१)
हेर्न त हेर्यो जूनले, खै कस्लाई हेर्यो थाहा छैन
फिँजाएर किरण उस्ले, खै कस्लाई बेर्यो थाहा छैन
हरेक साँझ हेर्छु म, बोलाउने नि गर्छु उस्लाई
निशब्द भै टोलाउछिन, खै कस्लाई टेर्यो थाहा छैन ।
२)
मेरो निम्ति फुल्ने गुलाब, कोपिलामै झर्यो क्यारे
प्रेम दिवसमै सम्झेन खै!मेरो याद मर्यो क्यारे
भन्न त भन्ने गर्थ्यो, तडपिंदै छु तिम्रो अभाबमा
मलाइ खोज्ने त्यो मन आज, अन्तै कतै सर्यो क्यारे |
३)
हिजोको मुसो आज नि मुसो, आफुलाई भालु नठान
जे भन्दा नि हुनि गर्दा नि हुनि, अरुलाई आलु नठान
कट्टुको जुम्रा टुप्पीमा पुग्दा, औगात भुल्छ भन्थे मान्छेले
तिमी नि त्यसरी भएन हौ लाखे, आफुलाई ठालू नठान ।
४)
कस्ले भन्यो मेची-काली आफ्नो मात्रै पार्ने कुरा ?
आफु शासन चलाऊन, दाज्यु भाईलाई मार्ने कुरा ?
बुझे हुन्छ हे महाशय कुनै ढुङे युग होइन यो
नसोचे हुन्छ आफु जित्ने र अरुले यहाँ हार्ने कुरा |
राजेश रुम्बा लामा “अतृप्त”
