । चाँैतीस जनाको मन कुल्चेर खुशी हुने शिक्षा चाहिएको छैन । मलाई प्रथम हुन आमाबुवा हर्दम करकर गर्नुहुन्थ्यो । सहज ढङ्गले मैले त्यो स्थान हाँसिल गर्न सकिनँ । बाङ्गोटिङ्गो बाटो अपनाएरै भए पनि त्यो स्थान हासिल गर्न पाए त कस्तो हुन्थ्यो ? आमाबुवाको ओठमा मुस्कुराहट ल्याउन सकिन्थ्यो, शिक्षकवर्गबाट प्रशंसा बटुल्न सकिन्थ्यो भन्ने लाग्थ्यो । मैले त्यही बाटो पक्रिएँ । फलस्वरूप मैले आफूलाई बेचेँ । आफू बेचिएरै भए पनि क्षणिक मुस्कुराहट त ल्याउन सकेँ । तर त्यो मुस्कुराहटको हत्या हुन धेरै काल पर्खनु परेन । मैले नै उहाँहरूको मुस्कुराहटको गला दबाएँ । फलस्वरूप उहाँहरू खिन्न हुनुभयो । कुपुत्रै जन्माएछौँ भनिरहनुभएको छ । मचाहिँ छोरीलाई कुपुत्री बनाउन चाहन्नँ । म छोरीलाई सुपुत्री बनाउन चाहन्छु । मेरी छोरीले कसैको स्तुतिगान गर्नुपरेको छैन । मेरी छोरीले कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालालाई स्वीकार्ने पक्षमा मचाहिँ छैन । प्रेमलाई दवाएर, माया र सहानुभूतिको घाँटी दवाएर प्राप्त गर्ने प्रमाणपत्रमा मेरो आपत्ति छ । प्रतिस्पर्धा गर्न सिकाउनुभयो, अरूजस्तै बन्न लगाउनुभयो भने मेरी छोरीले भन्न थाल्नेछे– ‘सबै म नै हुँ । हर कुरा नै म हुँ ।’ तर, म चाहन्छु– मेरी छोरीले भनोस्, हामी नै सबै हौँ, सबै नै हामी हौँ । यसो भन्ने अवस्था दिलाउन उसलाई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनु पनि छैन । पछि पर्छे कि भनेर ठेल्नु पनि परेको छैन । उसको लयवद्धतालाई स्खलन गर्नुपरेको छैन ।
महोदय, समाज स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । त्यही समाजले तपाईंहरूलाई हतियार बनाएको छ । समाज ‘सबैलाई बचाउन सिकाउनुस्’ भन्दैन, ‘आफैँ बच्न सिकाउनुस्’ भन्छ । समाज जे भन्छ, तपाईंहरू अक्षरशः पालना गर्नुहुन्छ । शोषणको हतियार बनेर तपाईंहरू मेरी छोरीलाई शोषक बन्ने पाठ नसिकाउनुस् । बरू सक्नुहुन्छ भने हतियार बन्नबाट मुक्त हुनुस् । स्वार्थको भकारी भर्ने कामदार हुनबाट पाखै बस्नुस् । समाज जे भन्छ, त्यसका पछिपछि हिँड्ने अन्धो पथिक बन्दै नबन्नुस् । पहिले आफ्ना आँखा खोल्नुस् अनि मात्र आँखा खुल्ने कुरा बताउनुस् । पहिले आफूले आफैँलाई चिन्नुस् अनि अरूलाई चिनेको आभाष दिलाउनुस् । आफ्नो विवेक र विचार बाड्नुस्, तर विवेक र विचार लाद्ने गल्ती बन्दै नगर्नुस् । र, अन्तमा भनिदिनुस्– ‘मैले बाँडेका विचारमाथि विचार गर । त्यस विचारले समेत नपुगे पुनर्विचार गर । फेरि, आफ्नो विवेकले त्यसलाई मस्काऊ । कुनै विचार काम लाग्ने देखिछ्यौ भने ती विचार मेरा होइनन्, आफ्नै विचार ठान । विवेकसम्मत कुराका पछि लाग । आफ्नो विवेकको मालिक आफैँ बन । कसैका विचारका पछि लाग्नुपरेको छैन । आफ्ना विचारलाई चट्टै त्याग्नु पनि परेको छैन । विचार जन्माउनमा तिमी पूरै स्वतन्त्र छ्यौ । विचार लागू गर्नमा तिमी पूरै अधिकार सम्पन्न छ्यौ ।’
महोदय, मेरी छोरीमा अहङ्कार जन्मनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनलाई तपाईं प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर–सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै मेरी छोरीले पाउनु वेस हुन्छ । मैले जुन शिक्षा पाएँ त्यो खरो अनुशासनमा आधारित थियो । त्यो वस्तुनिष्ठ थियो । त्यो मेसिनरी शिक्षा थियो । त्यसै कारणले आज ममा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ । मभित्रको अहङ्कारले भनिरहेको छ– ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरीमा चित्त बुझाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन, जनताको पनि होइन अब म सरकारको नोकर हुनुपर्छ । सरकारी नूनको सोझो गर्ने बन्नुपर्छ ।’ अहँ, महोदय, मेरी छोरीले मसँग भएजस्तो अहङ्कार ग्रहण गर्नुहुन्न । उसले त हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने पनि हुनुपर्छ । समयअनुसार उसले कुलपति पनि बन्नुपर्छ र परिस्थितिले डोहोर्याएअनुसार ज्यामीमजदुर पनि हुन रुचाउनुपर्छ । उसको आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । उसको भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कज्याएर तलव भत्ता पचाउनेमा हैन, जुनसुकै भए पनि काम पाउँदिनँ कि भन्नेमा हुनुपर्छ ।
महोदय, मेरी छोरीले अनुशासन सिक्नुछैन । यसले मान्छेको हत्या गरिरहेको छ । खुल्लमखुल्ला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा मैले जुन तीतो यथार्थ भोगेँ, त्यो उसलाई भोगाउनुछैन । मेरो यथार्थ थियो– मैले मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि ! यस्तै त्रासमा म बाँचेँ । मैले मन खोलेर कुनै शिक्षकनजिक ओछ्याउन पाइनँ । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर रहनुपर्यो । नमीठो अनुभवको सिकार भइरहनुपर्यो । भय र त्रासले तर्सिरहनु पर्यो । उसले यस्तो नियति भोग्न नपरोस् । उसले मन खोल्ने मौका पाओस् । उसले ठीक–बेठीक भन्न पाओस् । उसले चेतना उघार्न पाओस् । उसले उज्यालो खोज्न र भोग्न पाओस् ।
मेरी छोरी मझैँ मेसिन हैन मान्छे बन्नुपर्छ । उसले दृष्टि र श्रवणयुक्त मनुष्य बन्न पाउनुपर्छ । उसले स्रष्टा र द्रष्टा दुबै हुन पाउनुपर्छ । ऊ घोकन्ते र अनुयायी हैन, विवेकी र चैतन्ययुक्त हुनुपर्छ । उसले जडबुद्धियुक्त हुनुछैन । ऊ आफ्नो जीवनप्रति सन्तुष्ट हुनुपर्छ । ऊ प्रेमले खारिएकी हुनुपर्छ । उसले जीवनको अपार आनन्द भोग गर्न पाउनुपर्छ । उसले भय र त्रास, उसले ईष्र्या र आडम्बर, उसले अन्धविश्वास र पाखण्डको भेउ छिचोल्नुपर्छ । ऊ जे जान्दछे, जे बुझ्दछे, त्यो उसको विवेक र विचारअनुरूप हुनुपर्दछ । ऊ अरूले खनेको पथमार्गी बन्दै बन्नुहुन्न । ऊसँग आफू हिँड्ने बाटो आफैँले खन्ने सामर्थ्य हुनुपर्छ । मजस्तो अरूले खनेको बाटोमा लुरुलुरु हिँड्ने आज्ञाकारी अनुचर मेरी छोरीले हुनुछैन ।
महोदय, उसको मन खाली हुनुहुन्न । ऊ खाली मन लिएर घर फर्कनहुन्न । खाली मन सैतानको घर हुन्छ । दिनदिनै उसको मन भरिँदै जानुपर्छ । सिकेका कुरामध्ये चाहिए जति स्मरणमा भण्डारण गर्छे र नयाँ कुराका लागि ठाउँ खाली गर्न सक्छे । त्यो खाली पूर्ति गर्ने जिम्मा तपाईंको हो । कृपया, झुटो आश्वासन र असम्भव कुराले भर्दिने भुल कदापि नगर्नुहोला । म उसलाई नयाँ मान्छे बनाउन चाहन्छु । मेरो चाहनामा कुठाराघात नहोस् । उसले भुल्नुहुन्न, उसले चुक्नुहुन्न । ऊ हर्दम होससहितकी जोसिली बन्नुपर्छ । उसले होसलाई नै धर्म र वेहोसीलाई नै पाप ठान्नुपर्छ । समय आउँदा हँसिमजाकले संसार हँसाउन र परिस्थितिले डाक्दा धीरता र शालिनताले खारिएको दुवै व्यक्तित्व देखाउन समेत सक्नुपर्छ । ऊ हाँसोमा रोदनको सतर्कता र रोदनमा आनन्दको उत्कट आभाष पहिल्याउने हुनुपर्छ । मेरी छोरीले महत्वाकाङ्क्षाको महल ठड्याउनुछैन । मेरी छोरीले निस्सारताको पाठ घोक्नुछैन । मेरी छोरीले जीवनवोधको अध्याय पढ्नुपर्छ । जीवनका पत्र, पत्र उल्टाउनुपर्छ ।
महोदय, पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । अभीष्ट क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीति स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती ठहरियो । आज अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु तपाईंको कर्तव्य भएको छ । विद्यार्थीले तपाईंबाट विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले मेरी छोरीलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । त्यसैले त महोदय, अतीतबाट पाठ सिक्नुस् । तपाईंलाई अतीतले जन्मायो, मलाई अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।
महोदय, यस युगले गहन जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ । कताकता कठिन काम खटाएको अनुभव हुन्छ । सहज सम्भव नहुने काम फत्ते गर्नु नै ठूलो सफलता हो । गर्दै जाँदा, भोग्दै जाँदा, उदार दिल र निस्वार्थ सोचले कर्म पथमा डोहोरिँदै जाँदा असम्भव भन्ने कुरा केही छैन । पुरातनवादी सोचले जरा गाडेको यस समाजले सजिलै घुँडा टेक्दैन । विनाविद्रोह परिवर्तन सम्भव छैन । यस समाजको सोचविरुद्ध विद्रोह गर्नुस् । राम्रो अङ्कयुक्त प्रमाणपत्र प्राप्त गर्ने अन्तिम अभीष्टलाई धरासायी पार्नुस् । विवेकी र विचारवान जनशक्ति जन्माउने अठोट लिनुभयो भने तपाईं सफल बन्नुहुन्छ । हरतरहले तपाईं सफल हुनु भनेको मेरी छोरी सफल हुनु हो । सफल मान्छेले नै सफलता दिलाउन सक्छ । असफल मान्छेले त केवल अराजकताको माला पहिर्याउन सक्छ । धेरै भए असफलताको पाठ घोकाएर, मन बोझिलो पार्दिन सक्छ । सफल मान्छेलाई सबै थरीको मार्गवोध हुन्छ । तपाईंको स्थिर भविष्य हुनु भनेको मेरी छोरीको समुन्नत भविष्यको आधारशिला खडा हुनु हो । अतः महोदय, तपाईंभित्र दीप बलेको छ वा छैन, हेर्नुस् । छ भने ठीक छ, दीप प्रज्वलन कार्यमा सरिक हुनुस् । हैन, छैन भने जानुस् पहिले तपाईंभित्रै दीप बाल्नुस् अनि मात्र मेरी छोरीजस्ता कहाँ पुग्नुस् ।
शिक्षक महोदय, आज मैले जे लिपिबद्ध गरेँ, त्यसलाई मनोयोगले पढ्ने र विचार गर्ने कृपा गर्नुभएकोमा आभारी छु । यस पत्रमा केही सत्यता लुकेको पाउनु भएमा त्यसलाई आफ्नै सत्यता ठान्नु नै श्रेयस्कर हुन्छ । बाँकी कुरा अर्को पत्रका निम्ति छाड्दै र नवीन चैतन्ययुक्त विद्रोही, शैक्षिक चेतना सञ्चरण र प्रसारणको कामना गर्दै पत्रान्त गर्दछु । धन्यवाद !
०६८.०८.१६ शुक्रबार
तपेश्वरी–१, गल्फडिया, उदयपुर (मो. नं. ९८४२८२९२०६)
प्र.अ.,
लिटिल फ्लावर मा.वि., राजविराज–९,
सप्तरी, फोन नं. ०३१५२००३८

realy hrttouching article
realy hrttouching article infact i make my own idea by read this article thnx 4r giving me a opportune 2 read this
एक पिताको पत्र शिक्षकलाई
अभिभावकहरूको प्रतिनिधित्व गर्ने मार्मिक र चिन्तनशील निबन्ध ! हाम्रो समाजको शिक्षानीति दिनानुदिन पुरानो र नालायक हुँदै गर्दाको परिप्रेक्षमा यस्तो सोचाइ भएका अभिभावक, शिक्षक, र लेखकको खाँचो छ !