Skip to content


कलमले कागजमा नलेखे पनि
कविता लेखिन्छ ।

चिद्रूप आत्माले
आकाशमा
कविता लेख्दछ ।
मन र महत्ता भन्दा पर
अप्रमेय मनका फाँटहरूमा
ईश्वर कविता लेख्दछ ।
मसला मिलाएर
हत्केलामा
ज्यावल कविता लेख्दछ ।
धानको गाँज काटेर
करौंती-
सहकाल कविता लेख्दछ ।
सतिपीपल चौतारीमा
हावा सिरसिर
प्रतीक्षाको
कविता लेख्दछ ।
मायाको आँसु
पोतेर आँखामा
गाजल कविता लेख्दछ ।
पर्खेर सुदूर इच्छाहरू
क्षितिज कविता लेख्दछ ।
धुरी छाएर-
कर्कटपाताले
नानीहरूका मनमनमा
स्कूल कविता लेख्दछ ।
कुसुम
मन्द मन्द
सुवासमा कविता लेख्दछ ।
बिसाएर साहूको भारी
छपनी छपनी पसिना
नुनमा कविता लेख्दछ ।
बजारभरि तरकारी
ठेलामा कविता लेख्दछ ।
रातोमाटाले लिप्दै
सिंदूर
पिंडीमा कविता लेख्दछ ।
बुर्जुवा शिक्षा
सेतो पाटीमा
समीकरणको तात्तातो
अर्थहिन
कविता लेख्दछ ।
गल्ली पसेर
कोठी कोठी
मदिरा मस्ती देहको
कविता लेख्दछ ।
कुण्डलेहरूको
चोर संगठन
ठेक्कापट्टामा मारामार
कविता लेख्दछ ।
निरालम्ब चित् शक्ति
अमेरिकी भिषामा
बन्धकी
कविता लेख्दछ ।
शक्ति ओम , शक्ति ओम
रगत मासुमा अनौठो
कविता लेख्दछ ।
निगाली गाँजैमा
जुरेलो
वेमिसाल शान्तिको चिरविरे
कविता लेख्दछ ।
कैयौं चराहरू
छन् -यो वनमा
तर
अन्धो कवि सधैं
मुनालको मात्र एकोहोरो
कविता लेख्दछ ।
सडकको छातिमा
ऐया ऐया
टायर कविता लेख्दछ ।
झन्डा गाडेर सीमानामा
देश कविता लेख्दछ ।

कविता जहिले र जसरी पनि
लेखिन सक्तछ ।
मेरो देशका रंगहिन कविताहरू
ईश्वरले पनि टिप्न सक्छ
चोरले पनि टिप्न सक्छ ।
त्यसैले म
कविता बोकेर
हिंडिरहेछु – ईश्वर खोज्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *