Skip to content

बिरोधी (लघुकथा)

  • by


उद्घोषकले श्रीमती मैयादेवीलाई मञ्चमा आएर महिला हिंसा बिरुद्ध, लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ ।

मैयादेवी मञ्चमा आउँछिन् । हात हल्लाएर अभिवादन गर्छिन् । सबै ताली पिट्छन् ।

मैयादेवी चर्को स्वरमा “हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न । क्रान्ति गर्नुपर्छ । हामीमाथि अन्याय गर्ने भनेको पुरुष हुन् । पुरुषवादी सोचका कारण हामी पछाडि परेका हौँ । यो पुरुषप्रधान समाजको प्रतिफल हो । यसको बिरोध गर्नु पर्छ । अब हामी महिलाहरू एक भएर अगाडि बढ्नु पर्छ ।”

फेरि तालीको गड्गडाहड गुञ्जिन्छ ।

“मैयादेवी जिन्दावाद” भीड नारा लाउन थाल्छ ।

मैयादेवी गमक्क पर्छिन् । नाकको फोहरा ठूला ठूला हुन्छ । अनुहार घमण्डले फुल्छ । सबैको हाई हाई हुन्छिन् ।

बेलुका घर फर्किन्छिन् ।

श्रीमान झोलामा सामान मिलाउँदै छन् ।

मैयादेवी चर्किएर सोध्छिन्, “कताको सवारी?”

“भोलि बिहानै घर जान्छु ।”

“किन?”

“आमा सिकिस्त हुनुहुन्छ । यही शहरमा ल्याएर उपचार गर्नुपर्यो ।” श्रीमान सुस्केरा हाल्छन् ।

मैयादेवी रिसले झोलाबाट श्रीमानको पर्स निकाल्छिन् ।

“लौ जानुस् त । अरु मर्या छन् र? यहाँ आफूलाई खर्च गर्ने पैसा छैन । बडो इमान्दार छोरो बन्न खोज्ने ।”

श्रीमान जिल्ल पर्छन् ।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *