१)
तिमीले लाउनी चोली र सारी मन पर्छ
घोर्ले स्याल लुकी बस्ने बन घारी मन पर्छ
भन्न त नहुने हो तर भन्नै मन लाग्छ हौ सानी,
तिमीले बोकी हिँड्ने त्यो क्या…भारी मन पर्छ ।
२)
न त सारो न त गिलो भयो जीवन
बस्दा उठ्दा दुख्ने पिलो भयो जीवन
न त दाम्लो थेक्न सक्छ न त भाँचिजान्छ
यताउति हल्लिरहने किलो भयो जीवन ।
३)
साँच्चै मलाई फूल भन्दा काँडा मन पर्छ
टाढा टाढा देख्ने अग्लो डाँडा मन पर्छ
चुहेको हेर्न मज्जाले पो हो कि खै सानी!
तप्प तप्प चुहिरहने भाँडा मन पर्छ ।
४)
धर्म होस् या देउता होस् सबैको साझा हुनु पर्छ
दुख पिडा पर्दा जनलाई सबैको माझ हुनु पर्छ
तेरो मेरो देउता, धर्म, छुट्टा छुटै किन भन्ने ?
हामी जस्ताले यसो भन्न, हेर! लाज हुनु पर्छ
५)
सत्य बोले पच्दैन थुइक्क ! थुक्छ यहाँ
जस्तो सुकै होस न “वाह” भने पुग्छ यहाँ
झुट्टो कति प्यारो भाको, मै हुँ भन्नेहरूलाई
उ विरुद्ध सत्य बोले, हिँड्ने बाटो ढुक्छ यहाँ ।
राजेश रुम्बा लामा “अतृप्त”
