मेरो निकट तर अघोषित पात्र तिमी
हेर्न सक्छु छुन सक्दिन आकाश
महसुस गर्न सक्छु छाम्न अनि देख्न सक्दिन पवन
देख्छु मात्र अदृष्य पवनका स्पर्शले हल्लाएका रुखका पातहरू
कहिले कहाली लाग्दो रुप लिएर आउँछ
कहिले उकुस मुकुसमा छाडेर जान्छ
जुन शक्तिको जवाफ छैन
अचम्म कस्तो बेग
कसैलाई टेर्दैन अनि सुन्दैन, देख्दैन पनि
मात्र महसुस गराउँछ
चल्छ आँधी कति बलवान
तहस नहस पारी जान्छ
प्राणीको बास, गाँस, कपास
मेरो चाहनाले गर्भ बोकी
जन्माउन खोज्छ पर्खाल आँधी रोक्न
तर असमर्थ हुन्छु
असम्भव पनि लाग्छ
बटुल्छु साहस तर आत्मसमर्पण गर्न बाध्य हुन्छु
प्रकृति न हो दैवीप्रकोप
के लाग्दो रहेछ र मान्छु हार
स्विकार्छु पनि, अनि ठान्छु
मृगतृष्णा मात्र मृगतृष्णा ।।
