Skip to content

स्वनिर्णय (कथा)

  • by


रातिको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाशभरि टहटहाउँदा ताराहरूको विस्कुन अनि भुईभरि पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना अनुरुप नितान्त दैनिक आवश्यकताका मेरा अवशेषलाई पोको पारी सकेकी थिएँ मैले । मनभरि अनेक किसिमका निरुत्तरित विचारहरूको अन्तरद्धन्द्धले थिल्थिलाएको गरुङगो शरीर लिएर एक्लै ओछ्यानमा छट्पटाई रहेकी थिए म । यत्तिकैमा सिरानी निरको सानो झ्यालबाट रातिको सन्नटालाई तोड्दै परिचित आवाज आएर मेरो कानमा ठोकिन्छ । कानलाई झ्यालमै टाँसेर सुनें । कसैले डाक्दै थियो – “सुमी ! सुमी !!”

मैले प्रतिउत्तर दिएँ ।

उसले फेरि भन्छ – “छिटो आऊ”, अहो ! यति बेला त म त्यही ओछ्यानमा थेचारिन पुगे । लामो सुस्केरातान्दै एक छिन आँखा बन्द गरे । कापि रहेको मेरो मुटुलाई बलीयो बनाउने साहस मागे भगवानसँग । म जन्मेको यो जन्मघर तथा मलाई जन्मदिने मेरी आमा अनि म सम्झिने भएदेखि मसँग जोडिएका सम्पूर्ण स्मृतिहरूलाई मनमा थाती राख्दै सधैको लागि विछोडिएर जादै थिएँ म । मनमनै सोच्नथाले “कठै ! मेरी आमा, उनी त छोरी मान्छे । मेरै जस्तै मुटु छ उनीसँग । सधै मलाई सम्झेरै रोएर बस्लिन् तर बुबा, उहाँ त कठोर, कट्टर हुनुहुन्छ । मेरो कदम्ले उहाँको अहिले सम्म कमाउनु भएको आडम्वरी ईज्जत माथि धक्का लाग्नेछ । मलाई राम्रोसँग थाहा छ भोलिदेखि नै उहाँ मेरो अनुहार हेर्न पनि रुचाउनु हुन्न । त्यसैले आजैबाट मेरा लागि यो जन्मघरको ढोका सदाकालागि बन्द हुदैछ ।”

झ्यालको चिराबाट छिरेको जूनको उज्यालोले कोठामा टल्काए जतिका स्मृतिहरूलाई एकटक नियालेर हेरे । कुनामा लुकाएर राखेको सामानको पुन्तुरो छामछुम गरी खोजे । कसैले चाल नपाउने गरि पुन्तुरोलाई काखीमा च्याप्दै विरालो भेषमा बाहिरीने योजना बनाए । सिरानी मुनी मेरो अन्तिम चिनो चार पेज लामो चिट्ठी छोडिदिए । कठै ! मेरो जन्म घर, जसले मलाई नवजात शिशुदेखि यौवनको खुट्किलो चढ्दा सम्म आश्रय दीयो । उसैलाई छाड्न पर्दाकौ पीडाले मन अमिलो भएर आयो । गलाभरिएर आयो । एक छिन पछि कसैले चाल नपाउने गरी म निस्किए ।

मैले रोजेको बाटो यो समाजको मान्यता विपरित त छदैछ आफैमा पनि निकै चुनौतीपूर्ण थियो । यति थाहा हुंदाहुंदै पनि विद्रोहको रापमा आफूलाई तताउँदै बलिन्द्र आँशुका धारासँगै जन्मघरसँग गाँसिएका मेरा सम्पूर्ण सम्झनाहरूलाई धित मर्नेगरी पखाली दिएँ मैले त्यो रात ।

चकमन्न राति, टाढा टाढा कुकुर झुकेको कर्कश आवाज शिवाय अरु केही पनि सुन्नमा आइरहेको थिएन् । आँगनको डिलमा बकाईनो दोछायाँ मुनि सुमनको आकृति म तर्फ अघि बढी राखेको मैले चाल पाएँ । मन जति नै कठोर बनाउने प्रयास गरे पनि नारी हृदय ढुङ्गा कहिले बन्न नसक्दो रहेछ । मैन जस्तै पग्ली हाल्ने । म खुट्टा सार्न खोज्छु । त्यहीँ भाँसिन्छन् । मेरा पाईला उचाल्न नसक्ने भइसकेका थिए । म त्यतिबेला म थिएन् । यन्त्रवत पदचाप लिएर कतिबेला सुमनको समिपमा पुगे पत्तो नै पाईन् । आफूलाई नीयन्त्रण गर्न नसकेर सुमनको हात समात्न नपाउँदै म त्यहीँ ढल्न पुगे ।

त्यो समय हाम्रो मिलनको त्यो संकेतको कुनै अर्थ नरहेता पनि, वर्तमानमा यसले निकै महत्व राख्दो रहेछ । बल्ल आएर बुझ्दैछु प्रेवेशद्धारमा सजिएको कलश घोप्टिनुले के अर्थ राख्दो रहेछ दामपत्ते जीवनमा भनेर ।

“सुमी ! सुमी ! सुमी !” कानमा अनौठौ गरी सुमनको स्वर ठोक्किएर प्रति ध्वनित हुन्छ ।

म झल्यास्स निन्द्राबाट विउँझे झैँ भए । जीउँभरि छम्छमी पसिनासँगै कम्पन छुट्छ मेरो । आँखा खोल्दा सुमनको न्यानो स्पर्श, कलेटी परिसकेमा ओठमा मिठो चुम्वनको चिस्यान अनि म तर्फ छोप्टो परेको उनको अनुहारसँगै उनैको न्यानो काखमा लम्पशार म आफूलाई पाउँछु ।

यतिबेला सुमनको आत्मीयताले म मा एक किसिमको उर्जाभरिदिएको थियो र मैले निमेक भरका लागि भएपनि अघिको दृष्यलाई भुलिसकेकी थिए । उर्र्झाएको मलिन मेरो अनुहारलाई नियाल्दै सुमन भन्छन् -“सुमी ! तिमी मेरी प्राण, मेरी मनकी रानी । आजदेखि मेरो एकलासे जिन्दगीको गोरेटोमा नयाँ आयाम लिएर सहयात्री बन्न मनको दैलो उघारेर म मा प्रवेश गर्दैछौं । सर्वप्रथम त म तिम्रो शाहसिलो यो नारी हृदयको सम्मान साथ स्वागत पनि गर्छु । मेरो हृदय साक्षी राखेर भन्छ,ु जूनसुकै परिस्थितिमा पनि म तिमीलाई खुशी भएको हेर्न चाहन्छु । मेरो बर्कतले भ्याए सम्म तिम्रो अनुहारमा खुशी भर्न रत्तीभर कहिले चुक्ने छैन । अबको हाम्रो यात्रा हामी दुबै भएर तय गर्नेछौं चाहे समस्याका पहाड उठाउन् किन नपरोश् अनि संघर्षका जंघार तर्न किन नपरोस् ।”

राति निकै छिप्पिसकेको थियो । सामुहिक जिन्दगीको नौलो यात्राको पूर्व सन्ध्यामा थियौँ हामी त्यतिबेला । नयाँ मान्छे, नयाँ जीवन, नयाँ गोरटो र नौलो यात्रा सबै कुरो नयाँ नै थियो मेरा लागि । मनमा एक किसिमको भय नपलाएको पनि होईन् तर सुमनको सानिध्यले विस्तारै हराउँदै गयो । सम्झिन पुगे–“म अब एक्ली छैन् । सुमन मेरो सुरक्षाको कवज अनि सहाराको दरिलो खम्बा बनेर आएका छन् । उनी त पुरुष हुन् । हामी नारी जस्तो निरीह त पक्कै होइनन् ।”

जन्मथलोलाई एक पल्ट लामो सुस्केर हाल्दै फर्केर हेरे । मानसपटलको ताजा स्मृतीलाई धुमिल बनाउँने प्रयास गर्दै सुमनको हात समाते । उनैको पदचाप पछ्याउदै धकेलिए उनैसँग । शुरु भयो हाम्रो नौलो यात्रा ।

आर्थिक विपन्नताको रापले पिल्सिएको सामान्य बाहुन परिवारमा चौथो नम्वरकी छोरी भएर मेरो जन्म भएको थियो आजभन्दा बाईस वर्ष पहिले । यसपाली पनि आमाले छोरो जन्माई दिनु भएन रे भनेर बाबा निकै रुष्ट हुनु भएर महिना दिन सम्म घर फर्कनु भएन भनेर आमा भन्नु हुन्थ्यो । घरमा हजुरवुवा आमा कोही पनि हुनुहुन्नथ्यो । विचरी मेरी सुत्केरी आमालाई लोग्नेको अनुपस्थितीमा घरव्यवहार लगायत हामी चार वटी छोरीको रेखदेखले नराम्रोसँग थला पर्नु भएछ । सुत्केरी जीउँ, अरुले पकाएर दिएको खान नहुने (भान्साखाने) आफ्नो घरमा चोखो पकाएर दिने मान्छे कोही थिएन रे । यसरी म जन्मिदा आमाको स्वास्थ्य निकै विग्रेको थियो पेटभरि खान पनि नपाएर । आमाको सुत्केरीले टोल छिमेकमा गन्हाउने समाचारको विषय बनेर निकै दिन सम्म चर्चा पाएछ । जसको फलस्वरुप छिमेकीको सहयोग पनि आमाका लागि अपेक्षा बाहिरको कुरो भयो ।

दिनहरू बित्दै गए । मेरी तीनटी दिदी र म बीचमा जन्मको अन्तर त्यति धेरै छैन । दिदीहरू वस्तुभाउ चराउन, घाँस दाउरा गर्न र घरमा आमालाई पनि काममा सघाउन सक्ने भइसकेका थिए । म पनि दिदीहरूसँगै ठूली दिदीको जामाको फेर समातेर पछि पछि लाग्थ्ये ।

यस्तैमा एक दिन हाम्रो घरमा निकै तामझामको वातावरण सृजना भयो । मलाई त्यति सम्झना छैन् दिदीहरू भन्ने गर्नु हुन्थ्यो । खुशी त सबैजना थीय तर सवभन्दा वढी बाबा नै खुशी हुनु भएको थियो रे । अहिले सम्म कहिले पनि नदेखिएका शुखीका धर्काहरू त्यस दिन मात्रै सवैले बाबाको अनुहारमा देखिएका थीय रे । कुरो के रहेछ भने – बर्सेनीको हामी चार वटि दिदी बहिनीको जन्मले बिटोलिएको आमाको कोखलाई चोख्याउँदै बाबाको अंशको हकदार तथा बंशको विडो थाम्ने नयाँ अनुहार लिएर भाइको जन्म भएको हरेछ । अव त बाबाले घर छोडेर विरक्तीएर भाग्नु परेन् । आफ्नै हातले सुत्केरी आमालाई स्याहार्नु भएछ । गाउँ छिमेकमा पनि आमाको सुत्केरीको बास्ना फैलिदै गयो । त्यहीँ गाउँ हो जहाँ हामी छोरीको जन्म गाउँभरि नै गन्हाउने समाचारको शीर्षक बन्यो तर भाइको जम्नसँगै बास्नादार सुवास जताततै फैलीयो । यो कस्तो विडम्वना ? कति विचित्र परिवेश ? कति सङ्किर्ण सोचाई ? उफ !! सम्झिदा पनि टाउको भारी भएर आउँछ अहिले ।

समयको गतिसँगै भाइ पनि बढ्दै गयो । उसको उमेर विद्यालय जाने भइसकेको थियो । हामी छोरी त अर्काको नासो, पढाउनु हुदैन् भन्ने मान्यताले जकडिएको समाजमा बाबा पनि कसरी अुछतो रहन हुन्थ्यो र ? मेरी तीनवटी दिदी लगाएत उहाँहरूका थुपैं दौतरीहरूले लेखपढ गर्न पाएका थिएनन् । धन्य मेरा वावाको मानसिकता, अहिले त उहाँ छोरोको पढाईका विषयमा निकै चिन्तित हुनु भएकोथियो । छोराको जातले नपढेर हुन्छ भनेर सबैलाई नाना भाती कुरा गरेर सम्झाउन खोज्नु हुन्थ्यो । नभन्दै एक दिन भाइलाई स्कुल भर्ना गरेर आउनु भएछ । परिवारमा अव निकै खैला बैला हुन थाल्यो भाइलाई स्कुल पठाउने विषय लिएर । दिदीहरू त ठूला–ठूला भइसकेका थिए । सबैलाई कामको जिम्मा छुट्याइएको थियो । म मुनीको भाइ भएकोले उसको साथी तथा उसको सरसफाई हेरविचार गर्ने जिम्मा मलाई भाग लगाईएको थियो । भाइ एक्लै स्कुल जान नमान्ने त्यसमा पनि उ त छोरो एक्लै पठाउन् पनि नमिल्ने । त्यसैले भाइको संरक्षण भएर भाइलाई सकी-नसकी पिठ्यूमा झुल्ड्याउदै दैनिक एक, डेढ घण्टाको उकाली ओराली छिचोल्न थाले म पनि ।

मलाई सुम्पिएको यही जिम्मेवारीले भाइसँगै विद्यालयको दैलो कुल्चिने अवसर मलाई पनि जुर्यो । मेरो औपचारिक शिक्षाको ढोका उघार्नमा प्रेरणाको स्रोतको हकदार म कसैलाई पनि बनाउँन चाहँदिन किनकी विद्यार्थी भनेर चिनाउने भूमिका मेरो बाबाले मलाई सुम्पेका पनि थिएनन् । भाइको रक्षक हुँदाको खातीर प्राप्त भएको बरदार नै हो मैले पाएको यो औपचारिक चेतना । यसको श्रेय म सिर्फ भाइलाई दिन्छु । जसको कारण मैले पनि संसारलाई चिन्ने मौका पाए ।

माध्यमिक शिक्षालाई विट मार्दासम्म भाइलाई डोर्याउदै मैले पनि तीन वटा गोरेटा बदलिसकेकी थिए । जहाँ जहाँ भाइलाई पढाईन्थ्यो, मलाई पनि त्यही पठाइन्थ्यो शायद उसैसँग पढ्ने भएर होला । पढाई कै कुरा गर्दा भाइको भन्दा मेरो राम्रो भएता पनि बाबाको मूल्याङ्कन गर्ने नजरले भाइकै तीर झुकाउ बढ देख्थे । यसरी हामी दुवैलेसँगै प्रवेशिका परीक्षा उत्तीर्ण गर्यौ । भाइका लागि प्रवेशिकाको नतिजा उज्वल भविष्यको मार्ग दर्शन बन्यो । भविष्यमा सम्भावनाका ढोकाहरूलाई उघारी दीयो । जसको परिणाम स्वरुप ऊ अहिले नेपालकै नामी डा. को उपाधि भिरेर प्रसिद्धि कमाई सकेको छ तर उसको भन्दा बढी परिणाममा प्राप्त भएको मेरो नतिजाले मार्केट लिन सकेन किनकी यो त छोरी मान्छेले प्राप्त गरेको नजिता थियो मेरो समाजका लागि र त त्यस पछिको पठन पाठनमा पूर्ण विराम लाग्यो मेरो । उच्च शिक्षा आर्जन गर्ने सम्भावनाका सबै ढोकाहरूमा सदाका लागि विसङ्गतीका फलामे साङ्ला लागे । भाइ सँगको मेरो सह यात्रा त्यहीँ विर्सजन भयो ।

हुन त पिछडिएको त्यो समाजमा समय अनुशारको शिक्षा मेरा सहपाठीले भन्दा जे जसरी भए पनि मैले नै हासिल गर्न पाएकी थिए । यस अर्थमा म आफैलाई खुवै भाग्यमानी ठान्थ्ये पनि । यदि म पछि मेरो जस्तै छोरीको अंग लिएर आमाको काख बहिनीले बिटोलेकि भए, शायद अहिले बेदनाका बात्छिटालाई सुनौला अक्षरका रंगले कोलाज भर्ने सामथ्र्य म मा कुनै हालतमा पनि हुने थिएन ।

मेरो दिनचर्या त विकट गाउँमा कुटो कोदालोसँगै नङ्गा खियाउँनमा वित्थ्यो होला । शरीरको तौल भन्दा पनि ठूलो घाँसको भारीले थिचिएर तालुका कपाल टुक्रा–टुक्रा भई ठुटिएका हुथ्ये होलान् । कुखुराको डालोसँगै जातोको संगितमा रन्थनिएकी हुन्थ्ये होला । अनि अभाव र बेदनाको विस्कुनलाई ओखल मुसलको सुस्केरासँगै यथार्तको नाङलामा निफनि रहेकी हुन्थ्ये हुँला । बर्सेनीको ओथारोको रापले छाती पिल्सिएकी कुपोषित् चल्लाकी काठे माउँको जस्तो जिन्दगी भोग्नु पथ्र्यो मैले । धुलाम्मे गोरेटोमा नाङ्गो खुट्टाको हिंडाईले कत्लिएर छिया–छिया भई रगतपच्छे भएका पैतलामा चिउरीको घ्यूले टाल्दै पारीवारिक समस्यासँग लुछाचुडि गर्दै हुन्थ्ये हुँला म अहिले किनकी अनपढ मेरी आमाले भोगेको र मैले नजिकबाट देखेको आम महिलाको दर्दनाक जिन्दगी यस्तै थियो र हुने गर्दछ पनि ।

दश कक्षाको पढाईपछि म निकै फुर्सदिली भएकी थिए । मेरा दिदीहरू लगायत जोरीपारी सबैको विहे भइसकेको थियो । मेरो उमेरका गाउँमा छोरी मान्छे केही थिएनन् । त्यसैले सबैका आखाले मलाई नै औल्याई रहेका हुन्थ्ये । चिया पसलदेखि लिएर पानी पँधेरो सम्म सबैको चर्चाको विषय बनेकी थिए म । त्यसै नचाहिंदो कुराहरूले बाबाको कानभरिदिएका थिए त्यहाँका कुरौटे जमातले र त जति सक्दो चाँडो बाबा मलाई पराईको पोल्टामा सुम्पिन आतुर हुनु भएको थियो ।

यस्तैमा हाम्रो गा.वि.स.मा महिलाका लागि नयाँ आयाम लिएर एउटा संस्था भित्रीयो । महिला शशक्तीकरण सम्बन्धि उक्त संस्था मा महिलाहरूकै अगुवाईमा कार्यक्रम संचालन गर्नु पर्ने थियो । हाम्रो गा.वि.स. मा पढेलेखेका महिला कोही नभएर उनीहरूलाई सहयोग गर्न मलाई राखिने निर्णय भएछ ।

मलाई उक्त काममा पठाउन बाबाले मानिरहनु भएको थिएन सुमन नै हाम्रो घरमा गएर बाबालाई कन्भेन्स गरेका थिए । परिणामस्वरुप दैनिक जसो गा.वि.स.मा जाने बहाना बन्यो । उक्त कार्यक्रमको गा.वि.स. सहयोगीका रुपमा सहयोग गर्ने मौका पाएँ ।

जिल्लाबाट टीमको अगुवाई गर्दै जिल्ला को–ओर्डीनेटर भएर आएका थिए सुमन । निकै पछि काम गर्दै जादा सुमनका बारे थाहा पाए मैले । उनि शिक्षित परिवारमा जन्मेका हुने खाने बाबुका एक्ला छोरा थिए । पढाई सकेर संस्था तीर जागिरे । सबै कुरा मेरो भन्दा राम्रो नै थियो उनको ।

काम कै शिलशिलामा मलाई गाउँबाट सदरमुकाममा पनि गई रहनु पर्दथ्यो । त्यतिबेला सुमन मेरो निकै ख्याल राखेर मलाई बस्ने खाने सुरक्षित स्थान मिलाई दिन्थ्ये । भेटघाटको क्रम बाक्लिदै गयो । उनी त त्यो ठाउँका लागि नयाँ भाषादेखि लिएर सबै कुरामा मैले सहयोग गर्नु पर्दथ्यो । यसरी परिचयको शिलशीला गाडा हँुदै गयो । थाहै नपाई हामी एक अर्कोलाई मन पराउन पनि थाले छौं ।

सदुमुकामबाट गाउँ फर्किने क्रममा एक दिन तीन घण्टाको पैदल यात्रा हामी दुवैसँगै भएर तय गरेका थियौं । हो, त्यो स्वर्णीम दिन त्यहीँ थियो, जून दिन पहिलो चोटि हामी बीचमा भावनाहरूको साटासाट् भएको थियो । मन मुटु साट्ने अबसर जुरेको थियो । त्यो समयावधिमा धेरै कुराहरू भए हामी दुवैको बीचमा । कहिलेदेखि मनमा साचेर राखेका अभिप्सालाई पोख्ने अनुकुल बातावरण उपलब्ध भएको थियो हामीलाई र त मन खोलेर निसंकोच माया साटेका थियौँ ।

कुरैकुरामा उनले सोधेका थिए –“तिमी मलाई माया गछौं ?”

मैले लजाउँदै भने–“आफूलाई भन्दा पनि धेरै गर्छु ।”

मेरो बोली भुईमा खस्न नपाउँदै सुमन मेरो आँखामा हेर्दै लामो सुस्केरा तान्दै भन्छन – “हेर सुमी ! हो, म त तिमीलाई धेरै मन पराउँछु अनि माया पनि गर्छु । यो कुरा पनि साच्ची हो कि तिमी बिनाको मेरो जीवन नै अधुरो र अपुरो हुनेछ । मेरो मन मन्दिर तिम्रो आगमनले मात्रै सुन्दुर र पवित्र हुनेछ । म तिमीलाई यस अर्थमा माया गर्दछु की तिम्रो मन निर्मल, स्वच्छ छ । यति धेरै समस्याका बापजुत पनि तिमीमा त्यो खुशी झल्केको हुन्छ जून अरुमा म देख्दिन् । अर्को कुरो तिमीमा मान्छेलाई चिन्न सम्ने खुवी छ र व्यवहारिकताले पनि निखारिएकी छौं । यदि तिमी चाहन्छ्यौ भने हामी जिवनभरिका लागि सुख दुखका भागिदार हुनसक्छौ । यसमा मेरो पूर्ण समर्थन नै रहनेछ ।” कुरा गर्दै हिड्दा त बाटो कटेको पत्तो नै भएन । हाम्रो छुट्टिने कुइनेटो पनि आयो । एकछिनमै छिप्पिदो गोधुलिसँगै ओझेल पर्यौ दुबै जना ।

म घर आइ पुग्दा झमक्क सांझ परि सकेको थियो । बाबा पिढीमा एक जना अपरिचित मान्छेसँग गफिरहनु भएको थियो । केही वास्तै नगरी म सरासर घरभित्र छिरें । कोठाको सिरानीमा पिढीसँगै जोडिएको सानो झ्यालमा कान लगाएर दुई जनाको संवाद सुन्छु म । निकै बेर सुने मैले बाबा र त्यो अपरिचित व्यक्ति विचको बार्तालापलाई । थाहा पाए, त्यो केटो त मलाई माग्न आएको रहेछ । बाबालाई खुवै मन परेछ क्यारे कुरो अन्त्यतिर पुगाई सक्नु भएको थियो ।

धन्य मेरो बाबाले निर्णय । ऊसँग हाम्रो जातभात मिल्दैमा के भयो र ? ऊ त म भन्दा दश वर्ष बुढो आठ कक्षा पनि पास गर्न नसकेर इन्डिया चहारेर आएको तोरी लाउरे रहेछ । मेरो भविष्य उसले कति चक्काउन सक्ला भने सोच्नु भएको होला र ? उसैसँग भिडाउने तरखरमा हुनुहुन्थ्यो । बाबाको यो निर्णय मलाई खपीनसक्ने भइसकेको थियो तर मेरो मुखमा प्रतिक्रिया दिनै नमिल्ने गरी संस्कारको ताल्जा लगाईएको थियो । कि त त्यो समाजमा जीवन साथी छनौट प्रक्रियामा छोरी भन्ने जन्तुलाई कहि कतै मनसाय राख्ने उचित स्थान छुट्याइएको होस् । विकल्प रहित एकलौटी निर्णय नै सबैका लागि मान्ने हुने गरेता पनि मेरा लागि स्वीकार्य हुन सकेन किनकी अलिकति भए पनि राम्रो र नराम्रो छुट्टाउन सक्ने क्षमता म माभरिदिएको छ शिक्षाले । म टाट्नामा बन्धक बनाईएको बाख्रोको जस्तो नीयति भोग्न असमर्थ भए । निर्णयको बन्दि हुनु भन्दा मेरो स्वईच्छाको बैकल्पिक बाटो रोज्ने बिचार गरे । यसरी एक्लै विद्रोहको आगोमा खुवै जलाए मैले आफू लाई । मनमनै तुलना गर्न थाले सुमन र त्यो तोरी लाउरेको बीचमा ।

बाबाको निर्णय उपर परिवारका सामु मुक समर्थन जनाएता पनि मैले सुमनसँग बाबाको एकल निर्णयको बारेमा सबै बेलिविस्तार लगाई सकेकी थिए । दुबैको सल्लाह अनि सुमनको समर्थनमा हामीले अव त्यो ठाउँबाट सदा–सदाका लागी हराउने तयारी गर्यौ, परिणाम स्वरुप नयाँ गोरेटो ततायौं हामीले र त्यतै तिर हेलीयौं ।

पार्बती शाही
नया बानेश्वर, काठमाण्डौं
जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *