मूल्य सोधेर गरिएको प्रेम
प्रेम गरेर तिरिएको मूल्य
आँखामा लालीगुराँस फूलाएर
ओठमा ढकमक्क आस्थाका रंग भरेर
परिपक्व आफनै चाहनाको गुडमा
प्रेमका अविचलित दियो बल्नु छ
मान्छेहरू …
भौतारिन्छन् प्रेममा र ठान्छन प्रेम गरे
बजार भरि बिस्कुनझैँ बेच्न राखिएका
त्यो स्वादिस्ट मिठाई हो प्रेम
जो खल्तीबाट झिकेका नोटले जिब्रो लाई प्राप्त होस्
कठैबर, रित्तिएका मनहरूको
लालसा युक्त अपूर्ण प्रेम
शिद्राझैँ सुकेर दुर्गन्ध फैलाउदै
म मेरै मझेरीमा बिस्वासको गीत खोज्दैछु
आफनै आँगनको आकाशमा झुल्केका घाम
अनुशासनको परिधि घुमेर मेरै सिरानी माथि उदाउँछ
अत्यासलाग्दा प्रेमका परिभाषा
भाषागत चक्रब्यूहको अभिमन्यु
डरलाग्दो अधुरो छटपटाहट
म मेरै बारीको डिलबाट स्वतन्त्र बताससँग
आफना भावनाका कोसेली पोको पारेर पठाउने छु
उनका मजबुत अठोटका सुसेली पछि
निर्मल अविरल नदीझैँ संघर्षका फन्को मार्दै
महासागर युक्त प्रेमको बिशालतामा
म र उनी सम्पूर्णतामा
गर्वसाथ समर्पित हुने छौ
हामी एकाकार को संगीतमा
सगरमाथाको फेदीमा हिमाल, पहाड, तराई हुँदै
युग युगसम्म प्रेमका गीत गाइरहन्छौ
