कहिले शहरमा डुलायौ मलाई
कहिले बगरमा भुलायौ मलाई ।
मोहनी लगायौ प्यासी बनायौ
प्रेमकै जहरमा झुलायौ मलाई ।
कसिला तनले रसिला नयनले
बोलाई अधरमा सुलायौ मलाई ।
पोटिला प्याला चोटिला गजल
सुनाई बहरमा रुलायौ मलाई ।
तापिलो रापमा ममात्र टोलाएँ
रोपाई नहरमा फुलायौ मलाई ।
(lss) फऊलुन् x४ रुक्नमा आधारित
(बहरे मुतकारिब मुसम्मन सालिम)
मिति २०६८ पौष २६ गते, कुवैत
