साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाई पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का (साउदीमा महिलाले लगाउने कालो लुगा) लगाएर यात्रारत हुन्छन् यिनीहरू । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरूको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाई झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।
आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनि उसलाई गुमाएको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनीमा हामी दुबै जनासँगै काम गर्थ्यौ । हामी मतलब राज र म । हामी साउदीको मुटु राजधानी याने कि रियादमा थियौ । राज सप्लाई डिपार्टमा कार्यरत थियो । उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो । राज सँधै उसको बारेमा बताउथे । नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा । राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ । आखिर नुरमा के छ यस्तो ? मलाई राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फूलभित्रको राग-अनुराग अनि बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ । हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरि हकिकतमा देख्न नपरोस् । राज भावुक बनेर भन्थे “बिशाल, मायामा ज्यानै दिन परे पनि म तयार छु । उनले दिएको यति माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ । हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ । मलाई यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला । हो मलाई मेरो स्वच्छ पशुपतिमा ठाँउ नमिल्ला, बाग्मतिको पानीले चोखिन नपाइएला, चन्दनसँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? हुन त म अभागी ठहरिनेछु बिदेशको माटोमा पुरिँदा तर पनि माया भनेको माया हो । नेपाल रहँदासम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल जे होगा देखा जायगा ।
नुर र राजको प्रेम देखेर मलाई पनि डाहा हुन्थ्यो । मलाई पनि प्रेममा डुब्न मन लाग्थ्यो । मरूभूमि रापभित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे । उनीहरूको प्रेम झाँगिदै थियो । कहिले भेटेर त कहिले फोनबाट नै लामो समय सम्म उनीहरूको कुराकानी चल्थ्यो । म कहिलेकाँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजूसँग मलाई नि कुरा गरा न त यार। म पनि यसो सुनौ मेरी भाउजूको स्वर जुन स्वरमा राज अल्झिएको छ ।”
मेरो कुरा सुनेपछि राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो, उताबाट आवाज आउथ्यो “मिन हुवा ?”(को ऊ)
राजले नरम भएर जवाफ दिन्थ्यो : ““सदीग”(साथी)” बिशाल । । उनीहरूको कुरा कति खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन । म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरू आफैँभित्र हराउथे ।
एक कान दुई कान मैदान । उनीहरूको प्रेम नुरको घरपरिवारले थाहा पाए । उनका बाबा आमाले पुलिसमा कम्प्लेन गरे । ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाई फाँसी सुनाइयो । फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाई भनेको थियो, “राज यो पत्र एक चोटी पढेर नुरलाई दे है ।”
मैले “किन हेर्नु राज ?” भन्दा राज भन्दै थिए, “सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।”
मेरो आँखाभरि आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकिरहेको थिइन । तर राजको आँखामा भने डर, त्रास, पिर भनेको पटक्कै थिएन । उसको मुस्कान अझै पनि कायमै थियो । भोलि मर्दैछु भन्ने थाहा हुँदा हुँदै पनि उसको मुस्कानले उसको माया प्रतक्ष्य झल्किन्थ्यो । राजको पत्र लिएर म राजसँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडिरहेको थियो । मैले भगवानलाई लाख बिन्ती गरेँ । तर पनि भगवानले राजलाई बचाउला जस्तो लागेन । म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्टसम्म आँए । मैले हतार हतार राजको पत्र खोँले अनि पढ्न थाँले ।
मेरी नुर
जुनी जुनी जिउनु ल ।
तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । तर पनि मलाई दुख मन छैन । किनकि म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु । भेट्दा, कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनि अनौठो सपना देख्थे ।
तिमीलाई मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वरसँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाई थाहा छ नुर ? मेरो घर पहाडमा छ । प्रकृतिको धनी मेरो गाँउ छहरा, पहरा, लहराले भरिपुर्ण छ । तिमीलाई थाहा नै छ होला । पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे । तिमीलाई सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । तर पनि मेरो ठम्याइ छ । त्यहाँको प्राकृतिक सौन्दर्यहरू तिमीलाई देखेर मोहित हुने थिए । कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो । अनि म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर” (म तिमीलाई माया गर्छु नुर । )
हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ । आस छ भर छैन यो भाग्यको । भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । तिमी भगवान भन्दा बुझ्दिनौ होला । तिमीले भगवानलाई “अल्ला” भनेर चिन । भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा । तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाई नकारेका हुन् मलाई थाहा छ । तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । तर मैले चाहिन त्यो । किनकि धर्म परिवर्तनमा के नै छ र ? म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरिकाले बाँचे । कसको निधारमा लेखिएको हुन्छ यो मुश्लिम, यो क्रिश्चीयन, यो हिन्दु ……. भनेर । हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् । तिम्रो बाबालाई सुनाइदेउ नुर । मेरो भगवान मानवता हो । तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन । हाम्रो प्रेम लाई आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कति मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ हेपिएको चेपिएको तितो यथार्थ छ । मान्छे आखिर मान्छे हो नि नुर, जात, धर्म, स्तर त हामीले बनाएकै त हो । तिमी नै भन त जन्मनु भन्दा अगाडि तिमी कुन धर्मको थियौ ? काटे रगत त रातै आउछ नि हैन र नुर ? कि हिन्दुको रगत रातो अनि मुश्लिम, क्रिश्चियनको सेतो, हरियो हुन्छ कि हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाई सोध है । हुन त तिम्रो बाबालाई प्रेमको महत्व के थाहा ? सँधै पैसाकै पछाडि कुद्छन् । पैसा दिएर धर्म परिवर्तन गर भन्छन् । पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरू पुर्ण हुन्थे । उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाई माया गर्न सिकाउ नुर । तिमीलाई त माया गर्न आउछ नि है ?
तिमीसँग भेट हुने यही अन्तीम हो । त्यसैले मलाई यो पत्र टुङ्ग्याउन मन छैन अनि चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमीसँग बिदा माग्न पनि नपाइयला कि झै लाग्छ । त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।
हाइयाक्अल्ला या नुर, मासलाम,
राज
“दाइ के छ हो आजको हट न्युज ?”
म झसङ्ग भए । सँगै काम गर्ने भाइ रहेछ । आजको न्युज बबाल छ कुन्जन ।”
“के छ दाजु सुनौ न त हामी पनि ।”
“नुरले आत्महत्या गरिछे यार । ”
“को नुर ? राजकी नुर ?”
“अँ हो । ”
“त्यसले यतिका पछि किन आत्महत्या गरी त ?”
“थाहा छैन यार ।”
मैले केही थाहा पाउन सकेको छैन । कारण के हो कसो हो अब पत्रिका पढ्न जानेको भए पो । एक छिन है मेल आएको रहेछ । अफिसियल होला । मेल नयाँ ठेगानाबाट आएको थियो । मैले अल्मलीदै खोँले । अरबीमा लेखिएको भएर मैले पढ्न जानीन र कुन्जनलाई भनेँ – “यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?”
उसले हाँस्दै भन्यो, “यार दाइ हजुर पनि, नेटबाट ट्रान्सलेट गर्नु न । यो जमानामा पनि यति कुराको के चिन्ता ?”
मैले आज खासै सोच्न सकिरहेको थिइन अनि “हो त नि है” भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।
नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?
मैले राजको बारेमा आज मात्र थाहा पाएँ । मलाई फोन, नेट सबै तिर बन्देज लगाइएको थियो । आज मात्रै सबै थोकबाट फुकुवा गरिएको हो । मलाई मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । त्यो भिडियोमा राजलाई झुन्ड्याएर मारिएको रहेछ । जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाएँ । उहाँसँग मैले पनि पत्रमा भेँटे । बिशाल बाबु हजुरहरूले त मलाई निष्ठुरी भन्ने सोच्नु भएको होला । त्यसैले मैले हजुरलाई मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिएँ । म निष्ठुरी होइन बिशाल बाबु । मैले पहिलो पटक कसैलाई प्रेम गरेको थिएँ त त्यो राज थियो । अनि गर्नेछु त त्यो पनि राजलाई । सत्यता थाहा नपाउदासम्म त राजसँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछि मैले जिउनुको अर्थ देखिन ।
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसैसँग बिबाह गरौ । तर राजलाई सुम्पिएको यो तन मन कसरी म जिउदै मरेर अरुलाई सुम्पिदै राजको मायालाई अपहेलना गरौँ ? त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । मैले गल्ती त गरिन नि है बिशाल बाबु ? बिशाल बाबु मैले हजुरलाई नदेखे पनि हजुरको बारेमा राजको ओठबाट सबै सुनेको छु । त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाई ऊ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाई देखाउन सक्नेछु । मलाई माफ गर्नुस् ल बिशाल बाबु ।
उही हजुरको हुन नसेकी, हजुरले फोनमा जिस्काउने, हजुरकी भाउजू,
नुर ।
www.sirjanakalaharharu.com
