Skip to content

बिजुली निभेको रात


अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पीडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरू रुकेजस्तो,

यो बिजुली निभेको रात
मलाई अचेत बनाउन
सघन हुँदै सोहोरिएका छन्
यो बस्तीका सम्पूर्ण पीडाहरू,
र म
थुप्रिएका पीडाहरूबाट फुत्किन
कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै
कहिले मलीन ताराहरूसंग गुँडुल्किँदै
आफूलाई दौडाईरहेछु
यो बस्तीको शिर-पुछार,

किन यस्तरी कान्तिहीन छ बस्ती?
कहिल्यै बैंश नआउने गरी
जन्मिँदै आत्मा सुकेजस्तो
किन यस्तरी झोक्राएको छ यो बस्ती?
अक्षता हान्दै कसैले
कालो मन्तर फुकेजस्तो
किन हरबखत सन्त्रस्त छ बस्ती?
कसैले अविराम कानमा
घोर आतंक भुकेजस्तो।

(माघ १, २०६७; राति ११:३५ बजे; पोखरा)

http://gautambasanta.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *