नेपाल भौगोलिक, धार्मिक विविधता र पर्यटकिय गन्तव्य स्थानको धरोहर हो । नेपालको सर्वोच्च शिखर सगरमाथा लगायत यहाँका भौगोलिक विविधता र पर्यटकिय स्थलहरुले नेपालको गरिमालाई विश्वसामु चिनाएको छ । यिनै विविध पर्यटकिय क्षेत्रहरु मध्ये काभ्रेमा अवस्थित विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुले पनि नेपालको अस्तित्व र पहिचान दिएको छ । नेपालको मेरुदण्ड बनेर पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म फैलिएको महाभारत पर्वत प्राकृतिक सम्पदा र जैविक सिवविधताको असिम भण्डार हो । महाभारत पर्वत श्रृङ्खला भौगोलिक अवस्थितिका हिसाबले पनि साह्रै मनोरम र मौलिक छ । यसै पर्वत श्रृङ्खलाको सर्वाधित उच्च शिखर ढुंखर्क गाविसमा अवस्थित बेथाञ्चोक नारायणस्थान काभ्रे लगायत महाभारत लेकका समग्र पहाडी जिल्लाहरुको प्रतिनिधि पर्यटकिय स्थान हो । उपत्यकासंग सिमान जोडिएको र काठमाण्डौ उपत्यकाबाट नजिक र न्युनतम २८० मिटर कोखाखोला आसपासको क्षेत्र र जनसंख्यको हिसाबले सबै भन्दा सानो र क्षेत्रफलको हिसाबले सबै भन्दा सानो नगरपालिका धुलिखेल र बनेपा नगरपालिका रहेको काभ्रेपलाञ्चोक जिल्लाले नेपालको १३९६ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । यसै जिल्लाको दक्षिणी भेगको ढुंखर्कमा अवस्थित नारायणस्थान ढुंखर्क बासिहरुका लागि मात्र हैन काभ्रे आसपासकै चर्चित नाम हो ।
काभ्रे जिल्लाको दक्षिणी भेगमा अवस्थित ढुंखर्क गाविसको पर्यटकिय स्थल नारायणस्थान काभ्रे जिल्लाको मात्र नभई समग्र महाभारत पर्वत श्रृङ्खला अन्तर्गतको सबै भन्दा स्थान पनि हो । समुन्द्री सतहबाट ३०१८ किलो मिटरको उचाईमा रहेको नारायणस्थान भौगोलिक तथा धार्मिक विविधताले मात्र हैन मनोरम प्रमकृतिक सौन्दर्यता र पर्यटकिय सम्भाव्यताले पनि भरिपूर्ण रहेको छ । चिसो हावापानी, हरियाली वनज∙ल, शान्त वातावरण र मनोरम प्राकृतिक दृष्यको एक मात्र संगम नारायणस्थान पुग्ने जो कोहीको मन उमङ्ग र आनन्दित हुने गर्दछ । अझ यहाँबाट बिहानीको सूर्योदय, साँझपखको सूर्यास्त र दिवाकरको चम्किलो हिम श्रृङ्खला देख्नेहरुका लागि स्वर्गको छुट्टै अनुभूति हुने गर्दछ । यतिमात्र हैन प्रकृतिका अनुपम दृष्यहरुसंग रम्नेहरुका लागि नारायणस्थानको आकर्षणले साँच्चै नै सबैलाई मोहित पर्दछ । हिँउद याममा यहाँ एक फिटसम्म हिउँ पर्ने गर्दछ । यति बेला हिँउ परिरहेकोे दृष्य र हिँउसंगै लुटुपुटु गरी एक अर्कामा हिँउ खेल्नुको मज्जा नै छुट्टै हुन्छ ।
लेकाली पर्यटकिय स्थलका रुपमा परिचति बेथाञ्चोक नारायणस्थान लाई जैविक विविधताको खानी मान्न सकिन्छ । घना वनजङ्गल, चट्टानयुक्त कडा पहाडी चुचुराहरु आकाशतिर हावाको मन्ध झोक्काहरुसंगै टुक्रिएका बादलका स–साना टुक्राहरु हरयिाली खोचहरु अनि त्यहाँबाट देखिने ढुंखर्कको सुन्दर गाँउ बस्तीहरु हेर्दा यो स्थान साँच्चै नै स्वर्गको एक टुक्रा जस्तै लाग्दछ । अथाह प्राकृतिक सम्पदाको धरोहर नारायणस्थानलाई प्रकृतिको सुन्दर उपहार मान्न सकिन्छ । बर्षा ऋतुमा धपक्क बादलको घुम्टोले धाक्ने अनि शरद ऋतुमा शिर्शिरे चिसो हावासंगै पर्ने सित र तुसारोले नारायणस्थानलाई सिङ्गारेको छ । वसन्त ऋतुमा प्रकृतिलाई नै राताम्बे पारी फूल्ने लालिगुँरास र कोइलीको कुहु–कुहु मधुर स्वरले यहाँँ आउने पर्यटकहरुको स्वागत गरिरहेको छ । यहाँका झार बुट्यान र जडिबुटीहरुले पर्यटकहरुको आगमनको प्रतिक्षा गरिरहेको छ । चारैतिर पहाडी भू–भागले ढाकेको र बिचमा यपत्यका जस्तै सुन्दर बस्ती रहेको ढुंखर्कको बजार बस्तीहरु अनि डाँडापारीको प्राकृतिक छटहाहरुले सबैको ध्यान त्यतैतिर केन्द्रत गर्दछ । क्षितिजपारीका यि मनोरम दृष्यहरु ह्ेर्नेहरुको आँखा कहिल्य थाक्दैन ।
पर्यटकिय दृष्ट्रिले काभ्रेकै मुटु मानिने नारायणस्थानबाट पश्चिमको धौवलागिरीदेखी पूर्वतर्फ विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु हिमश्रृङ्खलाको साथै दक्षिणतर्फ भारतको बिहारमा दुरविनका सहायताले रेल कुदिरहेको दृष्यहरु देख्न सकिन्छ । चारैतिर भिरालो पहाडी भू–भागको टुप्पामा करिब १ हेक्टर क्षेत्रफलको समथर जमिनमा अवस्थित मल्लकालमा बनेको सुन्दर मन्दिर रहेको यस क्षेत्रलाई हरियाली वनजङ्गल, डाँडाकाँडाका साथै तराईका रमाइलो दृष्यावलोकनका लागि यपर्युक्त थलाको रुपमा लिन सकिन्छ । यहाँबाट पहाडी भू–भाग,तराईका रमाइला र समथर दृष्यहरु र हिमश्रृङ्खलाहरु एकै नजरमा हेर्न र देख्न सकिन्छ । यसका साथसाथै ललितपूरको फुलचोकी डाँडा, काभेको धुलिखेल, पनौती, बनेपा र तिमाल क्षेत्र एकै चोटी देख्न सकिन्छ भने पूर्वतर्फ ओखलढुङ्गा, सिन्धुलीमाडी, दित्तेल बजार, धनकुटा, चैनपुर लगायतको टाढाटाढाका स्थानहरु पनि नाङ्गो आँखाले स्पष्टसंग देख्न सकिन्छ । अझ बिशेष त रातमा तराई तथा भारतको विहार राज्यहरुमा बलेका झिलिमिलि बत्तिहरु समेत देख्न सकिन्छ । तराईका सुन्दर फाँटहरुका साथै उच्च पहाडी भू–भाग र हिमश्रृङ्खलाहरु महाभारत लेकको यो रमणिय ठाँउबाट हेर्नका लागि आन्तरीक तथा बाह्य पर्यटकहरुको आवतजावत हुने गर्दछ ।
नारायणस्थानको अर्को आकर्षण हो, यहाँको मन्दिर नजिकै रहेको प्राकृतिक गुफा । यस गुफालाई प्रकृतिको अनुपम उपहार पनि मान्न सकिन्छ । धेरै गहिरो भएकाले यो गुफाको अन्तिम विन्दुसम्म आजसम्म कोही पनि पुग्न सकिरेको छैन । यस गुफाको माथिबाट सिक्का पैसा वा अन्य कुनै गरुङ्गो वस्तु खसाल्दा केही बेर पछि पानीमा पुगि छछल्किएको आवाज सुन्न सकिन्छ । बेथाञ्चोक नारायणस्थानको शिव गुफा भित्र मट्टितेल पाईन्छ भन्ने भनाई रहेता पनि हालसम्म यसको अनुसन्धान भने हुन सकिरहेको छैन ।
नेपाल सरकारले सन् २०११लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी गरिरहेको बेला काभ्रे जिल्लाको नारायणस्थनमा पनि पदयात्रा हुने भएको छ । पर्यटन बोर्ड, सरकारी तथा गैर सरकारी संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा रहेने उक्त पदयात्रा सन् २०१०को अन्तिम दिन अर्थात डिसेम्बर ३१ तरिका दिन काभ्रे ढुंखर्कको गेल्डुङ्गबाट करिब तीन घण्टाको पैदल यात्रा गरी नारायणस्थान पुग्ने कार्यक्रम रहेको छ । सो दिन महाभारत पर्वत श्रृङ्खलाको थाप्लो नारायणस्थानमा बास बसी पर्यटन बर्षको पहिलो विहानीलाई स्वागत गरिने छ ।प्रकृतिको चिसो मौसममा यस दिन आगो ताप्दै एक रात बिताईने छ । प्रकृतिको सुन्दर रमाइलो र घमाइलो मौसममा रमाउनेहरु शिशिरको चिसो सिरेठोको कुनै प्रवाह नगरी प्रकृतिसंग मितेरी साइनो गाँस्ने छन । अनि नयाँ बर्ष आगमनको पहिलो झुल्को लिएर उदाएको सूर्योदयको दृष्यावलोकन गर्दै पर्यटकहरुको गन्तब्य स्थलको रुपमा नारायणस्थानलाई घोषणा गरिनेछ । जहाँबाट सिङ्गो नेपाल देख्न सकिन्छ ।
–सन्तोष तिमल्सिाना (पत्रकार)
