देश विकासमा साहित्यकारको भूमिका

  • by


दुई ढुङ्गाको तरुल नेपाल, नेपालको चारै तिरका सीमाक्षेत्रहरू मध्ये पूर्व, पश्चिम र दक्षिण तर्फ भारतका सीमाहरूले घेरेको छ भने उत्तर तर्फ विशाल चीनको सीमानाले घेरेको छ । नेपाल सुरक्षाको दृष्टिकोणले भन्ने हो भने चीनको सीमानामा पर्ने नेपालका उच्च हिमशिखर र अग्ला अग्ला पहाडले बार लगाएको हुँदा केही हदसम्म सुरक्षित छ कि भन्ने आंकल गर्न सकिन्छ । अन्य ३ सीमावर्ती क्षेत्र भनेको खुला र सदावहार आवत जावत गर्नसकिने एवं सुचारु रुपले र सजिलै एक देशका घुसपैठीले अर्को देशमा भित्रन सक्ने भएकोले सुरक्षित नै रहला भन्न सकिंदैन । यो देशको भौगोलिक स्थितिसँगै देशको बिग्रँदो स्थिति पनि असुरक्षितको पाटो नै मान्नु पर्दछ ।

देशको चौतर्फिलाई फितला राजनीतिज्ञ, राजनीतिक दलहरू र राजनीतिक कार्यकर्ताहरूका अनगिनत भाषण एवं अर्थहिन धाकले झनभन्दा झन नेपाल र नेपाली गरिबी, भोकमरी अनी स्वास्थ्य हिन जीवको परिकाष्ठामा पुगेको सन्दर्भ सबैको सामु छर्लङ्ग देखिएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलन देखी आएर २०४६ साल सम्मको सशक्त जनआन्दोलको प्रमुख दलका रुपमा रहेको नेपाली कांग्रेस र नेकपा एमाले लगाएतका राष्ट्रका ठूला राजनीतिक दलहरूले देश विकासको लागि जतिसुकै ठूला भाषण र अभिव्यक्तिहरू प्रकट गरे तापनि अन्तत्वगत नेपाल झन झन उँधोगतितिर भासिंदै गएको कुरा पनि भुल्न सकिदैंन । संवैधानीक प्रजातन्त्रको कल्पना हुन नपाउँदै नेपालमा द्वन्द्वरत माओवादीको झेली नसक्नु जंगली लडाईं र विरेन्द्र राजाका वंश विनासपछि राजगद्धीमा आरोहित राजा ज्ञानेन्द्रले फेरि नेपाललाई आफ्नो एकलौटी साशन पद्धतिमा समेट्न खोज्नु र अन्य राजनीतिक पार्टीहरूको आपसी खिचातानी र राजनीतिक अस्तव्यस्तताका कारण शान्तिप्रिय देश नेपाल अशान्तिको देश नेपाल भनेर विश्वसामु चिनिन पुग्यो ।

२०६३ को अर्को शसक्त जनआन्दोलन हुनुको मुख्य कारण भन्नु नै राजा ज्ञानेन्द्रले उब्जाएको अर्को क्षण पनि हो । शाहवंशलाई राजगद्धिबाट पदच्यूत गर्न शसक्त आन्दोलनमा होमिएका माओवादीको भूमिकामा सम्पूर्ण राजनीतिकदलले गरेको ११ बुँदे सम्झौताको बावजुद नेपालमा शाह वंशको समापन भयो । यस कार्यमा माओवादी पार्टीले खेलेको भूमिकालाई नेपालको ईतिहासले बिर्सनै सक्दैन । आखिर यसको फाइदा कस्लाई भयो ? नेपाल र नेपालीको जर्जरतास्थितिबाट माथि उठ्न चाहने चाहनालाई बुझ्नुको सट्टा माओवादी पार्टीले जनमतको कदरलाई भुलेर उही पुरानाशैलीको शासन अंगाल्न पुग्यो । नयाँ नेपाल बनाउने संघीयराज्यको स्थापना गर्ने घोषणा अनुरुप देशलाई जातिय प्रान्तमा खण्डन गर्ने कार्यलाई आमन्त्रित गर्यो । त्यहिनुरुप देशमा जातिय संघ, संस्थाहरूको संगठन बन्दै गयो । यो देश कहिले मद्येशको नाममा आन्दोलीत भयो भने कहिले लिम्बुवान राज्यको स्थापनाको लागि लडाइ भयो र हुदैछ । अब आएर क्षेत्री समाज, ब्रह्मण समाज, थारु समाज, विभिन्न जनजातीका संगठन, दशनामी समाज लगाएतका दर्जनौं समाजहरूको श्रीवृद्धि भैरहेको यो सन्दर्भमा नेपाल फेरि आएर पृथ्वीनारायण शाह पूर्वको खण्डित नेपाल बन्ने आसय झल्कंदै आइरहेको छ ।

आज नेपालले खप्नै नसक्ने पिंडा भोग्नु परिरहेको छ । सडक तताउने देखी लिएर सांसद अवरुद्ध पर्ने जस्ता कार्यहरू हुनुमा सरकार नै दोषी देखिन्छ । नयाँ पार्टीको उदयपछि नेपाल र नेपालीले आफ्नो गरिखान पाउनेछन् भन्ने कल्पना अब कल्पनामा नै सिमीत रहेर बसेको छ । यदी यस्तै हो भने नेपाल फेरि २२से, २४से भन्दा पनि धेरै राज्यमा खण्डित हुन कुनै समय नलाग्ला । भोलीका दिनमा गएर नेपालमा जातिय युद्धको स्थिति पैदा नहोला भन्न पनि सकिंदैन । आफू सत्तामा पुग्नको लागि जनतालाई भाइभाइबाट टुक्र्याएर व्यक्ति व्यक्ति बनाएर उभ्याइदिएको छ । त्यसैले हामी सजिलै यो आंकलन गर्न सक्छैं कि देशले के भोग्दै छ र पछि यसको परिणाम के हुन्छ ?

तसर्थ, नेपालको राष्ट्रियता, धर्म, संस्कृति, भेषभुषा, जातजाति, कला, राष्ट्रिय धरोहर, देशभक्त शहिदको चिनारी, मठ, मन्दिरको संरचनालाई यथावतै राख्नेको लागी अब यस देशका साहित्यकार, कवि, लेखक, पत्रकार, सुचना प्रविधीका क्षेत्रमा लागेका संघ, संस्था, प्राज्ञ आदिले कलम चलाउनु पर्ने आजको आवश्यकता छल्किएको छ । बरिष्ठ साहित्यकार, कवि र पत्रपत्रिका अनि सुचना प्रविधिका क्षेत्रमा लागेका संघ, संस्थाको कलमको तागतलाई फेरि नेपाल र नेपालीको लागी प्रयोग गर्नुपर्ने समय आएको छ । सबै जातजातिलाई एकै ठाउँमा मिलाएर ‘हामी नेपाली हाम्रो नेपाल’ भन्ने अनुभवलाई हरेक व्यक्तिको मन मष्तिस्कमा एउटा मोहोर लगाउनु पनि उत्तिकै आवश्यकता छ । देशको शासन चलाउने कर्मठ व्यक्तिको बखान, गुण, शिक्षाको आँकलन, देश चलाउनको लागि चाहिने परिवेषहरूको बारेमा छर्लङ्ग बनाइ प्रेसित गर्नुपर्दछ । अखण्ड राज्यको परिकल्पनालाई सोझा साझा जनताले बुझ्ने गरी सबै साहित्यकार, कवि एवं लेखकले विभिन्न जातजातिलाई तथा जनजातिको एकलौटि जातित्व विकास र उनीहरूको फरक दृष्टिकोणलाई राष्ट्रको मोह प्रति जागरुक बनाउने र हामी चर्किए देश चर्किन्छ, हामी टुक्रिए देश टुक्रिएर खण्ड खण्ड हुन्छ भन्ने आभाषा दिनको लागि आफ्ना कलम चलाउनु पर्ने आवश्यकता खड्किएको छ । देशको संरचना कस्तो हुनुपर्दछ र कसरी देशलाई विकासको तक्मा एकपछि एक गर्दै लगाउन सकिन्छ जस्ता कुराहरूको बखान गरिनुपर्दछ । साहित्यकार, लेखकले नै अबको राष्ट्रलाई जोगाउने तर्क दिन सक्दछन् र नयाँ नेपाल जनताले सोचे र खोजेको जस्तो रुप र आकारमा लैजान सक्नेछन् । हामीलाई उही नेपाल प्यारो छ उही संस्कृति प्यारो छ उही शान्त र सुन्दर नेपाल नै प्यारो छ भन्ने जनमानसको मनमा खड्किएको अवस्थामा प्रत्येक जातजातिलाई एउटै कठघरामा तानेर ल्याउन सक्ने किसिमका अभिव्यक्तिहरूले ओतप्रोत साहित्यको सिर्जना गर्नुपर्ने बेला आएको छ । आफ्नो संस्कृति, भाषा, धर्म र सहिष्णुतालाई बचाउनको लागि कुन नेपाल ठिक छ भन्ने कुराको पुष्ट्याँइ गर्दा भोग्नु पर्ने छणिक शासत्वलाई छाति थाप्न सक्ने कर्मठ तथा साहित्यभक्ति व्यक्तिका कलमले लेखेका अमृत शब्दहरूको मेल वा संगम हुने कृतिका कृतिनिधी नै अवका साहित्यकार, लेखक र कवि हुनेछन् । जसको माध्यमबाट फेरि नेपाल शान्तमय, सुन्दरमय, जनतामय, सुखमय र शान्दर्भिकमय हुनेछ र हामी सबैको जय हुनेछ ।

सुरज गिरी (हुमा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *