सन् २००१ मा समुन्द्री सतहबाट १००० मिटर माथिको उचाइमा पाटेबाघ (रोयल बेङ्गाल टाइगर)को बासस्थान हुँदैन भन्ने विश्वासलाई विस्थापित गर्दै पाटेबाघको बासस्थान ३००० मिटरसम्म हुन्छ भन्ने मान्यता स्थापित भयो। मध्य भुटानको लेकाली भीरमा अनुसन्धान गरेर विश्वलाई चकित तुल्याउने वैज्ञानिक काठमाडौं, सीतापाइलाका प्रह्लाद योञ्जन थिए। वन्यजन्तु संरक्षणमा चारदशक लामो अनुभव सँगालेका योञ्जनले भुटानस्थित थ्रुमरिङ्गला राष्ट्रिय निकुञ्जको अनुसन्धान तथा संरक्षण परामर्शदाताको रूपमा थिम्पुमा काम गर्दा ३००० मिटर माथिको क्षेत्रमा बाघ ट्रयापिङ्ग गरेर विश्वलाई यो ज्ञान प्रदान गरेका थिए।
फूलब्राइट छात्रवृत्तिमा अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट सन् १९७४ मा स्नातकोत्तर गरेपछि चितवन राष्ट्रिय निकुञ्जको स्मिथसोनियन टाइगर प्रोजेक्टमा फिल्ड बायोलोजिस्टको रूपमा योञ्जनको क्यारियर शुरु भयो। तर उनले आफ्नो अनुसन्धानलाई बाघमा मात्रै सीमित नराखी हाब्रे (हिमालयन रेड पान्डा), हात्ती, गैंडा, हिमचितुवा, बाँदर र लेकाली क्षेत्रको वन तथा जैविक विविधतामा गहिरो अनुसन्धान गरे। र, सन् १९८९ मा अमेरिकाकै मेन विश्वविद्यालयबाट उनले हाब्रेको बासस्थानको विषयमा विद्यावारिधि गरे। भारतको सिक्किम, भियतनाम, भुटान र इन्डोनेसियाको जैविक विविधतामा पनि अनुसन्धान गरेका योञ्जनले सन् २००२ मा नेदरल्याण्डस्को गोल्डेन आर्क अफ नेदरल्याण्डस् तथा २००७ मा अमेरिकाको नोबल मानिने म्याकआर्थर पुरस्कार पाए। म्याकआर्थरको रकम ३ लाख ५० हजार अमेरिकी डलर उनले ललितपुरको धोबीघाटमा रिसोर्र्सेस् हिमालयको कार्यालय भवन निर्माणमा खर्च गरेका थिए।
रिसोर्सेस् हिमालय योञ्जनले २५ वर्षअघि सन् १९८६ मा स्थापना गरेको गैरनाफामुखी अनुसन्धान संस्था हो। तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष, त्रिविको नेचुरल हिस्ट्री म्यूजियम, त्रिचन्द्र क्याम्पस आदिमा काम गरेका योञ्जनले कसैको प्रभाव र दबाबमा नपरी काम गर्न स्वायत्त अनुसन्धान संस्थाको आवश्यकता महसुस गरेर रिसोर्सेस् हिमालय स्थापना गरेको यसका अध्यक्ष डा. पीताम्बर शर्मा बताउँछन्। त्रिवि भूगोल विभागका प्राध्यापक शर्मा भन्छन्, “नवीनतम प्रविधिको उपयोग गरेर ज्ञान आर्जन गर्न माहिर योञ्जन रत्तिभर अभिमान नभएका विवेक रक्षक थिए। विश्वविद्यालयमा पुरानो ज्ञान सिकाउने र दाता रिझाउन प्रशासनिक दबाबमा गलत तथ्य प्रस्तुत गर्ने कार्यको उनी कडा प्रतिवाद गर्ने गर्दथे।”
रिसोर्सेस् हिमालयका बोर्ड सदस्य गोपाल गुरागाईं योञ्जनमा अनुसन्धान गर्दा फिल्डमै पुग्ने, अनुसन्धान र अनुभवबाट प्राप्त ज्ञानलाई महत्व दिने र वैज्ञानिक तर्कका आधारमा देखेको कुरा निडर रूपमा प्रस्तुत गर्ने अद्भुत क्षमता भएको बताउँछन्। विषयवस्तुमा आधारभूत ज्ञान पनि नभएका सञ्चारकर्मीसँग कुरा गर्न नरुचाउने योञ्जनले कुराकानी गर्न थालेपछि सन्दर्भ सामग्री र तालिकाको चाङ लगाइदिन्थे। चर्चा र प्रचारमा आउन नचाहने तथा लो-प्रोफाइलमा बसेर काम गर्ने उनको स्वभावबारे प्रकाश पार्दै गुरागाईं भन्छन्, “२० वर्षको सङ्गतमा मैले उनको दुई वटा मात्रै अन्तर्वार्ता गर्न पाएको थिएँ।”
१४ कात्तिकमा साइकल दुर्घटनामा परेर भएको योञ्जनको निधनले डा. पीताम्बर शर्मालाई निकै चिन्तित तुल्याएको छ। वातावरणमैत्री क्रियाकलापलाई उच्च प्राथमिकता दिँदै आफैं अनुसरण गर्ने प्रह्लाद साइकल चढेर घर-काम आउजाउ गर्दथे। वातावरणमैत्री प्रविधि अपनाउन सबैलाई सहज होस् भन्ने चाहना राख्ने प्रह्लाद योञ्जनले देशमा एउटा व्यवस्थित साइकल ट्रयाक समेत देख्न नपाई जीवन गुमाउनु पर्यो।
गहिरो अनुसन्धानमा रुचि भएका युवा पुस्ताका लागि रिसोर्सेस् हिमालयले इन्भाइरोमेन्टल ग्य्राजुएट्स अफ दि हिमालय (ईजीएच) भन्ने कार्यक्रम चलाएको छ। डा. शर्मा यसलाई योञ्जनको भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्दछ भन्ने विचारको परिणाम भन्न रुचाउँछन्। नेपालमा जैविक अनुसन्धान प्रयोगशाला निर्माणको लागि हात्तीका विषयमा अमेरिकामा विद्यावारिधि गरिरहेका योञ्जनकै एक विद्यार्थीले पहल गरिरहेका थिए। जैविक विविधतामा परेको प्रभावका विषयमा चितवनका ४० गाविसमा गरिएको अनुसन्धान सामग्रीको चाङ देखाउँदै शर्माले भने, “यसलाई पुस्तकको रुप दिने काम पनि प्रह्लादको जीवनकालमा हुन सकेन।”
योञ्जनको प्रतिभालाई राज्यले आत्मसात् गर्न नसकेको बताउने रिसोर्सेस् हिमालयका अध्यक्ष पीताम्बर शर्मा उनलाई व्यक्ति भन्दा पनि सिङ्गो संस्था भन्न रुचाउँछन्। भावी पुस्ताको लागि काम गर्ने व्यक्तिको रूपमा योञ्जनलाई पाएका शर्मा अब उनको अभाव कसरी पूरा गर्ने भन्नेमा ध्यान दिँदै छन्। त्रिवि वातावरण विभागमा अतिथि प्राध्यापक रहेका योञ्जन विद्यार्थीमाझ् एकदमै लोकप्रिय थिए, त्रिविका विद्यार्थीलाई रिसोर्सेस् हिमालयमै बोलाएर समेत पढाउँथे। २८ कात्तिकमा योञ्जनको कार्यकक्षतिर हेरेर अँध्यारो मुख पार्दै शर्माले हिमाल सँग भने, “विद्यार्थीलाई प्रह्लाद सर हुनुहुन्छ भन्ने अनुभूति कसरी गराउने भन्ने चिन्ता छ।”
पूर्व प्रहरी महानिरीक्षक पहलसिं लामाका छोरा योञ्जनका श्रीमती, एक छोरा र एक छोरी छन्।
सन्त गाहा मगर
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १४
पूर्णाङ्क २९८
