Skip to content

हे निलो आकाश तेरो पापमा परी उसले


हे निलो आकाश तेरो पापमा परी उसले
आफ्नो मुटुलाई लुकाउदा
म तेरो जिउँदो लासमा टुलुटुलु हेरिरहेको थिए
तेरै त्यो पापी नजरलाई गिज्याइरहेको थिए
तैले कति कठोर मुद्रामा उसको हाँसो खोस्ने कोसिस गरिस्
कसरी उसमा विकिरणका रेसा तेर्साएर उसलाई लुकाउन खोजिस्
तर पनि उसले तेरो कठोरतालाई कति मिठो शब्द संग गाँसी
तेरै कठोरताको रापमा जल्दै हेर् त ऊ मुस्कुराएर हाँसी !

हे निलो आकाश तेरो पापमा परी उसले
आफ्ना आँखालाई दुखाउदा
म तेरो लोभी तृष्णालाई लुकीलुकी हेरिरहेको थिए
तलाई मैले निहाली रहेको थिए
तैले कति कातर धारमा उसलाई रेटेर मार्न खोजिस्
कसरी उसको स्वप्नमा फोहोर फर्काएर उसलाई झुकाउन खोजिस्
तर पनि उसले तेरो फोहोरी सोचलाई कति महान विचार भनी
तेरो फोहोरको डुंगुरबाट हिड्दै हेर् त ऊ कति सफल बनी

हे निलो आकाश तेरो पापमा परी उसले
आफ्नो परेली भिजाउदा
म तेरो बेहोसीलाई थुकीथुकी लल्कार्दै थिए
तलाई मैले धिक्कार्दै थिए
तैले कति पापी जालमा उसलाई फकाएर पार्न खोजिस्
कसरी आशामा उसको निरासा पोखी झुक्याइमा पार्न खोजिस्
तर पनि उसले तेरो घातलाई सजाएर सधै रोजी
तेरै घातमा रुदै हेर् त उसले असल मित्र खोजी

सायद अब पुग्यो आकाश, बादलमा कालो बन्
उसै गरि अमिलो त्यो, नमिठो आलो बन्
उनकै पाउ समातेर मेरै सामु झुकी भन्
मेरी प्रिय प्रियेसीलाई,मनै देखि माफी भन्
मेरी उनै मायालुलाई,मुटु देखि माफी भन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *