मान्छेहरूको बस्तीमा, जब मान्छेहरू
मूल्य तोक्छन् मान्छेहरूको
नमीठो पीडा भोग्न बाध्य हुन्छन्
एक हूल मान्छेहरू ।
मान्छेको मोल गर्ने व्यापारी मान्छेहरू
प्रसूतिगृहदेखि पशुपति आर्यघाटसम्म
लामबद्ध छन् मौकाको खोजीमा ।
दिनदहाडै मान्छेहरूको व्यापार गरिरहेका छन् मान्छेहरू
सम्सा“झै मान्छेहरूको व्यापार गरिरहेछन् मान्छेहरू
म मूकदर्शक, हेरिरहेछु
मान्छेमाथि मान्छेको व्यापार
मान्छेमाथि मान्छेको अत्याचार ।
कतै एउटा छानोको व्यापार
कतै एक मानोको व्यापार
कतै एक बिछ्याउनोको व्यापार ।
यो मान्छेबजारमा
खुट्टाभन्दा महगा जुत्तँ पनि छन्
जुत्ताभन्दा महगा खुट्टा पनि छन्
टोपीमा मूल्य टागिएको छ कतै
तालुमा मूल्य टासिएको छ कतै
जुगाको पनि मूल्य, लुगाको पनि मूल्य
आसुको पनि मूल्य, मासुको पनि मूल्य
यो मान्छेबजारमा
रातारात बिकिरहेछन् मान्छेहरू
हाताहात बिकिरहेछन् मान्छेहरू
मान्छे हुनुको नियति पालेर
न गर्व गर्न सकिरहेछु म
न घृणा गर्न सकिरहेछु म ।
सागभन्दा सस्ता मान्छेहरू पनि
हीराभन्दा महगा मान्छेहरू पनि
एउटै सडक हिडिरहेछन्
एउटै आकाश ओढिरहेछन् ।
मान्छेबजार बीच उभिएर
म आफ्नो मूल्य खोजिरहेछु
मेरो निष्ठाको मूल्य
मेरो इमानदारीको मूल्य
तर, मेरो निष्ठाको मोल गर्न सकिरहेका छैनन्
मेरो इमानदारीको भाउ लाउन सकिरहेका छैनन्
मान्छेको मूल्य तोक्ने
यी मान्छेका व्यापारीहरू ।
नेपाल साप्ताहिक
अंक १२२
