लेखन आफैँमा एक स्वतन्त्र विषय हो । लेखकको रुचि र स्वभाव अनुसार लेखन सार्वजनिक हुँदै जाने कुरा हो । लेखनलाई प्रभावित पार्ने गरी लेखकीय स्वभावको कुनै खास बनिबनाउ ढाँचा छैन । त्यसकारण उठेर, बसेर, सुतेर, हिँडेर वा ढल्केर लेखेमा राम्रो गरी लेख्न आउँछ अथवा कुनै खास कुरा खाँदै वा पिउँदै लेख्ने गरेमा सलल लेखन फुर्छ भन्ने पनि केही छैन । जसलाई जेजसरी र जहाँ सजिलो महसुस हुन्छ, त्यहीँ लेख्न बसे भइहाल्छ ।

तर पनि लेख्ने शैली र बानीको कुरा उठ्दा नेपाली वाङ्मयसित परििचत जोकोहीलाई पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वभावको झल्को आई नै हाल्छ, महाकविलाई एक हातमा धूवाँ फालिरहेको चुरोट समाएर अर्को हातबाट नदीझैँ बेगवान कलम चलाउने लत थियो । नेपाली साहित्यमा महाकवि र फूलमार चुरोट त झन्डै एकअर्काका पर्यायजस्तै स्थापित छन् । त्यसपछि पनि बीपी कोइरालाका लगभग जम्मैजसो साहित्यिक कृति जेल बसाइकै उपज हुन् । जेल बसेरै श्यामप्रसाद शर्माले थुनुवाको डायरी लेखे । मोदनाथ प्रश्रितले गोलघरको सन्देश लेखे । अन्य कतिपयले रिहाइपछि जेल संस्मरण लेखेका छन्, जसमा खड्गमान सिंहले लेखेको जेलमा बीस वर्ष र राधाकृष्ण मैनालीद्वारा रचित लुटिएका दुई थुङ्गा फूल उल्लेखनीय मानिन्छन् ।

भूपी शेरचन, शंकर लामिछाने, हरिभक्त कटुवाल प्रभृत्तिका साहित्यकारहरू अत्यधिक मदिरा सेवन गर्न रुचाउँथे । ती सबै त्यही कारणले समेत असमयमै संसार त्याग्न विवश पनि भए । सबैको होइन तर धेरैजसो साहित्यकारको प्रिय खुराकी मदिरा, सूर्ती, चुरोट, चिया, कफी हुने गरेको देखिएको छ । यो खानपिनसम्बन्धी स्वभावजन्य कुरा भयो । तर, लेखनशैलीको सवालमा यस्ता अनेक किस्सा/कहानीहरू सुन्न र पढ्न पाइन्छ ।

केही समयपहिले अमेरिकी लेखक/पत्रकार लियो ब्यबुटाको एउटा आलेख पढ्ने अवसर मिलेको थियो । जेन ह्याबिट्स नामक बहुचर्चित इन्टरनेट ब्लग सञ्चालन गरेर समेत निकै नाम र दाम कमाउन सफल ब्यबुटाले त्यस आलेखमा आफूलाई मनपर्ने केही साहित्यकारका लेखन शैलीबारे उल्लेख गरेका थिए । कतिपय लेखकलाई दैनिक केही निश्चित संख्यामा शब्द वा पृष्ठ लेख्न मन पर्छ भने केहीलाई एकाध पृष्ठ वा केही वाक्य मात्र । कसैलाई लामालामा कागजमा लेख्न मन पर्छ भने कसैलाई पोस्टकार्डजस्ता इन्डेक्स कार्डमा । कसैलाई उभिएर लेख्न मन पर्छ भने कोही घोप्टो सुतेर लेख्न रमाउँछन् ।

अमेरिकी लेखक स्िटफन किङ् दैनिक १० पेज लेख्छन्, त्यो दिन बिदाको होस् वा सामान्य । यो लेखन निकै धेरै हो । सायद यसैकारण उनी वर्तमान समयका सबैभन्दा धेरै लेख्ने लेखक पनि हुन् । अर्नेस्ट हेमिङ्वे एक दिनमा पाँच सय शब्द मात्र लेख्ने गर्थे । उनी बिहानै उठ्थे र शान्त वातावरणमा लेख्न रुचाउँथे । उनी मदिरा अत्यधिक पिउँथे तर पिएर मातेका बेला भने उनी कहिल्यै लेख्दैनथे । लोलिता र पेल फायर आदि विख्यात उपन्यासका रुसी लेखक भ्लादिमिर नोबाकोभ उभिएर लेख्थे र इन्डेक्स कार्डमा लेख्ने गर्थे, यसरी कार्डमा लेख्दा उनलाई सिलसिला मिलाएर लेखिरहनु पर्दैन थियो र पछि उनी आफूलाई मन लागे अनुसारको क्रममा मिलाउन सक्थे । भनिन्छ, उनको उपन्यास आडा तयार हुँदा दुई हजारभन्दा बढी इन्डेक्स कार्ड प्रयोग भएका थिए ।

यसैगरी, ब्रेकफास्ट इन टिफानी’ज र इन कोल्ड ब्लडजस्ता कृतिका सर्जक ट्रुम्यान क्यापोटलाई सुतेर लेख्ने बानी थियो, त्यो चाहे ओछ्यानमा होस् वा सोफा र काउचमा । साथै, उनलाई सिगरेट र कफी पनि उत्तिकै चाहिन्थ्यो । दिन ढल्दै जाँदा कफीको ठाउँ चियाले, पछि चियाको ठाउँ शेरीले र शेरीको ठाउँ मार्टिनीका रूपमा अन्य ककटेल पेयले लिँदै जान थाल्थे । उनी लामा कागजमा पहिले पेन्सिलले लेख्थे । आफ्नो तेस्रो खाका पनि उनी ओछ्यानमै बसेर घुँडामाथि टाइपराइटर राखेर लेख्थे ।

आधुनिक अमेरिकी साहित्यका एक महान् हस्ती फिलिप रोथ उभिएर काम गर्ने लेखक हुन् । अझ, सोच्ने क्रममा उनी यताउता हिँड्ने गर्थे । भनिन्छ, सोच्दै लेख्ने गर्दा उनी हरेक पेजका लागि झन्डै आधा माइल बाटो हिँडेका हुन्थे । लेखन र निजी जीवनलाई पृथक् पारेका रोथ आफू बसेको ठाउँमा कहिल्यै लेख्दैनथे, उनले घरभन्दा टाढा बनाएको आफ्नै स्टुडियोमा बसेर लेख्थे । त्यसरी बस्दा ध्यान यताउता नजाओस् भनेर उनले झ्यालतिर ढाड फर्काएका हुन्थे । यस्तै, पछिल्लो शताब्दीका एक अब्बल अंग्रेजी उपन्यासकार जेम्स ज्वायस हरेक वाक्य निकै सोचेर मात्र लेख्थे । ज्वायसलाई एकपटक उनका कुनै मित्रले एकदिनमा धेरैभन्दा धेरै कतिसम्म लेखिसक्छौ भनेर सोधेछन् । जवाफमा ज्वायसले भनेछन्, ‘तीनवटा वाक्य ।’

वर्तमान समयकी चर्चित उपन्यासकार तथा नोबेल पुरस्कार विजेता ८० वर्षीया अमेरिकी लेखिका टोनी मोरसिन गर्मी र वर्षाको मौसममा लेख्दा सजिलो हुने धारणा राख्छिन्, उनी बिहान निकै सखारै उठ्छिन्, सिसाकलम समाउँछिन् र पहेँलो कागजमा लेख्न मन पराउँछिन् । त्यस्तै अर्का नोबेल विजेता ५९ वर्षीय टर्किस लेखक ओह्रान पामुक लेख्नका लागि घरदेखि बाहिरको ठाउँ रोज्ने गर्छन् । पामुकको भनाइमा सधैँ बस्ने, सुत्ने वा पढ्ने ठाउँमा बसेर लेखनयात्रा गर्न खोज्दा उनको कल्पना शक्ति नै हराएजस्तो हुन्छ ।

नेपालकै सन्दर्भमा, जानिफकारहरू भन्छन्, महाकवि देवकोटालाई अक्सर दोलाइँ ओढेर ओछ्यानमा बसेर लेख्दै गरेको देख्न सकिन्थ्यो । मोदनाथ प्रश्रितले त घरमा सूचनै टाँसेका छन्, मेरो सबैभन्दा असल मित्र र शुभचिन्तक त्यो हो, जसले मलाई बिहान लेखपढमा बाधा पुर्‍याउँदैन । कथाकार विनय कसजू राति छिटो सुत्छन् र बिहान २/३ बजे नै उठेर लेख्छन् । अलि अघिल्लो पुस्ताका चर्चित कवि एवं कथाकार हरि अधिकारी खाटमा बस्छन्, सिरक पट्याएर टेबलजस्तो बनाउँछन् र त्यसमाथि एउटा मोटो किताब राखेर एफोर ह्वाइट पेपरमा लेख्न थाल्छन् । उनी संगीन इमरजेन्सी नपरी कहिल्यै साँझ वा रातमा लेख्दैनन् । यस्तै, कथाकार ध्रुव सापकोटा डिका भएको कागजमा मात्र लेख्न रुचाउँछन् ।

अनेक लेखक/साहित्यकार छन्, जसको कथा लेख्ने सन्दर्भ आफैँमा कुनै चाखलाग्दो कथाभन्दा कम मान्न सकिँदैन । कैयौँ लेखकको कथा लेख्ने शैली आफैँमा कहानी हो ।

अपवाद हरेक कुरामा रहन सक्छ तर विलियम सेक्सपियरलाई दुनियाँकै महानतम् लेखक (नाटककार) मानिन्छ । उनको लेखन-बानीबारे यकिन जानकारी प्राप्त छैन । तर, रोचक के छ भने २३ अप्रिलमा जन्मेर ५२ वर्ष बाँचेपछि आफू जन्मेको एभन नदी किनारको स्ट्रयाटफोर्ड नगरमा जन्मेकै दिन मर्ने सेक्सपियरका नाममा रचना गरिएका अद्वितीय नाटक र मर्मस्पर्शी कविता अरू नै कुनै व्यक्तिले लेखेका हुन् भन्ने ठूलो विवाद अझैसम्म साम्य हुन सकेको छैन । किनभने भनिन्छ, जन्मकुन्डलीका आधारमा हामीले चिनेका सेक्सपियरलाई आफ्नो नामसमेत शुद्ध लेख्न आउँदैन्थ्यो, उनले कुनै विश्वविद्यालयमा पढेका थिएनन्, उनी इङ्ग्ल्यान्डबाहिर कहिल्यै निस्केका थिएनन्, राजदरबार सम्बन्धमा उनको ज्ञान शून्य थियो । तर, सेक्सपियरका प्रायः नाटक इटालीका विभिन्न नगर-राज्यहरूको पृष्ठभूमिमा रचिएका छन् । र, मृत्युअगाडिको उनको इच्छापत्रमा समेत सामान्य बिस्तरा, खाट र गहनाहरूको मात्र उल्लेख भेटिन्छ तर त्यसमा पुस्तक, पुस्तकालय, नाटक र कविताहरूका बारेमा एकै शब्द उल्लेख गरिएको पाइँदैन । बरु के भनिन्छ भने सेक्सपियरका नामबाट लेखिएका तमाम कृति ‘डाक्टर फाउस्टस’जस्तो उत्कृष्ट नाटक लेख्ने उनकै समकालीन विद्वान् नाटककार क्रिस्टोफर मार्लोले लेखेका हुन् भन्ने मत व्यक्त गर्ने विद्वान्हरूको जमात सर्वाधिक ठूलो छ । (अन्यथा, सेक्सपियरका नामबाट लेख्ने व्यक्ति भनेर एकथरीले फ्रान्सिस बेकन भन्छन्, त अर्काथरीले डा बेन जोन्सन, अझ अर्काथरीले एडवार्ड द भेर र कतिले काउन्टेस अफ पेम्ब्रुक पनि भन्छन्) ।

इटालियन महाकवि दाँते सानै उमेरदेखि एक जना उच्च कुलकी केटीप्रति हुरुक्क हुन्थे । त्यो उनको एकोहोरो प्रेम थियो । तर, त्यो केटी दाँतेप्रति जति निस्पृह र कठोर हुँदै जान्थी, दाँते त्यत्ति नै कवि बन्दै जान्थे र प्रेमका उत्कृष्ट कविता रच्दै जान्थे । जर्मन महाकवि गेटेले पनि उच्चस्तरीय प्रेमकविताहरू लेखेका छन् । भनिन्छ, गेटेका लागि प्रेम भन्ने विषय अत्यन्तै प्यारो र अनुभवसिद्ध थियो । अंग्रेज कवि बाइरन निकै कामुक प्रकृतिका थिए, जीवन भोगाइका क्रममा उनी अनेकौँ सुन्दर युवतीको संसर्गमा आए । यी कुराको प्रत्यक्ष प्रभाव उनका रोमान्टिक कवितामा परेको मानिन्छ ।

बेलायतका क्लासिक उपन्यासकार चार्ल्स डिकेन्स मध्यराती लन्डनका सडकमा घुम्न निस्कन्थे । बाटाका फुटपाथमा बग्रेल्ती मगन्ते सुतिरहेका हुन्थे । डिकेन्स अक्सर ती मगन्तेको छेउछेउबाट हिँड्थे, उनीहरूलाई नियालेर हेर्थे, उनीहरूको सुखदुःख महसुस गर्ने गहिरो प्रयास गर्थे र पछि आफ्ना रचनामा त्यसलाई उतार्थे ।

नाटकीय अन्त्यका लागि विख्यात अमेरिकी कथाकार ओ’हेनरी अझ मापाका थिए । उनी अक्सर पब र भट्टीहरूमा पुग्ने गर्थे, त्यहाँ मस्त पियक्कडहरूको कुनै कमी हुँदैन्थ्यो । ओ’हेनरी आफूले पैसा तिरेर उनीहरूलाई मदिरा ख्वाउँथे र उनीहरूसित मित्रता गाँस्थे । अनि, उनीहरूसित नजिक भएर उनीहरूको जीवनका तमाम घटना पटकपटक सुन्ने गर्थे । यसरी आफ्ना कथाका लागि उनलाई चाहेजस्तो सामग्री प्राप्त हुन्थ्यो ।

रुसका संसारप्रसिद्ध लेखक लेव टल्स्टाय युद्ध र शान्ति वा आन्ना कारेन्निनाजस्ता उपन्यासहरूका लागि जति विख्यात छन्, किशोर वयदेखि नै उनको लेखकीय परपिक्वताको भर्‍याङ उक्लने प्रसंग उति नै चाखलाग्दो छ । नौ वर्षको उमेर नपुग्दै टुहुरा बन्न पुगेका कुलीन सामन्त वर्गका टल्स्टाय संगतले गर्दा सानै उमेरदेखि उग्र यौन भोगविलासमा फसेका थिए । भनिन्छ, उनी रातभरि सुरा र सुन्दरीको विलासी संगतमा डुबेका हुन्थे । तर, बिहान उठेपछि आइन्दा त्यस्तो कहिल्यै नगर्ने भन्दै कसम खान्थे र त्यस कसमलाई फरकफरक शैली, शब्द र भावमा दैनिक टिपोट गर्थे । अनि, झमक्क साँझ पर्दै जान थालेपछि उनको जिब्रोले सुरा र शरीरले सुन्दरी खोज्न थालिसक्थ्यो । फेरि दैनिक टिपोटको क्रम अगाडि बढ्थ्यो । यसै क्रममा एकपटक उनलाई भिरिंगी रोगले पनि गाँजेको थियो । धेरै समयपश्चात्, ३४ वर्षको उमेरमा १८ वर्षे सोन्यासित विवाह गरेर १३ वटा छोराछोरीका बाबु बनेपछि भने उनी क्रमशः लेखनतिर प्रभृत्त भए । (केही समय उनले घोडचढी सेना क्याभेलरीमा भर्ती भएर पनि बिताएका थिए ।)

यस्तो मानिन्छ, लेखनमा व्यक्तिको जिन्दगी र उसको विचारको पूर्ण वा आंशिक प्रभाव परेको हुन्छ । तर, सम्भवतः हरेक रचनामा त्यो प्रभाव नदेखिन पनि सक्छ । प्रसंगवश, भारतीय उपन्यासकार विमल मित्रले भनेको सन्दर्भ स्मरण हुन्छ । उनले भनेका (लेखेका) थिए, जसले सोच्न पनि धेरै सोच्छ र देख्न पनि धेरै देख्छ अर्थात् जीवनका प्रत्येक पक्षहरूमाथि जसको तीक्ष्ण दृष्टि रहने गर्छ र संसारको हरेक कुराले जसको चिन्तनलाई सधैँ आकृष्ट गर्छ, त्यही व्यक्ति लेखक हो । यसकारण एक मात्र लेखकलाई ‘टोटल पर्सन’ अर्थात् ‘पूर्ण व्यक्ति’ भन्न सकिन्छ । संसारका सबै प्रसिद्ध लेखक (यस अर्थमा) पूर्ण व्यक्ति हुन् ।

विमल मित्रको यो विचारसित सबै जना सहमत हुनैपर्छ भन्ने केही छैन । तर, आमरूपले लेखक वा कवि भनिनेहरूको विचार र व्यवहारबारे, उसको ‘टोटालिटी’ वा ‘मार्जिनालिटी’ अथवा ‘नर्मल-एब्नर्मल’ आनी-बानीबारे भने धेरैले धेरै कुरा गर्न र भन्न सक्छन् ।

यसैकारण त मलाई लाग्छ, लेखक त्यो अजीब जीव हो, जसले जीवनलाई विभिन्न बान्कीमा (सायद अन्य जोसुकैले भन्दा पनि फरक रंगमा) बाँचेको हुन्छ र त्यत्तिकै भोगेको पनि हुन्छ ः परेर, पढेर, सुनेर वा कल्पेर । र, यस मानेमा हरेक लेखक पूर्ण मनुष्य हो । उसले आफ्नाबारेमा कम लेख्छ तर अरूका बारेमा (अझ, समस्त मानवकै बारेमा) मात्र नभई प्राणी र अप्राणीसमेत कुनै पनि विषयमा लेख्छ र अथाह अथाह लेख्छ । लेख्दै जान्छ ।

नेपाल साप्ताहिक अंक ४६९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “लेख्नेहरूको कथा”

  1. aankha ugharidinu bhayo.
    लेख्नेहरूको कथा
    Nikai Marmik 6 sir, Mero aankha nai ugari dinu bhayo. Naya matter padne mauka dinu bhayakoma sir Lai Prempurna Dhannabad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *