नेपाली साहित्यमा निरञ्जन बराल अपरििचत नाम हुन् । अझ गद्य र त्यसमा पनि निबन्ध क्षेत्रमा उनको नाम आफैँमा एउटा नवीनतम रचनाजस्तो भएको छ । त्यसैले उनीद्वारा रचित निबन्धसंग्रह पछि फेरि सम्भवतः आमपाठकका दृष्टिबाट समेत ओझेलमा परेको छ । कहिल्यै साहित्यमा नाम नसुनिएका स्रष्टालाई एकैचोटि निबन्धजस्तो जटिल विधामा कलम चलाएको प्रसंगकै मूल्यांकन गर्दा एउटा चुनौतीजस्तो पनि लाग्छ । तर, उनका निबन्धहरूको गहिराइमा पुगेपछि चाहिँ यिनले यतिका समय किन कलम चलाएनछन् भन्ने कुराले थुप्रै प्रश्न तेस्र्याइरहन्छन् । किनभने, उनका यस संग्रहका निबन्ध विचार र दृष्टिकोणका आधारमा अत्यन्त मार्मिक छन् । अन्य मुलुकका सभ्यता र विकासका दृष्टिले हामीले नगरेर वा हुन नसकेका कुरालाई उनले पुस्तकको शीर्षक निबन्धमा बडो भावुक भएर अभिव्यक्त गरेका छन् ।
पछि फेरिलाई निबन्धको दर्जा दिइए पनि आजको समयमा जेलाई निबन्ध भनिन्छ, त्यस आधारमा भन्दा यस निबन्धको मात्र संकलन होइन । निबन्धसँगसँगै नियात्रा र संस्मरण विधा पनि यसमा मिसिएका छन् । लेखकले घटना र स्वमूल्यांकनलाई यस संग्रहमा जसरी समेटेका छन्, बयान गर्ने शैलीमा या भनौँ घटना र अभिव्यक्तिलाई पोख्ने हिसाबमा पुस्तक आफैँमा पठनीय छ । तर, शिल्प, शैली र प्रस्तुतिगत हिसाबमा भने यो कृति त्यति जमेको छैन । सामान्य बोलीचालीका भाषामा लेखिएको छ, यो राम्रो कुरा हो आमपाठकका लागि तर यसमा साहित्यिक संवेग या भनौँ अभिव्यक्ति कलाको अभाव देखिन्छ । तर, यो अन्तिम सत्य भने होइन । किनभने, जब उनको यसै संग्रहको संस्मरणात्मक निबन्ध ‘यस संयोगलाई कुन रूपमा हेर्ने ?’ भित्र विचरण गर्दै जाँदा यी माथि भनिएका कथनहरू मिथ्या लाग्छन् । उनले जुन शब्दलयका साथ डाक्टर जयनारायण गिरीको स्मरण गरेका छन्, यसबाट बरालको साहित्यिक बुनोट शक्तिको राम्रो उदाहरण पाइन्छ । उनले यस लेखमा आफ्नो शब्दशिल्पीको अत्यन्तै राम्रो नमुना प्रस्तुत गरेका छन् । यही लेखका आधारमा लेखकको लेखकीय स्वरूपमाथि अनुमान गर्दा कतै केही निबन्ध अत्यन्त हतारमा लेखिएका त होइनन् भन्ने आशंका हुन्छ । यसको उदाहरण शीर्षक निबन्ध ‘पछि फेरि’ हो । दैनिकी शैलीमा लेखिएको यस संस्मरणले उनका अरू निबन्धको तुलनामा कम प्रभाव दिन्छ ।
यति हुँदाहुँदै पनि यस पुस्तकमा निबन्धकारले बैँकक, सिंगापुर, दिल्ली, कोलकाता मात्र पुर्याउँदैनन्, हाम्रा अग्रज संगीतज्ञ अम्बर गुरुङ, गायक नारायणगोपाल, आख्यानकार परशु प्रधान र भारतीय प्रसिद्ध कलाकार एमएफ हुसैनबारे उनले गरेको मूल्यांकन-समीक्षा गहन र संवेदनशील छ । समष्टिमा उनीबाट नेपाली साहित्यले अझ बढी र अझ सारगर्वित कृतिको अपेक्षा गर्छ भन्ने कन्जुस्याइँ गर्नु पर्दैन । उनको आगमन स्वागतयोग्य छ ।
रमण घिमिरे
नेपाल साप्ताहिक अंक ४७३
