Skip to content

मातृभूमिको झझ्ल्को

  • by


प्रभातको शुन्यलाई चिर्दै
जब घाम मध्यान्तरमा पुग्थ्यो
टावरहरू तातो घामले डढ्दै
तातै बालुवाको लेप लगाउँदै
सडक् वरिपरि उभिएका
खजुरका बोटहरूलाई छल्दै
नागबेली आकारमा
जब एक् झोक्का तातो हावा
मेरो नाकैमा आएर ठोकिन्थ्यो
उषाको लालिमा संगै होस् अथवा गोधुलीमा
हरेक प्रहर यहाँको तातो हावामा
सदा म वालुवाका कण कण भेट्थें
अनि बिरानो गन्ध भेट्थे

तर आज …
तर आज मेरो नाकले
त्यस्को गन्ध समेत पाईरहेको छैन
बरु चिर परिचित पात पतिङ्गर्
अनि हिलाम्मे रातो, कालो र कमेरो माटोको सुवास
मेरो नाक हुदैं नशा-नशामा सल्बलाउँदैछ
बिस्तारै मेरो मन मस्तिष्कमा घोलिदैंछ
म भने आँखा चिम्लिएर
स्वागत गर्दैछु ती सुबासलाई
मन लागुन्जेल तानिरहन्छु
महशुस गरिरहन्छु
अझै चाहन्छु सारा रगतभरि घोलियोस्

कल्पनाको उडान भरेर
फेरि पनि म
उहि खजुरका बोटहरू हुदैं
उही तातो हावाको झोक्का सहित
उहि सयौं तलाको टावरलाई
एक पटक् फनक्कै घुम्छु
त्यहिबाट देख्छु,
चुलिदै गरेको रातो सूर्य
पूर्वी क्षितिजमा
मडारिदै गरेको तातो हावा
अनि देख्छु ,
मेरो सामूको कोक्रो आकृतिको
नीलाम्मे कन्चन सागर
जब सागरको पर्दालाई
हावाको तिखो प्रहारले हल्लाउँछ
त्यही आकृतिमा सूर्य चह-चह मच्चिन्छ

कल्पनाको दुनियाँबाट जब म
यथार्थको धरातलमा अवतरित हुन्छु
यति बेला मेरो निधारको रेखि छोएर
डडाल्नो हुदै झरेको पसिनाको धारा
पैताला चुम्न बेतोडले दगुर्छ

उही बाफिलो माहोल
उष्णताको उच्चतम् डिग्रीमा
तातो हावा मलाई चिमोट्दैछ्
तातो तावा माथि राखिएको
माछा झै मेरो हालत
साँच्चै दयनिय छ
वर्षौदेखि म यहि मरुभूमिको
जीवन अनुभूत गर्दैआइरहे छु

अनि यतिखेर …
सम्झिन मन् लाग्छ
मेरो गाउँ, मेरो माटो र मेरो देश
जहाँ चिसो बतासको झोक्का
ती कन्चन गिरीहरूमा ठोक्किदै
फराकिला हरिया आँचलहरूमा
छरपस्ट फिजिंदो हो
असारको सिमसिमे झरी
अनि रोपाहार बाउसेहरू
असारे भाकामा मस्त नाच्दै
चुर्लुम्म डुब्दै होलान खुसीमा
मानो रोपी मुरी फलाउने
सपना मन भरि संगाल्दै
लागिपरेका होलान् निरन्तर
फेरि सम्झिन पुग्छु …
आमाका निधारमा
तप्किदै गरेका मोतीहरू
ती चिल्ला आलीहरू
दन्तेलहर झै सजिएका
ती कान्लाहरू
अचारको पित्कोसँगै
दहीचिउरामा मुछिदैं होला
मेरो प्यारो देशको माटो
अनि त्यो प्यारो सुवाष …
मेरो गाउँ, मेरो माटो र मेरो देश
जय देश

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *