मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान्। राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ। कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको लम्बेतान पारपाचुके मुद्दाबाट पनि मञ्जुल टीकाटिप्पणी र चर्चाको पात्र नै बने। तिनै मञ्जुलले आफ्नो आधा आत्मवृत्तान्त पहाडजस्तो-बाटोजस्तो म सार्वजनिक गरेका छन्। यस कारण आधा आत्मवृत्तान्त कि यसमा कवि, कविता र सौन्दर्य चेतले पूर्ण युवकको अनुभूतिहरू मात्र समेटिएको छ, मञ्जुलको पछिल्लो जीवनबारे केही छैन।
भोजपुरको एउटा पण्डित परिवारका मेघराज उपाध्याय अर्थात् मञ्जुलले पुस्तकको प्रारम्भ आफू जन्मे-हुर्केको गोगने गाउँको सम्झ्नाबाट गरेका छन्। आफूमा पहाड पनि जन्मेको ठान्ने लेखक धरानमा पढ्दै किशोरकाल बिताएपछि उच्च शिक्षाका लागि काठमाडौं आउँछन् र राल्फाली समूहमा लागेर प्रगतिशील गीत गाउँदै अनेक जिल्लाका गाउँ-गाउँ पुग्छन्। पारिवारिक अवस्था, संस्कार र पहाडे जीवनका उतारचढाव तथा आमा-छोराबीचको अगाध स्नेहले भरिएको लेखकको बाल्य जीवन सरस छ। मञ्जुलले पहाडजस्तो-बाटोजस्तो म को धेरै ठाउँमा आफूलाई खुला रूपमा प्रस्तुत गरेजस्तो पनि लाग्छ। धरानमा पढ्दै गर्दा उमेरसँगै उदायको सौन्दर्य चेत, क्रान्तिकारी भावना र काठमाडौंमा रामेश, रायन, अरिमहरूसँग शुरु गरेको राल्फा आन्दोलन र तत्कालीन नेपाली गीत-सङ्गीत र साहित्यको अवस्थाबारे पुस्तकले राम्रो जानकारी दिन्छ।
च्याल्सामा गीत गाउँदा भेटभएकी तिब्बती युवतीलाई विवाहको प्रस्ताव राखेको कुरासम्म खुलाएका लेखकले कुन्तासँगको विवाह र त्यसपछिको जीवनबारे भने केही उल्लेख नगरेर लेखकीय इमानदारी देखाएका छैनन्। बरु उनले पुस्तकमा दुई ठाउँमा कुनै महिलाले गर्दा आफूले कुम्भीपाक नर्क व्यहोर्नु परेको लेखेर एकपक्षीय रिस साँध्न खोजेका छन्। दैनन्दिनका भेटवार्ताहरूमा मञ्जुलको मुखबाट प्रायः निस्किरहने मेरा सारै प्रिय, माया गर्ने लगायतका शब्दहरूको प्रयोग किताबमा पनि धेरै छ। कतिपय सन्दर्भहरूको बयान गर्दै जाँदा एकोहोरिएका लेखकले पाठकहरूलाई बिर्सिएको जस्तो लाग्छ।
मञ्जुललाई चिनेकाहरूका लागि निकै रोचक यो पुस्तक आम पाठकका लागि भने ठाउँ ठाउँमा अलि खट्किन सक्छ। कतिपय ठाउँमा धेरै घतलाग्दा अनुभूतिहरू छन् भने कतै लेखिसकेपछि लेखकले दोहोर्याएर नपढे जस्तो लाग्छ। आत्मसंस्मरणहरू यस्तै हुनुपर्छ भन्ने मानक नभए पनि सम्पादनमा थप ध्यान दिएको भए पहाडजस्तो-बाटोजस्तो म झ्नै रोचक हुन सक्थ्यो।
सञ्जीव शर्मा
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १४
पूर्णाङ्क २९८
