कृति : श्रीमद्भागवतामृत
विधा : अनुवाद
अनुवादक : फणिनारायण सिग्देल
प्रकाशक : श्रीवेङ्कटेश मन्दिर, बत्तीसपुतली काठमाडौँ
मूल्य : रु. ५०१।-
श्रीमद्भागवतामृत -नेपाली पद्यानुवाद लामो समयदेखि आध्यात्मिक क्षेत्रमा कलम चलाउँदै आएका फणिनारायण सिग्देलको नवीनतम कृतिको नाम हो । यद्यपि यो उनको अनुदित कृति हो । तर, अनुवादकले यति बढी शक्ति, श्रम, सीप र कला खर्चेका छन् कि जसले कृतिलाई नितान्त मौलिक बनाएको छ भन्नैपर्छ । द्वैत, अद्वैत, विशिष्टाद्वैत, द्वैताद्वैत, शुद्धाद्वैतजस्तो आँखाले हेर्यो त्यस्तै देखिने परमहंश संहिता श्रीमद्भागवतको हालसम्म निकै विद्वान्ले टीका लेखेका छन् र विभिन्न भाषामा अनुवादसमेत भइसकेको छ । तर, नेपाली भाषामा यस किसिमको पद्यमय अनुवाद त्यो पनि छायानुवाद नभई छुट्टै मौलिकपाराको अनुवाद भने सम्भवतः यो नै पहिलो हुनुपर्छ ।
निःसन्देह अनुवादकले भनेजस्तै संसारकै प्राचीनतम मानिएको संस्कृत भाषामा समेत नभएको विधान अन्त्यानुप्रास मिलाएर पद्यानुवाद गर्नु भनेको त्यति सहज कार्य होइन ।
यसै पनि ज्ञानयोग, ध्यानयोग, भक्तियोग र कर्मयोगको भावतरङ्गले मात्र नभई न्याय, वैशेषिक, साङ्ख्य, योग, मीमांसा र वेदान्त आदि छवटै दर्शनको सारभूत तत्त्वले समेत ओतप्रोत भएको भागवत आफँैमा अथाह ज्ञानराशि हो । स्वाभाविक रूपमा टोक्न नसक्नेका लागि भागवत बेस्वादको लाग्न सक्छ तर कोट्टयाउन थाल्ने हो भने जति कोट्टयायो त्यति नवीनतम रसानुभूति हुँदै जानेछ । त्यसमा पनि यसका मङ्गलाचरणलगायत ब्रहृमस्तुति, वेदस्तुति, भ्रमरगीत, उद्धवगीता, हंशगीता, भिक्षुगीत, पुरञ्जनोपाख्यान, नवयोगेश्वर संवाद आदि कतिपय प्रसङ्ग यति बढी दुरुह छन् कि जस्तोसुकै मै हुँ भन्नेलाई पनि आच्छु-आच्छु पार्छ । यी प्रसङ्गको व्याख्या गर्न कुशल पाण्डित्य भएरमात्र पुग्दैन । एउटै श्लोकको व्याख्यामै निकै पाना खर्चिनुपर्ने हुन्छ । तर, अनुवादक फणिनारायणजी यसमा पनि निखर उत्रेका छन् । उनले एउटै श्लोकमा अझ साँच्चै भन्ने हो भने आधैश्लोकमा पनि (जहाँ अक्षर र मात्रा गनी-गनी, त्यो पनि ह्रस्व र दीर्घ मिलाएर राख्नपर्ने हुन्छ) जुन किसिमले कठिन रहस्य खिच्ने क्षमता प्रदर्शन गरेका छन् त्यो आफैँमा अनुकरणीयसमेत हुन पुगेको छ ।
भनिन्छ, ‘विद्यावताँ भागवते परीक्षा’ साँच्चै यो भनाइ सही हो भने उनी भागवतका कुशल विद्यार्थी हुन्, परीक्षामा राम्रै पास भएका छन् । यतिबेला सबैलाई थाहा भएकै कुरो हो महायज्ञको फेसन नै चलेको छ । पहिले पहिले विकास निर्माणका लागि मानिस श्रमदान गर्थे अहिले भागवत यज्ञ लगाएर धनदान गर्न थालेका छन् । पौराणिक यज्ञ अनुष्ठानलाई सामाजिकीकरण गरेर विकासका सहयोगी बनाउनु राम्रै होला तर भागवतजस्तो वेदान्त दर्शनमा आधारित ग्रन्थलाई गीत र सङ्गीतको तालमा नचाउँदा यसका के-कति गुढ रहस्य उद्घाटित हुन सक्ला प्रश्न आफैँमा गम्भीर छ । कतै भावी पुस्तामा भागवत भनेको के-के न होला भनेको त भाँती-भाँतीका मनगढन्ते कथाको भन्डार पो रहेछ भन्ने भान पर्ने पो हो कि भन्ने शङ्का पनि त्यति नै छ । यस्तो अवस्थामा फणिनारायणले सरल भाषा र शैलीमा भागवतको रहस्य उल्था गरेर समाजलाई जुन गुन लगाएका छन् यस अर्थमा उनले पूरा नेपाली समाजलाई ऋणी बनाएका छन् भन्दा फरक पर्दैन । डा. स्वामी रामानन्द गिरी र प्रा. डा. दीर्घराज घिमिरेका मन्तव्यले पुस्तकको गरिमा अरू उचालेको छ ।
शनिबार, गोरखापत्र
पुस ९, २०६८
