Skip to content


– कान्छु, सिद्धियो आलु?

– के भयो ज्याकेट, धरधरी च्यातिएछ । फेर्नलाई अर्को साथमा छैन ।

हाम्रा जीवनचर्याका उप्किरहने एकोहोरो गन्थनका पाप्रा हुन् यी । जसलाई घाउ नै भनिदिए हुन्छ । अघिको ‘गन्थन’ शब्द अलि अर्थबाहिर गयो क्यार ! यसलाई आवेग भनिदिँदा अलि वेश । अर्थात् एकोहोरो आवेगका पाप्रा ।

व्यवहारमा हाम्रा खाँचो र मागहरू टुटुल्कोजत्तिकै मर्मबोध बनेर हामीसामु पसारो लाग्न आइपुग्छन् । र, तिनलाई नसुमसुम्याई पनि धर कहाँ पाउनु ! अझ भन्दा, त्यस टुटुल्कोलाई भावीको लेखामा अभिशाप मान्ने वा वरदानको कसिलो प्याकेज? हिसाब निकाल्नुपरे क्याल्कुलेटरलाई नै मस्तिष्कघात हुँदो हो ।

– आलु कुहिएर जान्छ वा भान्छाको घानमा परेर रिित्तन्छ ।

– ज्याकेट पनि उमेर खाएर जीर्ण बन्छ वा दुर्घटनावश बेकामी बनिदिन्छ ।

… … भने, यस्तोमा उपाय के?

बजारको विरहलाग्दो बाटोमा नचाहेर पनि मनीब्यागको मुख खोतल्न हामी व्यापारिक भीडमा फसिहाल्छौँ । अन्ततः उद्घाटन बार्गेनिङ्को ।

हो, हुने गर्छ ः बजार, बार्गेनिङ् र आजीवन बिच्छी पीडा ।

मेरो छिमेकमा छे, एउटी बच्ची । सुदूरपश्चिमको अछामबाट सहर झरेका दम्पतीकी छोरी । तोतेबोली उसको अझै गइसकेको छैन । विभिन्न समयमा विभिन्न हाउभाउ र दंग्याइले मलाई कायल पार्नु उसको दैनिकी । केही न केही मिठाई र चकलेटको आश गरिरहेकी हुन्छे सधैँ । दिएन भने ‘यो अंकल त कस्तो माया नै नगर्ने, अर्को अंकलले त कस्तो माया गर्छ बाबै मलाई’ भनेर मलाई ठुँग्न थालिहाल्छे । उसको भनाइ अनुसार मैले आफूलाई राम्रो भनाउन पनि उसलाई केही न केही सौगात दिइरहनुपर्ने भयो । नदिएमा नमायालु र नराम्रोको उपाधि तयार छ । आफूप्रति त्यो बच्चीको सकारात्मक नजर झार्न मैले चकलेटको झट्टी हान्नुपर्ने कूटनीति ।

बार्गेनिङ्को सुरुवाती खुड्किलो यस्तै हुँदो हो । आजका केटाकेटी कतिविधि चलाख हुन् ! चकलेटबाटै सम्बन्धको तहलाई बार्गेनिङ्सम्म उचालिदिन्छन् । कस्तो भने, त्यो बच्चीलाई एकदिन बिस्कुट दिँदा भोलि पनि दिनू है अंकल भनेर माग अघि सारी । तत्काल टार्नका लागि ल हुन्छ भनेर आफ्नो कामतिर लागेँ । भोलिपल्ट आफू बाहिरबाट आउनासाथै फुच्ची त कोठामा हाजिर । भन्छे ः “अंकल, खै त बिस्कुट, याँ आफूलाई कस्तो भोक लागिरा’को छ ।” फुच्चीलाई उसकी आमाले मिष्ठान्न बनाएर यतिन्जेलमा दुईचोटि खुवाइसकेकी हुन्छिन््, म जान्दछु । तर, भोक लागेको कुरा दोहोर्‍याई-तेहेर्‍याई उसले कोठाभरि फन्को लगाइरही । इमोसनल ब्ल्याकमेलको उदाहरण धेरै सुनेको छु जीवनमा तर तीन-चार वर्षकी फुच्चीले यसरी बठ्याइँ गरेर फर्माइस प्रस्तुत गरेको साक्षी बल्ल बन्दै थिएँ । उसकी आमाको कुराचाहिँ फुच्चीलाई खानेकुरा दिएर नपल्काउनू रे, हाँस्दै भन्छिन्, “पिछा छाड्दिन यसले ।”

पिछा नछाड्ने कुरामा त्यस फुच्चीको अलिकति विकसित स्वरूपमा केलाउँदा मलाई खाली सिसी पुरानो कागजवालाको याद भयो । टोलमा घरको ढोका-ढोका कराउँदै आएर निकै चिनाजाना भएजसरी दाजु-दिदीको सम्बोधन जोड्नु र सकेसम्म कम दाम थमाएर कागज पोक्याउनु उसको आदत हुन्छ । चिनाजानापनलाई व्यापारिक स्तरमा भजाउँदै एउटा अवस्थामा हेलचेक्य्राइँपूर्ण तरकिाले ‘मिलिहाल्यो नि दाजु, यतिमा के किचकिच गर्नुहुन्छ’ भनेर हातभरि खुजुरा पैसा राखिदिनु उसको बार्गेनिङ् यात्राको सुरक्षित अवतरण हो ।

बार्गेनिङ्को कुरो निस्कियो कि प्रसंग आइहाल्छ बजारको, मोलतोलको गर्मी चल्ने वायुमण्डल । हामीलाई भित्रभित्रै ढ्याङ्ग्रो ठोकिरहने हाम्रै खाँचोको ओडारले बजार नामको खीर कुपुकुपु खान मागिरहन्छ । खीर त छ तर उखरमाउलो तातो । नखाईकन पनि चैन छैन र खानु पनि बेपत्ताको यातना भइदिन्छ । बजार र खीर अर्थात् जुम्ल्याहा अवतार । यो खीर कहिल्यै सेलाएर ढुक्कसाथ भरपूर स्वाद मानेर खाइयो? र त्यो खानुमा मजा छ के? म जान्दिनँ । बजारमा हाट भर्ने मान्छे भएर नबरालिने कोही हुँदैन । तर, अनुभवक्रममा अक्सर कस्तो भइदिन्छ भने, धैर्यपूर्वक आफ्ना एक-एक श्वासको हिसाब राखेर बाँच्दै समग्र स्वाद नचाखी अन्दाज र डेढअक्कलीपनले नै काम चलाउनुपर्ने । अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ पनि छ नि, ‘ज्याक अफ अल ट्रेड्स, मास्टर अफ नन’ । खीर खुवाइमा पनि सामान्यतया त्यस्तै धरमर अवस्थाका भुक्तमान धेरैजना भएका होलान् ।

बजारको पोखरीमा पुगेपछि नचाहेर पनि बार्गेनिङ्मा फस्नुपर्ने हिले माछो नभई सुख छैन । नियतिको त्यो हत्ते त कमजोर आँखामा भर्खर उक्लिएको चस्माजस्तै हुन आइपुग्छ । चस्मा नलगाई दृष्टि बन्दैन र लगाऊँ भने पनि नलगाउने बखतको बानीका कारण लगाएपछिको सकसक र भद्दापनले चस्का छुटाइरहन्छ । र पनि जिन्दगी छ भने गुजारा गर्नुपर्ने अक्करको यात्रामा स्पाइडर म्यान र वुम्यान बन्नुपर्ने भूमिका पनि छँदै छ । सर्वत्र बार्गेनिङ्को भूलभुलैया । नुन र लसुनदेखि सुनसम्ममा ओठे फतफत… । तर, बार्गेनिङ्को यस्तो नागपासो मोलमोलाइको बजारमा मात्र सीमित छ र? बार्गेनिङ्ले हाम्रा दिनचर्यामय पखेटाका हरेक फटफटाहटमा हावा ओछ्याएको छैन र?

बार्गेनिङ्

बजार र कारोबारमा,

संसद् र सरकारमा,

सडक र सवारीहरूमा,

घर र पल्लो घरको झ्यालमा,

सम्बन्ध र विच्छेदको तानाबानामा …

आदि, इत्यादि ।

सम्बन्धको बार्गेनिङ्ले त मान्छेलाई आज तासजस्तै फिटेको छ, सिक्काजस्तै भाग लगाएको छ । मान्छे आफँैंमा मान्छे कम र ढ्याकको अवतार बढी । जस्तै ः लामो अन्तरालको एउटा जम्काभेटमा दुई मित्र असमझदारीको उल्झनमा गफिन्छन् ः

“यत्तिका दिन कता फरार साथी?”

“यस्तै हो, अलिकता पारिवारिक अलमलमा ।”

“भेटघाटै छैन, सम्बन्ध पनि कस्तरी कमसल भएछ त … !”

“जीवनमा व्यस्तता नामको लगौँटी पखाल्नु अनि सुकाउनु र फेरि पखाल्नु-सुकाउनुको हत्ते साथमा छ त के हुन सक्छ?”

“त्यस व्यस्तताबाट निस्किएर मित्रताको मिठासका लागि थोरै अतिरिक्त भएर आउन सक्दैनौ?”

“सक्छु तर अहिलेलाई परििस्थतिको सुरमा बाँच्न मात्र । समयले मुसो नै ठानेर आफूलाई खेलाउन खोजेपछि के गर्नु, भाग्नैपर्ने !”

“त्यसरी भाग्ने बाटोको सानो एउटा कुनामा यस साथीको सम्झना हुन्न?”

“सम्झना अब मलाई आफ्नो मात्र हुन्छ ।”

“सम्झ त, हिजो हामी हरपल सँगै लहसिन्थ्यौँ । चिया, बदाम, समोसा र मःममा अल्झिँदै धरहरामुन्तिर सूर्यास्त पार्थ्यौं ।”

“अब त हामी आफैँ धरहरा भएर सेतै फुल्यौँ नि त साथी । ठमठम हिँड्नुपर्ने हामी धरहरा र त्यो फुर्सद कहाँ …!”

अन्ततः आत्मीय चिरबिर प्राप्तिको परीक्षामा फेल ।

साहचर्य नपाएर एक जोर आँखा सुदूरक्षितिजमा अडेसा खोज्दै धमिला बन्छन् । सम्बन्धको हाटबजारमा जोड-घटाउ र अझ गुणा-भाग गर्न नजान्नुको पिल्स्याइ यस्तै हुँदो हो । यस्ता जोर आँखा अहिले हुँदाहुँदा संसारभरि संक्रमणझैँ फैलिएर विराट आँखीझ्याल बनेका छन् । यस्तोमा कसले कसलाई हेर्ने र कसले देख्ने कसलाई? सबै अरूबाट आफू नहेरिएको, महत्त्वहीन बनेको बिलौनामा अझ आफ्ना आँखा धमिलो पार्दै झन्-झन् दृष्टिविहीन बनिरहेछन् । ब्ल्याकहोल खोज्न पृथ्वी बाहिर कुनै यान प्रक्षेपण गर्नै पर्दैन । हरेक आँखामा तुवाँलो रहँदा सामुन्नेको अर्को आँखाको बगरमा छटपटिरहेको मर्म नदेखिनु-नपढिनु स्वाभाविकै हो । तारको लट्ठाजस्तै उठेका हातका नसा नदेख्नेलाई हामी आँखाको मर्म पत्ता लगाउने कोलम्बसको जिम्मेवारी सुम्पिएर सास्ती खेप्छौँ । कुनै पनि दिन हातका ती नसा छामेर आत्मीय मातमा के कसैले जिन्दगीमा भन्यो, ‘कस्तो छ जिन्दगी?’ अहँ, वषर्ायाममा हरहर आइरहेको माटोको बास्नामा मक्खिँदै कसैले पनि प्रोफेसनल रलिेसनलाई थाती राखेर साउती मारेन ।

जहाँ बजार, जहाँ बार्गेनिङ्को दोहोरी भाका, त्यहाँ मर्मको कुरा बेकार । सर्कसघरमा सिंहलाई लगाइने कोर्रामा दुःखमनाउ गर्ने प्रदर्शक बेकार । कर्कलाको पातले आफ्नो अञ्जुलिमा कसेको जलमा घामले ऐना हेर्दा त्यसलाई राप र तापको शोषण ठानेर पिरोलिने सौन्दर्य-पूजारी बेकार । उछिनउछिन स्पर्धामा को पछि छुट्यो, को पछारयिो, को कुल्चाइमा पर्‍यो? यसको लगत राख्ने आधुनिक चित्रगुप्त को पो होला? जसले स्वर्ग र नर्क पठाउने फैसला होइन, बाँचेरै झन्-झन् स्पर्धामा कीर्तिमान राख्ने ढाडस देओस् । कारण, मानव-बजारको अस्तित्व कायम राख्न जसरी पनि स्पर्धाको होडलाई चालू राख्नु नै छ । त्यस होडमा चाहे पहिलो भएर ‘गोल्ड मेडल’ मिलोस् वा अन्त्यबाट पहिलो बनेर ‘नो मेडल’को निरन्तर कीर्तिमान हात परिरहोस् ।

कीर्तिमानको धुनमा अब त आफूले आफैँसँग पो बार्गेनिङ् गर्ने समय आएछ कि जस्तो लाग्छ । भित्रभित्रै जोडतोडका साथ मोलतोल र जुवाघरको जस्तै ज्वारभाटा । मसँग यो-यो सपना छ, यसको बाली लगायो भने फसल छ, नत्र हात रित्तो । अथवा, यस योजनालाई अब यत्तिमै थान्को नलगाए जीवन-गाडाको खैरात छैन, अर्को चाल चल । रोल नम्बर एक भएको साथी बस्ने बेन्चमै बस्, संगत सुधार्, बन्धु संगत ∕ कुलघरानकी केटी हेर्, फलानोकी छोरीसँग बिहे गरिस् भने जिन्दगी नै कायापलट । अनि छ नि, त्यो लभर नम्बर तीनलाई भनिदे प्रेम गर्न अब फुर्सद भएन, प्रेमको रोजगारी फलदायी नभएर घाटा ∕ यावत् आत्मगन्थन ।

आफ्नै सपना, योजना र बहानाको ठेलमठेलमा घाइते हुनुलाई नै उपलब्धिको पहिलो चरण मान्नुपर्ने भएको छ अब । जो आफ्ना सपना र योजनाको धर्ना खेप्दैन, त्यसले न आफूभित्र मागको झटारो नै हान्छ, न आपूर्तिको परण्िााम पाउँछ । हिसाबकिताबबिनाको खाली बहीखातालाई कसले पो मान्ने भयो ! अब जिन्दगी ! जति केरमेट, उति नै सार्थक र उपलब्धिमूलक यात्रा । यसको अर्थ त जहाँ फोहोर, त्यहाँ मोहर भन्ने वातावरणीय नारासँग पो मिल्न गयो । तर होइन, त्यस केरमेटको प्रसंगले त फाइदा असुलीका लागि सकेसम्म कालो मुख पार्नुपर्ने तीतो यथार्थ पो मथेर सतहमा ल्याइदियो । यथार्थको यो नौनी समाजले नै मोही पारेर निकालेको हो । सामाजिक अभ्यासको नतिजा ।

यी तमाम वैयक्तिक, सामाजिक, सांस्कृतिक र राजनीतिक बार्गेनिङ्को गन्तव्य के हो आखिर? केका लागि सबै? आर्थिक तृप्ति वा मानसिक शान्ति? तृप्ति र शान्ति नै यदि गन्तव्य हो भने त्यसको बहाव बार्गेनिङ्को तनाव, दबाब र प्रभाव हुँदै किन आउने रहेछ? सायद अँध्यारो सुरुङमार्गपछि खुला फाँट र लेकाली खोँचमा ढुंगा-ढुंगामा पिटिँदै बग्ने धमिलो पानी बेंसीतिर बसाइँ सर्दा कञ्चन बन्ने प्रकृतिको अद्भुत कविता नै त्यस्तै भएर होला । तर, प्रकृतिको सुकोमल कविताभन्दा बेग्लै मानवीय संवेग भने टकरावपूर्ण हुने सिकाइको यस्तो स्रोत कुन पर्‍यो?

सृष्टिकर्ताले हामीलाई जिब्रो नै किन दिए? र, दिए किन हाउभाउ र संकेतका विभिन्न केस्रा? जसले गराइरहेछ हामीलाई बार्गेनिङ्को विवाद र राखिरहेछ व्यापारिक दूरीमा? सभ्यताको चुचुरोमा यही साञ्चारिक लाठी टेक्दै हामी उक्लिएर आइपुग्यौँ होला । तर, सोच्दाखेरि, टक्कर खाने हाम्रा वचन र इसाराले हामी एकापसमा कति मात्रामा च्यातिएका हौँला ?

बार्गेनिङ्मा आँखा तरातर र बोली फेराफेर जतिसुकै भए पनि कि हाँस्नुपर्छ कि त रुनुपर्छ । परििस्थतिको चाकाचुलीमा एउटा पक्ष हाँस्ला र रोला अर्को । दुवै सँगसँगै हाँस्न सक्ने बार्गेनिङ्को तराजु-पल्ला कहीँ होला?

सन्तुलनको यस्तो अभावका बीच पनि बजार चलिरहेछ । भीड उस्तै उखरमाउलो । बजारमा बार्गेनिङ्को बोली भजाएर साँझसम्ममा आफ्नो गुँड फर्किनु छ । एउटा म छु, टोकीटोकी-चुसीचुसी लप्सी खाएपछि दाना पनि पृथ्वीजस्तै ओल्टाईपल्टाई घुमाएर चाटिरहेछु । अझै पनि खडेरी छँदैछ मुखभरि ।

बार्गेनिङ् चलिरहे पनि, कारोबारमा बजार गतिशील बनिरहे पनि हाम्रो मुख किन सुक्खा हँ ?

नेपाल साप्ताहिक ४९५

4 thoughts on “बार्गेनिङ्को संवाद/विवाद”

  1. निबन्ध भनेर प्रकाशित यो रचना
    निबन्ध भनेर प्रकाशित यो रचना के-कति कारणले हास्यव्यङ्ग्यको रुपमा यहाँ प्रकाशित गरिएको हो ? जानकारी पाउन सकिन्थ्यो कि ? कुन कोणबाट यो रचना हास्यव्यङ्ग्य हो ?
    रचनालाई तोकिएको विधाभन्दा अन्य रुपमा भाँचभुँच नगरिदिएकै वेश !

  2. धाइबाज्यू,
    ‘निबन्ध’ विधाको

    धाइबाज्यू,
    ‘निबन्ध’ विधाको कुन चाहिँ उपविधामा राख्ता होला? त्यसैमा सच्याइनेछ ।
    विधा वर्गीकरणले कहिलेकाही निकै टाउको दुखाउछ र परिणाम स्वरूप अलि अस्वभाविक पनि हुन जान्छ । यो रचना पनि त्यसको शिकार पर्न गएछ, जसको लागि क्षमाप्रर्थी छौँ ।
    KS

    1. सानो विमति मात्र है !
      हाम्रो मझेरीसँग मेरो सानो विमति मात्र हो मेरो । अन्यथा साहित्यको बाग भर्न यति दत्तचित्तले लाग्नुभएको छ, मैले प्रश्नभन्दा हातेमालो गर्नुपर्ने हो ।

      तर रचनाको पेटबोलीको मर्मभन्दा निकै फरक रुपमा विधा वर्गीकरण हुँदा असहज लागेर मात्र कुरा उठाइहालेको हुँ । मझेरीको टिममा कुमारजी मात्रै एक्लै हो ? यसो हो भने त कुमारजीसँगै सोझो सम्पर्क स्थापित गर्ने थिएँ । मझेरीको वर्गीकरणअनुसार विचारात्मक निबन्धमा राख्दा हुन्छ यस निबन्धलाई । मझेरीले अहिले राखेको वर्गीकरणको नाम पनि ‘विचरात्मक निबन्ध’ भन्ने रहेछ, त्यसलाई सच्याएर ‘विचारात्मक’ बनाउनुहोला ।
      अरु शुभ रहोस् ।

  3. धाइबाजी, बिधा सच्याइएको छ
    धाइबाजी,
    बिधा सच्याइएको छ । सम्पादनको हकमा सिधै मलाई सम्पर्क गर्नुभए हुन्छ । ढिलोचाँडो काम फत्ते गर्नेछु ।
    कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *